बीमा प्राधिकरणका अध्यक्ष ओझाले गरे पूर्वअध्यक्षहरुसँग छलफल, पाए यस्ता सुझाव

बिजमाण्डू
२०८१ फागुन १९ गते १७:३७ | Mar 3, 2025
बीमा प्राधिकरणका अध्यक्ष ओझाले गरे पूर्वअध्यक्षहरुसँग छलफल, पाए यस्ता सुझाव

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रका समस्या समाधानका विषयमा प्राधिकरणका पूर्वअध्यक्षहरुसँग छलफल गरेका छन्।

Tata
GBIME

उनले सोमबार प्राधिकरणका पूर्वअध्यक्षहरू माधवप्रसाद उपाध्याय, देवेन्द्रप्रताप शाह र प्राडा फत्तबहादुर केसीलाई बोलाएर सुझाव लिएका हुन्।

पूर्वअध्यक्षहरूले प्राधिकरणको नियामकीय भूमिकामा नझुक्न ओझालाई आग्रह गरे।

‘बीमा ऐन र नियमले प्राधिकरणको नेतृत्वलाई बलियो बनाएको छ। प्राधिकरणको प्रतिष्ठालाई उच्च बनाउने आफ्नो मूल दायित्व ठानेर निडर भई इमान्दारीसाथ अगाडि बढ्नुहोला,’ पूर्वअध्यक्षहरुले भने, ‘प्राधिकरणको नियामकीय भूमिकालाई राम्रोसँग बुझेर अगाडि बढ्न तथा राजनीतिक हस्तक्षेप स्वीकार नगर्न अनुरोध छ।’

उनीहरुले बीमा कम्पनीहरूलाई नचाहिने काम गर्न नदिन र नहुने कामलाई सिधै ‘हुन्न’भन्ने हिम्मत गर्न पनि सुझाव दिएको प्राधिकरणले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

पूर्वअध्यक्षहरुले बीमा क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धा र विकृतिहरूलाई नियन्त्रण गर्न तथा बीमा व्यवसायका लागि उपयुक्त वातावरण बनाउन सुझाव दिए।

छलफलमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी, निर्देशक कमलप्रसाद रेग्मी र उपनिर्देशकहरू पनि सहभागी थिए।