
काठमाडौं। नेपाल टेलिकम र एनसेलबीच व्यापारिक प्रतिस्पर्धा फेरिएको छैन। दुवै कम्पनीले ग्राहक तान्ने योजना ल्याइरहेका छन्। तर, नीतिगत विषयमा भने सरकारी कम्पनी र निजी कम्पनी एक ठाउँमा उभिएका छन्।
केही समय अघिसम्म आफ्नो पक्षमा नीतिगत निर्णय पार्न उछलकुद गर्ने नेपाल टेलिकम र एनसेलबीच अनौठो दोस्ती बढेको छ।
दुवै कम्पनी अस्तित्व संकटमा आउने भएपछि व्यापारिक प्रतिस्पर्धालाई बिर्सिएर एक ठाउँमा उभिन बाध्य भएका हुन्।
विगत ५ वर्षको वित्तीय विवरण हेर्दा नेपाल टेलिकम र एनसेलको आम्दानी निरन्तर ओरालो लाग्दै गएको छ। प्रति ग्राहक औसत आम्दानी (एपीआरयू)समेत घट्दै गएको छ। आम्दानी निरन्तर ओरालो लाग्दै जाँदा लाइसेन्स नवीकरणदेखि अन्य नीतिगत मुद्दाले दुवै अपरेटरलाई सकस परिरहेको छ।
टेलिकम र एनसेलबीच अर्को समान विषय भनेको २१०० मेगाहर्ज फ्रिक्वेन्सीको विवाद पनि हो। एनसेलले नियामकनेपाल दूरसञ्चार प्राधिकरणविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ।
ठिक यही विवादमा टेलिकमलेसमेत पहिलोपटक प्राधिकरणलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। मंसिरमा उच्च अदालत पाटनले २०७८ जेठ १६ अघिको फ्रिक्वेन्सी दस्तुरमा अतिरिक्त शुल्क र जरिवाना असुल नगर्न आदेश दिइसकेको छ।
आफूहरु अन्यायमा पर्ने भन्दै टेलिकमका उच्च अधिकारीहरुले तत्कालीन नेतृत्वलाई अदालत जान कन्भिन्स गराएका थिए। उही प्रकृतिको विवादमा सरकारविरुद्ध मुद्दा दायर गरेपछि एनसेल टेलिकमप्रति भावनात्मकरुपमा नजिकिन पुगेको विश्लेषण हुने गरेको छ।
टेलिकमका प्रबन्धक इन्जिनियर शालिकराम सुवेदी नियामकीय मुद्दाका कारण अप्ठेरो परिस्थिति बनेकाले दूरसञ्चार उद्योगका खेलाडीहरु मिलेर अघि बढ्न खोजेको बताउँछन्। टेलिकम अपरेटरहरुले लाइसेन्स नवीकरणमा बुझाउनुपर्ने २० अर्बको महँगो भारी, रोयल्टीलगायत विषयमा सरकारी वा निजी जुन भएपनि व्यथा एउटै भएकाले एक स्वर हुन पुगेको सुवेदीको भनाइ छ।
‘नियामकीय प्रावधानमा टेलिकम होस् वा एनसेल दुवैको व्यथा एकै परेकाले स्वर एउटै भएको हो, हुनु पनि पर्छ। नीतिगत विषयहरुमा संयुक्तरुपमा कुरा राख्ने, नियामकदेखि राज्यलाई घच्घच्याउने काम भएको छ। व्यापार घट्दै गएपनि पूर्वाधारमा अत्यधिक लगानी खर्चिनुपरिरहेको छ। लाइसेन्स नवीकरणदेखि रोयल्टी पनि उच्च छ,’ सुवेदीले बिजमाण्डूसँग भने, ‘यी मुद्दाहरुमा दुवै कम्पनीको समान धारणा देखिन्छ। अहिले अरु अपरेटर भएको भए पनि यी विषयमा धारणा समान हुन्थ्यो।’
एनसेलका एक उच्च अधिकारीले टेलिकम-एनसेल एकअर्काका प्रतिस्पर्धी भएपनि इन्टरनेट सेवा प्रदायकहरुलाई सहज वातावरण बनाइदिएको सरकारले व्यापार ओरालो लाग्दै जाँदासमेत आफूहरुलाई वास्ता नगरेपछि टेलिकमसँग नजिकिएको बताए।
‘प्रतिस्पर्धी नभएको होइन। तर एकअर्काप्रति सहानुभूति राखेन भने सरकारले एकोहोरो पेलिरहने आभाष दुवै अपरेटरलाई भएको छ। राजस्वमा ठूलो योगदान टेलिकम कम्पनीहरुले गर्ने तर, त्यसको फाइदा चाहिँ इन्टरनेट सेवा प्रदायक (फिक्स्ड)ले उठाउने भएपछि नीतिगत लबिइङमा एकै ठाउँमा हुनुपर्छ भन्ने धारणा देखिएको हो। यी कारणहरुले हामी सँगै उभिएका छौं,’ ती अधिकारीले भने।
टेलिकम र एनसेलले एकअर्कालाई समयसापेक्ष नदेखिएका लाइसेन्सको नवीकरण शुल्कदेखि फ्रिक्वेन्सी विवादलाई सच्याउन एकजुट नहुने हो भने त्यसको फाइदा अरुले नै उठाउन सक्ने आँकलन गरेर भावनात्मकरुपमा सँगै देखिएको एनसेलका ती अधिकारीले स्पष्ट पारे।
‘नियामकले पेलेको पेल्यै छ। नियामकको अगाडि दुवै अपरेटर एक नभइ नहुने देखियो। मलाई त नियामकले नै हामी दुईजनालाई नजिक ल्याइदिने भूमिका खेल्यो भन्ने लाग्छ। नियामकले समान व्यवहार गरिदिएको भए यस्तो अवस्था आउने थिएन,’ एनसेलका ती अधिकारीले भने।
तर, व्यापारको सवालमा टेलिकम र एनसेलले कुनै सौदाबाजी नगर्ने दुवै कम्पनीका अधिकारी बताउँछन्। व्यापारको सवालमा टेलिकम एनसेलसँग सधैं प्रतिस्पर्धी नै हुने भन्दै सुवेदीले बजारलाई डुओपोलीमा लगेर प्रतिस्पर्धा सीमित गर्ने गलत उद्देश्य नराखेको बताउँछन्।
‘व्यापारको सवालमा अपनाइने कम्पनीका रणनीति नितान्त फरक हो। प्रतिस्पर्धा घटाउँ भन्नेमा हामी छैनौं। त्यो गर्नु पनि हुँदैन, गर्दा पनि गर्दैनौं। प्रतिस्पर्धी भएकाले वहाँ (एनसेल)को कुरामा हामीलाई पहुँच हुँदैन, हाम्रो कुरा पनि उता थाहा हुँदैन। लञ्च भएर बजारमा आएपछि मात्रै थाहा हुने भयो। त्यसपछि मात्रै काउन्टर रणनीति तय गर्ने गरिन्छ,’ सुवेदीले भने।
एनसेलका ती अधिकारी पनि टेलिकम र एनसेल नीतिगत मुद्दामा एक देखिएपनि प्रतिस्पर्धामा कुनै सम्झौता नगर्ने जिकिर गर्छन्।
२०८० माघमा एनसेलले प्रतिस्पर्धी टेलिकमलाई २०औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिएको थियो। यसलाई दूरसञ्चार क्षेत्रमा पहिलो स्वच्छ कर्पोरेट कल्चरको रुपमा बुझ्ने गरिन्छ। त्यसपछि गत असोजमा टेलिकमले एनसेललाई १९औं वार्षिकोत्सवको अवसरमा शुभकामना दियो। यसलाई पनि टेलिकम अपरेटरहरु आफ्ना समान मुद्दामा एक रहेको सन्देश दिन खोजेको रुपमा अर्थ्याइएको छ।