
काठमाडौं। महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा खेलप्रेमीका लागि परिचित नाम भइसकेकी छन्। युरोपको एउटा व्यावसायिक क्लबबाट समेत खेल खेलिरहेकी कप्तान सुब्बाले फिल्म ‘अञ्जिला’ मा अभिनय पनि गरेकी छन्।
फुटबलप्रतिको मोह, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको संघर्षदेखि कप्तान बन्दासम्मको कथा रहेको फिल्ममा उनी आफैंले अभिनय गर्नु दुर्लभ संयोग हो। नेपालमा खेलकुदसँग जोडिएको वा खेलाडीको विषयमा कमै चलचित्र निर्माण भए पनि विश्वमा धेरै फिल्म बनेका छन्। यद्यपि आफ्नो भूमिकालाई आफैं निर्वाह गर्नु दुर्लभ मानिन्छ।
यसका लागि कप्तान सुब्बा पनि तयार भएकी थिइनन्, किनकी खेल तालिकाबाट समय मिलाउनुपर्ने र अभिनय गर्नुपर्ने थियो। सानैदेखि फुटबल मात्र बुझेकी उनलाई आफ्नो कथाले अरूलाई प्रेरणा दिन सक्छ र आफू बाहेक अन्यले भूमिका निर्वाह गर्दा खेलाडी झैँ देखिन कठिन हुन्छ भन्ने लागेपछि अभिनय गर्न तयार भइन।
‘मैले झन्डै डेढ वर्ष कुराएर खालि रहेको एक महिना समय दिएकी थिएँ। मेरो लागि अभिनय नयाँ थियो, तर मेरै कथा भएकाले यसमा अभिनय मात्र निकै कम गर्न पर्थ्यो। सोही कारण मैले फिल्म खेल्ने निर्णय लिएकी थिएँ। यसका लागि मलाई सबैले सहयोग गर्नुभयो,’ उनले भनिन्।
फिल्ममा उनको बाल्यकाल, १३ वर्षसम्मको भूमिका अन्य कलाकारले गरे। त्यसपछि देखाइएका अधिकांश दृश्यमा उनले फुटबल खेलेकी छन्। लगभग उनी पर्दामा देखिने समयको २५ प्रतिशत मात्र छ। त्यस अगाडि नै उनका धर्मपिता तथा फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सले नाटकघरमा लगेर नाटक देखाउने, अभिनेता दयाहाङ राईसहितका कलाकारसँग घुलमिल गराउन थालेपछि सुब्बाले सहज महसुस गरेकी थिइन।
फुटबल खेलाडी र त्यसमा पनि गोलरक्षक बन्नुसँगै अभिनय पनि उनका लागि संयोग भयो। फिल्मको कथा तयार गर्ने क्रममा कप्तान सुब्बाले अभिनयमा त्यति धेरै चासो नदिएको निर्माता श्रेष्ठले बताए। ‘उहाँको स्वभावले नै होला, अभिनयमा मन गर्नुभएको थिएन। तर, हामीले उहाँसँग फिल्ममा देखिने कलाकारसँग सामिप्यता बढाउनुका साथै सुटिङ पनि देखायौंँ,’ उनले भने, ‘दृश्य पूरा गर्न गरिने ‘रिटेक’ देखाएपछि, दिग्गज कलाकारले काम गर्ने शैलीसँग अवगत गराएपछि कप्तान सुब्बा आफ्नो भूमिका आफैँ निर्वाह गर्न तयार हुनुभयो।’
श्रेष्ठले खेलाडी सुब्बालाई १३ वर्षकै उमेरमा पूर्वाञ्चलको टोलीबाट राष्ट्रिय प्रतियोगिता खेल्न धनगढी पुग्दा भेटेका थिए। त्यहाँ नियमित गोलरक्षक अनुपस्थित भएपछि खेलाडी सुब्बाले अवसर पाएकी थिइन। १३ वर्षमै उनमा देखिएको कौशलताले उपस्थित सबैको मन जित्यो। तात्कालीन समयमा विभागीय टोली सशस्त्र प्रहरी बलका व्यवस्थापक रहेका निर्माता श्रेष्ठले खेलाडी सुब्बाको बारेमा बुझ्न तात्कालीन कोच नरबहादुर राईलाई जिम्मा दिए।
कोच राई विविध कारणले जागिर छाडेर विदेशिएपछि खेलाडी सुब्बासम्म पुग्ने बाटो नै रोकियो। यद्यपि त्यसको केही समयपछि विभागीय टोलीमा गोलरक्षक चाहिएपछि व्यवस्थापक श्रेष्ठले खोजी पुनः सुरू गरे। मोरङ फुटबल संघका तात्कालिक अध्यक्ष दीपेन्द्र धिमालमार्फत सम्पर्क भएपछि उनले खेलाडी सुब्बालाई काठमाडौं ल्याएका थिए।
‘मलाई धिमालजीले खेलाडी सुब्बाको खेलकुदप्रतिको रूचि, शिक्षाको अवस्था र परिवारको आर्थिक अवस्थाबारे जानकारी गराएपछि पढाउने, खेलाउनु र निरीक्षण गर्ने जिम्मा लिएर काठमाडौं ल्याएँ। त्यसपछि उहाँ आफ्नै क्षमताले अहिलेसम्मको यात्रा तय गर्नुभयो। उहाँलाई १३ वर्षदेखि नै देखेकाले संघर्ष र सफलतालाई जोडेर फिल्म बन्नुपर्छ भन्ने लागेर अञ्जिला बनाएका हौं,’ निर्माता श्रेष्ठले भने।
विभागीय टोली सशस्त्र प्रहरी बलमार्फत खेल्न सुरू गरेकी सुब्बा सन् २०१४ मा श्रीलंकामा भएको ‘एएफसी यू–१४’ क्षेत्रीय प्रतियोगिताका लागि छनोट हुनुका साथै कप्तानी गरेर नेपालमा महिला फुटबलमा पहिलो आधिकारिक उपाधि जिताउन सफल भइन। कुनै गोल नखाई पाएको उपलब्धिका कारण खेलाडी सुब्बाले सन् २०१६ को पाकिस्तानमा भएको १२ औँ सागमा श्रीलंकाविरूद्धको खेलबाट राष्ट्रिय टोलीमा गोलरक्षकको रूपमा खेल्दै आएकी छन्।
दुई वर्षदेखि राष्ट्रिय टोलीको नेतृत्व गर्न थालेकी कप्तान सुब्बाले फिल्मले आफ्नो बारेमा बुझ्न मद्दत गर्ने बताइन। ‘मेरो सफलता पछाडि संघर्षलाई फिल्मले चित्रण गरेको छ। हामी जे जस्तो भए पनि दृढ संकल्पका साथ इमान्दार भएर मेहनत गर्ने हो भने लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने प्रेरणा दिन्छ जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘साथै नेपाली खेल र खेलाडीको विषयमा फिल्म बन्न सुरू हुने मेरा लागि सुखद खबर हो। आगामी दिनमा अन्य खेलाडीको कथा हेर्न पाइनेमा विश्वत छु।’
निर्माता श्रेष्ठले यही समय उपयुक्त लागेर फिल्म बनाएको बताए। उनका अनुसार केही समय पर्खिंदा कप्तान सुब्बालाई अभिनय गराउन असहज हुन्थ्यो। सशस्त्र प्रहरी बलमा २७ वर्ष ७ महिना सेवा गर्दा डीएसपीसम्म भएका श्रेष्ठले विभागीय टोलीमा २० वर्ष काम गरे। खेलकुदसँग जोडिएको फिल्म हेर्न रूचाउने श्रेष्ठले अन्ततः आफैं बनाए।
‘खेलाडीको विषय फिल्ममा आए धेरै दर्शकसम्म पुग्छ। यसले खेलप्रति दर्शकको आकर्षण पनि बढ्छ भन्ने लागेको छ। साथै, हामीले एञ्जिलाको आफ्नै घर भन्ने अभियान पनि सुरू गरेका छौं। यस चलचित्रमार्फत आएको सम्पूर्ण मुनाफा उहाँको घर निर्माणमा प्रयोग गरिनेछ। हामीले नेपालमा सार्वजनिक प्रदर्शन अगाडि हङकङ र बेलायतमा गरेको विदेश प्रदर्शनीबाट कप्तान सुब्बाले सहयोग प्राप्त गरिसक्नुभएको छ,’ निर्माता श्रेष्ठले भने।

‘अञ्जिला’ अगाडि आँखाको ज्योति गुमाएकी भएकी सृष्टि केसीको जीवनी आधारित ‘ब्लाइन्ड रक्स’ र उमेश थापा र कविता गुरूङको जीवनीमा आधारित ‘बबी’ निर्देशन गरिसकेका निर्देशक मिलन चाम्सले तेस्रो पटक ‘बायोपिक’ फिल्म तयार पारेका हुन्। उनले फिल्ममा ९० प्रतिशत कप्तान सुब्बाको जीवनी देखाइएको बताए।
‘फिल्म भएकाले हामीले त्यही शैलीमा निर्माण गर्न केही दृश्यलाई फरक तरिकाले छायांकन गरेका छौं, तर त्यसले मूल कथालाई प्रभाव पारेको छैन। यसमा खेल मात्र नभइ कप्तान सुब्बाको जीवनी देखाएइको छ,’ उनले भने, ‘उहाँको बाल्यकालदेखि कप्तान बन्दासम्मको यात्रा फिल्ममा छ,’ निर्देशक चाम्सले भने।
फिल्ममा सुब्बासँगै अभिनेता दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरूङ, वुद्धि तामाङ लगायतको अभिनय छ। महिला खेलाडीको विषयमा चलचित्र बन्नु र त्यसमा आफू अभिनेताको रूपमा जोडिन पाउनु आफ्ना लागि अवसर रहेको अभिनेता राईले बताए। ‘म हरेक खेलकुद हेर्छु, आफूले सक्दो प्रवर्द्धन पनि गरिरहेको हुन्छु। महिला फुटबलले पाइरहेको सफलता र भविष्य निकै राम्रो छ,’ उनले भने, ‘यस्तै बेलामा कप्तानको जीवनीमा चलचित्र बन्नु खेलप्रेमीका हिसाबले खुसीको खबर थियो। त्योसँगै अभिनय नै गर्न प्रस्ताव आएपछि पटकथा नसुन्दै अभिनय गर्ने सहमति दिएको थिएँ। किनकि यो अवसर एउटा अभिनेता र खेलप्रेमीका हिसाबले गुमाउनु हुन्थेन।’
कप्तान सुब्बाको आउँदो समयमा खेलाडीको विषयमा फिल्म बन्नका लागि ‘एञ्जिला’ को सफलताले ठूलो प्रभाव पार्ने बुझाइ छ। उनले अन्य निर्माता, निर्देशकलाई खेलको विषयमा आकर्षित गर्न पनि व्यावसायिक रूपमा चलचित्रको सफलता अनिवार्य रहेको बताइन।
‘खेलकुदको विषयमा फिल्म बन्नु आफैंमा नयाँ काम हो। अहिले खेलले पाइरहेको माया देख्दा आगामी दिनमा अन्य खेलाडी वा खेलकुदको विषयमा फिल्म बन्छ जस्तो लागेको छ। तर, धेरैले व्यावसायिक नतिजा कसको आउला भनेर कुर्नुभएको छ, म पनि त्यसकै पर्खाइमा छु,’ सुब्बाले भनिन्। फिल्म ‘अञ्जिला’ होलीको अवसर पारेर फागुन २९ देखि प्रदर्शन सुरु हुने निर्माण पक्षले जनाएको छ।
-भेषराज कार्की/रासस