
काठमाडौं। बुद्ध एयरको जहाज उडानका क्रममा खसेको पाङ्ग्रा अनुसन्धानका लागि उत्पादक कम्पनी एटीआरमा पठाइने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक अनुसन्धानमा बुद्ध एयरको कुनै कैफियत नदेखिएपछि उत्पादककै खराबी भए/नभएको बुझ्न पाङ्ग्रा पठाउन लागेको हो।
‘जहाज र भाँचिएको पाङ्ग्रा नागरिक उड्डयन प्राधिकरणसँगै छ। कम्पनीका तर्फबाट कुनै समस्या हामीले पाएनौं,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बिजमाण्डूसँग भने, ‘अब एटीआरसँग समन्वय गरेर पाङ्ग्रा पठाउने तयारी गरेका छौं।’
प्राधिकरणले एटीआरलाई पत्र लेखेर पाङ्ग्रा पठाउन लागेको जानकारी दिइसकेको छ।
प्रारम्भिक अनुसन्धानले बुद्धले नियमित चेकजाँच गरेको पाइएको उनले बताए। बिहीबार पाङ्ग्रा खसेको घट्ना एटीआरको इतिहासमा तेस्रो हो।
६ महिना अगाडि नाइजेरियामा एटीआरको जहाजको पाङ्ग्रा खसेको थियो। नाइजेरियाको ग्रिन अफ्रिका एयरवेजको एटीआर ७२ सिरिजको जहाज टेकअफ गर्ने क्रममा पाङ्ग्रा खसेको थियो।
ल्याण्डिङ गियरमा प्राविधिक समस्या, जहाजको ढोका खस्ने, ढोका नखुल्ने लगायत समस्या बेला बेला देखिएपनि पाङ्ग्रा भाँचिएर खसेको घटना भने नेपालमा पहिलो भएको भूलले बताए। उनले त्यही भएर अनुसन्धानका लागि एटीआरको मुख्यालय फ्रान्समा पठाउन लागेको जानकारी दिए।
बिहीबार जनकपुर-काठमाडौं उडानका क्रममा बुद्ध एयरको अगाडिको एउटा पाङ्ग्रा खसेको थियो। पाङ्ग्रा जनकपुरमा खसेपनि जहाज काठमाडौंमा सुरक्षित अवतरण भएको थियो।
जहाजको अगाडि पट्टि दुईवटा पाङ्ग्रा हुन्छन्। जहाज अवतरण गरेर यात्रु झरिसकेपछि मात्रै पाइलटले एउटा मात्रै पाङ्ग्रा देखेका थिए।
स्रोतका अनुसार पाइलट ककपिटबाट बाहिर निस्किएर हेर्दा एउटा मात्रै पाङ्ग्रा देखेपछि प्राधिकरणलाई जानकारी गराएका थिए।
एउटा पाङ्ग्रा नहुँदा सहज अवतरण कसरी ?
भूलले अगाडिभन्दा पछाडिको भागमा बढी दबाब हुने भएकाले सहज अवतरण सम्भव भएको बताए।
‘जहाज अवतरण क्रममा अगाडि भन्दा पछाडिको भागमा बढी प्रेसर हुने भएका कारण सहज अवतरण सम्भव भएको हो। यो अत्यन्तै सुखद विषय हो,’ उनले भने, ‘यदि यो समयमा पाइलटलाई इन्डिकेसन आएको भए थप आकस्मिक रक्षा व्यवस्था गरिन्थ्यो।’
बिहीबार अपराह्न ४:३९ बजे जनकपुरबाट काठमाडौं उडानका क्रममा देब्रेपट्टिको पाङ्ग्रा उतै खसेकामा जहाज ५:०६ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भएको थियो।
पाइलटलाई काम गर्न तत्कालका लागि रोकियो
जहाज उडानमा रहेका पाइलट र इन्जिनियरलाई तत्कालका लागि ड्युटीमा नराखिएको उनले जानकारी दिए।
यो विषयमा एटीआरले पनि प्रारम्भिक रुपमा अनुसन्धान गरेको भूलले बताए। उनका अनुसार जहाज मर्मत सम्भारपछि मात्रै जहाजलाई उडान भर्न दिइनेछ। उनका अनुसार मर्मतपछि प्राधिकरणले निरीक्षण गरेर उडान अनुमति दिनेछ।