
काठमाडौ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्मकै धेरै यात्रुले हवाई सेवा लिएका छन्।
गत नोभेम्बरबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको यो विमानसथलमा फेब्रुअरीमा ६ हजार ७७९ यात्रुले सेवा लिएको विमानस्थलका सूचना अधिकारी विनोद रावतले जानकारी दिए।
‘विस्तारै यात्रु अकुपेन्सी वृद्धि हुँदै गएको छ। बीचमा केही समय मौसमी प्रतिकूलताले उडान प्रभावित भएकामा अहिले त्यस्तो छैन। अनलाइनमार्फत टिकट बुकिङले यात्रुलाई सहज बनाएको छ,’ उनले भने।
फेब्रुअरीमा कुल ११५ उडान अवतरण भएको छ। फ्लाइ दुबईले २४०३, जजिरा एयरवेजले ३ हजार २६५ र थाइ एयर एसियाले १ हजार ९७ यात्रुलाई सेवा दिएका हुन्।
विमानस्थलमा यो एक महिनामा १३ वटा चार्टर्ड उडान भएको छ। जसमा २११ विदेशी यात्रुले सेवा लिएका छन्।
भैरहवामा थाइ एयर एसियाले साताको दुई वटा तथा जजिराले साताको ३ वटा उडान गर्दै आएका छन्। फ्लाइ दुबईले भने दुबई-भैरहवा-काठमाडौं-दुबई हप अन हप उडान गर्दै आएको छ।
यो विमानस्थलबाट गत नोभेम्बरमा ४,२७९, डिसेम्बरमा ३,८७८ र जनवरीमा १,३६५ यात्रुले सेवा लिएका थिए।