
काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाएको छ। हालका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल सकिन महिना दिनभन्दा कम समय रहेकामा मन्त्रिपरिषद्ले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठित समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य छन्। भट्टराई राष्ट्र बैंककै पूर्वक्याडर हुन्। उनी २०६१ माघ १८ गभर्नर नियुक्त भएका थिए। अर्थविद् पौडेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन्।
राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न अर्थमन्त्रीको अध्यक्षतामा पूर्वगभर्नरमध्येबाट एक जना र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट एक जना सदस्य रहने गरी मन्त्रिपरिषद्ले सिफारिस समिति गठन गर्ने कानुनी व्यवस्था छ।
हालका गभर्नर अधिकारीको कार्यकाल चैत २४ गते सकिन लागेका कारण मन्त्रिपरिषद्को फागुन २१ गते बसेको बैठकमा नै सिफारिस समिति गठनबारे छलफल भएको थियो।
तर, त्यो बैठकमा कांग्रेसका तर्फबाट प्रभावशाली मन्त्रीहरु डा. आरजु राणा र रमेश लेखक अनुपस्थित रहेका कारण समिति गठन हुन सकेको थिएन। आरजु र लेखकको अनुपस्थितिका कारण अर्थमन्त्री पौडेलले सदस्यको नाम प्रस्ताव गरेका थिएनन्।
फागुन २६ गते बसेको बैठकले सिफारिस समिति गठन गरेको स्रोतले बतायो। यो समितिले गभर्नर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्नेछ।
तीन जनामध्ये डेपुटी गभर्नरमध्येबाट एक जनाको नाम सिफारिस गर्नुपर्नेछ। अरु दुई जना भने आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्ति हुनुपर्नेछ।
समितिले सिफारिस गर्ने तीन जनामध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई पाँच वर्षका लागि राष्ट्र बैंकको नेतृत्व सुम्पिनेछ। गभर्नरका लागि डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले दौडधुप बढाएका छन्। उनीहरु दुवै जना एमाले निकट हुन्।
राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र डा. प्रकाशकुमार श्रेष्ठलाई बलियो दाबेदारका रुपमा हेरिएको छ। भट्ट कांग्रेस र श्रेष्ठ एमाले निकट हुन्। केही बैंकरहरुले पनि गभर्नर बन्ने आकांक्षाले दौडधुप गरिरहेका छन्।
यसबाहेक सात वर्षअघि मुख्यसचिवबाट अवकाश पाएका राजेन्द्रकुमार क्षत्रीले समेत आफ्नो नाममा लबिइङ गरिरहेको स्रोतहरुले बताएका छन्। उनी पनि बुढानीलकण्ठ निकट मानिन्छन्। व्यावसायिक घरानासमेत आफ्नो चाहनाको पात्रलाई ल्याउनका लागि कस्सिएर लागेको छ।
कांग्रेस र एमालेमध्ये जुन पार्टीको भागमा गभर्नर पर्छ त्यो पार्टी निकटले नियुक्ति पाउनेछन्। हालका गभर्नर अधिकारी एमाले निकट भएका कारण अबको गभर्नर आफूले पाउनुपर्ने कांग्रेसको दाबी छ।
यो पृष्ठभूमिमा राष्ट्र बैंकको १९औं गभर्नरका लागि अर्थमन्त्री पौडेल नेतृत्वको समितिले कसको नाम सिफारिस गर्छ भन्नेमा धेरैको चासो छ।