हकप्रद सेयर निष्कासनका लागि लघुवित्त लबिइङमा, राष्ट्र बैंकले देला स्वीकृति ?

आकाश बोगटी
२०८१ चैत्र १ गते ०६:१४ | Mar 14, 2025
हकप्रद सेयर निष्कासनका लागि लघुवित्त लबिइङमा, राष्ट्र बैंकले देला स्वीकृति ?


काठमाडौं। पुँजीकोषमा चापपछि लघुवित्त वित्तीय संस्थाहरु हकप्रद सेयर निष्कासन गर्न पाउनुपर्ने लबिइङमा लागेका छन्।

Tata
GBIME
NLIC

कर्जा असुली प्रभावित भएर बढ्दो खराब कर्जाले नोक्सानी बढेसँगै पुँजीकोषमा चाप परेपछि लघुवित्तहरु हकप्रद सेयर जारी गर्न पाउने व्यवस्थाका लागि लबिइङमा लागेका हुन्। लघुवित्तका सीइओहरु राष्ट्र बैंकमा धाउन थालेका हुन्।

लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले लबिइङ गरिरहेको स्वीकार गरे। उनले पुँजीकोषका कारण कतिपय लघुवित्तहरु लगानी बढाउन सक्ने अवस्थामा नरहेकाले हकप्रद सेयर जारी गर्ने व्यवस्थाका लागि राष्ट्र बैंकलाई आग्रह गरिरहेको बताए।

‘अहिले लगानीको माग अपेक्षाजनक रुपमा बढ्न सकेको छैन। जसले गर्दा लघुवित्त संस्थाहरु असुलीमा केन्द्रित भइरहेका छन,’ यादवले भने, ‘कर्जाको माग बढ्न थाल्यो भने पुँजीकोषका कारण धेरै संस्थाले लगानी गर्न सक्दैनन्। लगानी नगरी बस्ने कुरा त हुँदैन। त्यसैले हामीले राष्ट्र बैंकसँग राइट सेयर जारी गर्न दिन माग गरिरहेका छौं।’

चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म डेढ दर्जन लघुवित्त पुँजीकोषको दबाबमा छन्। पुँजीकोष दबाबका कारण ती लघुवित्त थप लगानी गर्न सक्ने अवस्थामा छैनन्।

हाल लघुवित्त वित्तीय संस्थाहरुले पुँजीकोष ८ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ। राष्ट्र बैंकको नेतृत्वमा गरेको अध्ययन प्रतिवेदनमा अन्तर्राष्ट्रिय अभ्यास तथा वित्तीय क्षेत्र जोखिमको अवस्था हेरेर पुँजीकोष अनुपात चरणबद्ध रुपमा १५ प्रतिशत पुर्‍याउन सुझाव दिइएको छ।

लघुवित्तहरुलाई राष्ट्र बैंकले भने मर्जरमा जान दबाब दिइरहेको छ। एक लघुवित्तका सीइओले पुँजीकोष दबाबमा रहेका संस्थाहरुलाई राष्ट्र बैंकले मर्जरमा जान भनिरहेको बताए। ‘हामीले राइट सेयरको कुरा गरिरहेका छौं। राष्ट्र बैंकले भने सदा झैं मर्जर ठिक हो भनिरहेको छ,’ ती सीइओले भने।

लघुवित्तहरु भने मर्जरका लागि इच्छुक छैनन्। मर्जरमा गएकै अधिकांश संस्थाहरुमा पुँजीकोषको समस्या रहेको भन्दै उनीहरुले पुँजीकोषका लागि मर्जर विकल्प हुन नसक्ने बताइरहेका छन्।

‘मर्जरमा गएका अधिकांश संस्थाहरुमा पुँजीकोषको दबाब छ। त्यसैले राष्ट्र बैंकले दबाब दिइरहे पनि हामी मर्जरको पक्षमा छैनौं,’ ती सीइओले भने, ‘पुँजीकोष दबाब भएका संस्थाहरु जोडिंदा पनि सहज भएन। अहिलेको सहुलियतले पुँजीकोषमा राहत हुँदैन। त्यसकारण हामीले राष्ट्र बैंकलाई कि राइट सेयर जारी गर्न देउ कि मर्जरपछि केही सहुलियतको व्यवस्था गर भनिरहेका छौं।’

राष्ट्र बैंक भने लघुवित्तलाई हकप्रद सेयर जारी गर्न दिने पक्षमा छैन। पुँजीकोष चाप भएका संस्थाहरु मर्जरमा जानुको विकल्प नभएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।  

राष्ट्र बैंक कार्यकारी निर्देशक एवं लघुवित्त संस्था सुपरिवेक्षण विभागका प्रमुख विमलराज खनाल लघुवित्तलाई हकप्रद सेयर जारी गर्न दिने विषयमा बैंकमा अहिलेसम्म कुनै छलफल नभएको बताए।

‘लघुवित्तले अप्ठरो फुकाउनका लागि राइट सेयरको कुरा गरिरहेका छन्। तर, यस विषयमा हामीले अहिलेसम्म छलफल गरेकै छैनौं,’ उनले भने।