मन्थली-लुक्ला उडान चैत दोस्रो साताबाट गर्ने तयारी, २० प्रतिशतले घट्यो टिकट बुकिङ

बिजमाण्डू
२०८१ फागुन २६ गते १३:५८ | Mar 10, 2025
मन्थली-लुक्ला उडान चैत दोस्रो साताबाट गर्ने तयारी, २० प्रतिशतले घट्यो टिकट बुकिङ


काठमाडौं। वायु सेवा कम्पनीहरुले मन्थली-लुक्ला नियमित व्यावसायिक उडान चैत दोस्रो साताबाट गर्ने तयारी थालेका छन्। उनीहरुले चैत दोस्रो साताबाट उडान गर्ने तयारीसहित धमाधम टिकट बुकिङ लिइरहेका छन्।

Tata
GBIME
NLIC

तर, टिकट बुकिङबाट वायुसेवा संचालकहरु खुशी छैनन्। उनीहरुका अनुसार पोहोरको तुलनामा टिकट बुकिङ यसपालि २० देखि २५ प्रतिशतसम्म घटेको छ।

समिट एयरका प्रबन्ध निर्देशक रहेका वायुसेवा संचालक संघका अध्यक्ष मनोज कार्कीले टिकटको माग उत्साहप्रद नरहेको बताए।

‘अहिलेसम्मको अवस्था हेर्ने हो भने बुकिङ पोहोरभन्दा २० देखि २५ प्रतिशत कम देखिन्छ,’ अध्यक्ष कार्कीले भने, ‘अन्तिम घडीमा आएर बुकिङमा केही सुधार हुन्छ कि भन्ने आशामा छौं।’

असोजको बाढीले बिपी राजमार्गको यात्रा कष्टकर र लामो भएका कारण मन्थली-लुक्ला उडानको बुकिङ घटेको वायुसेवा कम्पनीहरुको भनाइ छ। मन्थली पुग्न अहिले ८ घण्टासम्म लाग्ने गरेको छ।

खुम्बु क्षेत्रमा जाने पर्यटकले मन्थली पुगेर लुक्लाको उडान गर्नुपर्छ। तारा, समिट र सीता एयरले मन्थली-लुक्ला उडान गर्ने गरेका छन्।

समिटले लेट ४१० सिरिजका ४ जहाजमध्ये २ वटा मन्थली बेस राखेर चैत दोस्रो साताबाट लुक्लामा उडान गर्दैछ।

यो वर्ष मन्थली-लुक्ला उडानका लागि विगतमा जस्तो बुकिङ नआएको तारा एयरका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता  सुदर्शन बर्तौलाले जानकारी दिए।

‘यो पटक पहिलाजस्तो धमाधम बुकिङ आएको छैन। छोटो समय लिएर आएका पर्यटकबाट बुकिङ नै कम आएको छ। कतिपय ट्राभल एजेन्सीले काठमाडौंबाटै उडान राख्न सुझाव दिएका छन्,’ उनले भने, ‘तर यो सम्भावना न्यून छ। काठमाडौंबाट उडान गर्दा ट्राफिक कन्जेसनका कारण एउटा  जहाजले ३ पटक  मात्र उडान गर्न पाइन्छ।’

ताराले दुईवटा जहाज मन्थली बेस राखेर लुक्लामा उडान गर्ने तयारी गरिरहेको छ।

मन्थली-लुक्ला रुटमा पोहोर डेढ महिनामा करिब २२ हजार पर्यटकले सेवा लिएकामा बुकिङका आधारमा यो वर्ष १५ हजारमा सीमित हुने वायुसेवा कम्पनीहरुको प्रक्षेपण छ।