नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा पाए सफाइ

बिजमाण्डू
२०८१ फागुन १८ गते १७:१३ | Mar 2, 2025
नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा पाए सफाइ

काठमाडौं। नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकता किर्ते गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ पाएका छन्। विषेश अदालतले सिलवाललाई आइतबार सफाइ दिने फैसला सुनाएको हो।

Tata
GBIME

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध नागरिकतामा केरमेट गरेर जन्ममिति तीन वर्ष घटाइ लाभ लिएको भन्दै मंसिर २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवाललाई सफाइ दिएको हो।

सिलवालविरुद्ध पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको आरोप लगाइएको थियो।

२०१५ साउन १५ गते जन्म मिति भएका सिलवालले दुई पटक जन्ममिति सच्याएको अख्तियारको दाबी थियो।

उनको जन्ममिति त्रिभुवन विश्वविद्यालयबाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्ट र सरकारी सेवामा रहँदाको सिटरोलमा २०१५ साउन १५, कूटनीतिक राहदानी प्राप्त गर्दा २०१८ कात्तिक २४ र प्राधिकरणको अध्यक्षमा नियुक्ति पाउन पेस गरेको नागरिकतामा २०१६ कात्तिक २२ गते उल्लेख रहेको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको थियो।

उनी २०७७ माघ २० गते प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए।

त्यसअघि उनले ३० वर्ष निजामती सेवामा बिताएका थिए। २०४३ साउन १ मा शाखा अधिकृतका रुपमा निजामती सेवामा प्रवेश गरेका सिलवालले २०७३ साउन १५ मा अवकाश पाएका थिए। उनले गृह सचिवको रुपमा समेत काम गरेका थिए।