हिमालय एयरलाइन्सले पोखरामा चैत १८ देखि अन्तर्राष्ट्रिय उडान गर्ने, सातामा एउटा

बिजमाण्डू
२०८१ फागुन १९ गते १७:२१ | Mar 3, 2025
हिमालय एयरलाइन्सले पोखरामा चैत १८ देखि अन्तर्राष्ट्रिय उडान गर्ने, सातामा एउटा


काठमाडौं। सञ्चालनमा आएको २७ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक उडान हुने भएको छ। पोखरामा हिमालय एयरलाइन्सले नियमित व्यावसायिक उडान गर्ने भएको हो।

Tata
GBIME
NLIC

हिमालय एयरलाइन्सले यही मार्च ३१ अर्थात चैत १८ गतेदेखि चीनको ल्हासा पोखरामा उडान गर्ने भएको छ। एयरलाइन्सले पहिलो चरणमा सुरुमा सातामा एउटा उडान गर्ने तयारी गरेको बताएको छ।

‘हामीले काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सेक्टर जोड्न तथा मागका आधारमा आगामी दिनमा उडान थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्दैछौं। मार्च ३१ मा सुरु हुने नयाँ रुटको उडानमार्फत हिमालय एयरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको छ,’ कम्पनीले सोमबार प्रेस विज्ञप्तिमार्फत भनेको छ,’ नयाँ रुटमा उडान हाम्रा लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा हुनेछ।’

अहिलेसम्मको योजना अनुसार हिमालय एयरलाइन्सले चैत १८ गते बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं–ल्हासा उडान गर्नेछ। चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा जहाज पुग्नेछ।

त्यहीदिन १:१५ बजे हिमालय एयरलाइन्सको जहाजले ल्हासा–पोखरा उडान गर्नेछ।

यसैगरी, चैत १९ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८ः२० बजे पोखरा–ल्हासा उडान गर्ने एयरलाइन्सले जनाएको छ। त्यो जहाज त्यही दिन ल्हासाबाट काठमाडौं आउनेछ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ रुटमा उडान गर्न लागेको विषयलाई लिएर कम्पनी उत्साहित रहेको बताए।

‘हाम्रो मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो। यसका लागि हामीले चीनमा नयाँ नयाँ गन्तव्य खोज्दै आएका छौं,’ श्रेष्ठले भने।

काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं उडानले दुई देशका नागरिक–नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने तथा पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने एयरलाइन्सको विश्वास छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुसमा संचालनमा आएकामा अहिलेसम्म नियमित व्यावसायिक उडान हुन सकेको छैन।