
काठमाडौं। नबिल बैंकले फेलोसिपका लागि आवेदन खुलाएको छ। बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुलाएको हो।
इच्छुक व्यक्तिहरुले चैत २५ गतेसम्म आवेदन दिन सक्ने बैंकले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ। बैंकले २० जनालाई छनोट गर्नेछ।
कार्यक्रममा सहभागिताका लागि १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ। व्यवसाय सुरु गरिसकेका तथा नवीन उद्यमशील सोच भएका व्यक्तिले आवेदन भर्न सक्नेछन्।
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुन्छ। जसमा १८ दिन निःशुल्क आवासीय तालिम र एक वर्ष परामर्श समावेश छ।
यो फेलोसिपमार्फत हालसम्म तीन वटा समूहका ५६ उद्यमीले तालिम लिइसकेका छन्। उनीहरुले ४५ उद्यममार्फत १ हजार १८४ जनालाई रोजगारी दिएका छन्। चौथो समूहका २० उद्यमी हाल प्रशिक्षणको चरणमा छन्।
नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल एसएसई कार्यक्रम तीन वर्षदेखि सञ्चालन गर्दै आएको छ।