देशमा लगानीका प्रशस्त सम्भावना रहेको महासंघ अध्यक्ष ढकालको भनाइ, ‘तर वातावरण चाहिन्छ’

बिजमाण्डू
२०८१ फागुन २० गते १३:१० | Mar 4, 2025
देशमा लगानीका प्रशस्त सम्भावना रहेको महासंघ अध्यक्ष ढकालको भनाइ, ‘तर वातावरण चाहिन्छ’


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसाय गर्न लगानीमैत्री वातावरण आवश्यक भएको बताएका छन्।

Tata
GBIME
NLIC

उनले महासंघअर्न्तगतका विभिन्न वस्तुगत संघमा नवनिर्वाचित पदाधिकारीको स्वागतका क्रममा देशमा लगानीका प्रशस्त सम्भावना रहेको तर सरकारले आवश्यक वातावरण बनाउनुपर्ने बताए।

लगानीका सम्भावनालाई अवसरमा बदल्न सोही अनुरुपको वातावरण आवश्यक पर्ने उनको भनाइ छ। ‘हामीकहाँ हरेक विषयलाई नकारात्मक दृष्टिकोणबाट हेर्ने अभ्यास छ। सकारात्मक दृष्टिकोणबाट हेर्दा स्वदेशमा पनि थुप्रै सम्भावना छन्। ती सम्भावनाहरुबाटै हामीले स्वदेशमा रोजगार सिर्जना गर्न सक्छौं,’ उनले भने, ‘तर लगानीको वातावरण भने चाहिन्छ। यसका लागि नीतिगत सुधार गर्न महासंघले निरन्तर पैरवी गर्दै आएको छ।’

अध्यक्ष ढकालले सानो–सानो लगानीबाट पनि स्वदेशमा पुँजी निर्माण गर्न र त्यो पुँजी परिचालनबाट पूर्वाधार विकास गर्न सकिन्छ भनेर महासंघको नेतृत्वमा १० अर्ब पुँजीको कम्पनी स्थापना गरि काम अगाडि बढाएको जानकारी दिए।

महासंघका वस्तुगत परिषद्तर्फका उपाध्यक्ष हेमराज ढकालले वस्तुगत संघ क्षेत्रगत समस्या सम्बोधन गर्न महासंघले निरन्तर पहल गरिरहेको बताए।

यस्तै अर्का उपाध्यक्ष सुरकृष्ण वैद्यले अर्थतन्त्र चलायमान बनाउन महासंघले सक्रिय भूमिका निर्वाह गरेको धारणा राखे। महासंघकी एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले निर्यात प्रवर्धनका लागि वस्तुगत संघहरु थप सक्रिय हुनुपर्ने बताइन्।

कार्यक्रममा महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा तयार गरेको वस्तुगत संघहरुका लागि कार्य सञ्चालन विधि र कार्यस्थलमा आधारित तालिम सञ्चालन निर्देशिका सार्वजनिक गरिएको थियो।