माइक्रो इन्स्योरेन्स कम्पनी सीमा बाहिर, पाँच लाखको प्रोडक्ट एकैजनालाई पाँचवटा बिक्री

सुनिल कुँवर
२०८१ फागुन २७ गते ०६:३१ | Mar 11, 2025
माइक्रो इन्स्योरेन्स कम्पनी सीमा बाहिर, पाँच लाखको प्रोडक्ट एकैजनालाई पाँचवटा बिक्री

काठमाडौं । व्यापार बढाउने नाममा माइक्रो इन्स्योरेन्स कम्पनीहरु सीमा बाहिर गएका छन्। नेपाल बीमा प्राधिकरणले तोकेको अधिकतम् दायित्वको सीमा बाहिर गएर माइक्रो इन्स्योरेन्सले पोलिसी बिक्री गरिरहेको पाइएको हो।

Tata
GBIME
NLIC

जीवन र निर्जीवन माइक्रो इन्स्योरेन्स कम्पनीले व्यवसायका लागि प्राधिकरणले तोकेभन्दा ठूलो दायित्वको बीमा गराइरहेका छन्। प्राधिकरणका कर्मचारीहरुले माइक्रो इन्स्योरेन्सको नियमनका क्रममा यस्तो पाएका हुन्।

‘जीवन र निर्जीव माइक्रो इन्स्योरेन्सले प्राधिकरणले तोकेको अधिकतम् दायित्वको सीमाभन्दा बढी जोखिम लिएर पोलिसी बिक्री गरिरहेको पाइएको छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘प्राधिकरणले सानो आकारको बीमा गर्न भनेर माइक्रो इन्स्योरेन्सको स्थापना गरेको हो। तर, उनीहरुले पुँजीको दायित्वभन्दा धेरैको जोखिम लिएर व्यापार गरिरहेका छन्। धान्न सक्नेभन्दा ठूलो दायित्व लिएपछि भोलि यसले दाबी भुक्तानीमा समस्या ल्याउँछ। यो प्राधिकरणको निर्देशन विपरीत हो।’

प्राधिकरणले माइक्रो इन्स्योरेन्सलाई निर्देशन जारी गरेर पुँजीका आधारमा जोखिमको आकार तोकेको छ। इन्स्योरेन्सले त्यसकै आधारमा जोखिम हेरेर दायित्व बहन गर्नुपर्ने व्यवस्था लघुबीमा निर्देशनले गरेको छ।

प्राधिकरणले लघु जीवन बीमकलाई ५ लाख रुपैयाँसम्मको प्रडक्टको सीमा तोकेको छ। लघु जीवन बीमा कम्पनीले ठूलो आकारको बीमा गर्न नपाउने भएपछि एउटै बीमितका लागि धेरैवटा पोलिसी जारी गरेको पनि पाइएको प्राधिकरणका कर्मचारी बताउँछन्।

निर्जीवन बीमा कम्पनीले मोटर बीमामा अधिकतम् ५० लाख रुपैयाँको दायित्व लिन सक्ने व्यवस्था छ। तर, तोकिएको दायित्व सीमाभन्दा धेरै जोखिम लिएर कम्पनीहरुले पोलिसी बिक्री गरिरहेको पाइएको प्राधिकरणका कर्मचारीको भनाइ छ।

‘सातवटै माइक्रो इन्स्योरेन्समा यस्तो समस्या देखिएको छ। जीवनले ५ लाख रुपैयाँसम्मको पोलिसी बिक्री गर्न पाउने व्यवस्था उसले एकै व्यक्तिलाई ५/५ लाखको पाँचवटा पोलिसी बिक्री गरेको पाइयो,’ प्राधिकरण स्रोतले भन्यो, ‘निर्जीवन इन्स्योरेन्समा पनि यही समस्या देखिएको छ।’

प्राधिकरणले न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायलाई बीमाको दायरामा ल्याउन २०७९ मा ४ वटा निर्जीवन र तीन वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो।

चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेका कम्पनीले पोहोरदेखि व्यवसाय सुरु गरेकामा अपेक्षितरुपमा व्यापार बढाउन सकेका छैनन्।

चालु आर्थिक वर्ष ७ महिनामा लघु जीवन बीमा कम्पनीले ६२ करोड ५२ लाख रुपैयाँको व्यापार गरेका छन्। त्यसमध्ये ३४ करोड ७५ लाख रुपैयाँ मात्रै नयाँ व्यापार हो।

माघसम्म गार्डियन माइक्रो लायफ इन्स्योरेन्सले २४ करोड ५१ लाख, क्रेष्टले २२ करोड ८४ लाख र लिबर्टी माइक्रोलाइफले १५ करोड १६ लाख रुपैयाँ बराबरको कुल व्यापार गरेका छन्।

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीको व्यापारको तुलनामा माइक्रो इन्स्योरेन्सको हिस्सा व्यापारको हिस्सा ०.६५ प्रतिशत छ।

माघसम्म ३ वटा लघुसहित १७ वटा लाइफ इन्स्योरेन्सले ९६ अर्ब रुपैयाँको व्यापार गरेका छन्।

माघसम्म ४ वटा निर्जीवन बीमा कम्पनीले ५० करोड रुपैयाँको व्यापार गरेका छन्। निर्जीवन बीमा व्यवसायमा माइक्रो इन्स्योरेन्स कम्पनीकोहिस्सा २.०२ प्रतिशत छ।

प्राधिकरणले यसअघि निर्जीवन लघुबीमालाई बिजनेस दिनकै लागि इन्स्योरेन्सको दायरा बढाउनुका साथै नयाँ प्रडक्ट थप गरेको थियो। व्यापार बढाउने गरी नीतिगत लचकता गरिंदा समेत व्यवसायमा ठूला कम्पनीको बर्चस्वले लघुबीमा कम्पनी मिस सेलिङमै उत्रिएका हुन्।

लघुबीमा निर्देशन, २०७९ ले लघुबीमा व्यवसायमा जीवनतर्फ कम्पनीहरुले आजीवन, सावधिक, म्यादी र अन्य लघुबीमा व्यवसाय गर्न पाउने व्यवस्था गरेको छ।

निर्जीवनतर्फका लघुबीमा कम्पनीले निश्‍चित दायित्व अनुसार घर, सम्पत्ति तथा व्यवसाय, मोटर, इन्जिनियरिङ, दायित्व तथा मौद्रिक क्षतिको लघुबीमा गर्न पाउने व्यावसायिक दायरा तोकिएको छ।