बीवाइडी हाई-टेक-विकमा देख्न पाइन्छ ६ करोडसम्मका गाडी, साइमेक्सले हाइब्रिड पनि बिक्री गर्न लागेको हो?

बिजमाण्डू
२०८१ फागुन १४ गते २०:२४ | Feb 26, 2025
बीवाइडी हाई-टेक-विकमा देख्न पाइन्छ ६ करोडसम्मका गाडी, साइमेक्सले हाइब्रिड पनि बिक्री गर्न लागेको हो?


काठमाडौं। चिनियाँ विद्युतीय गाडी उत्पादक कम्पनी बीवाइडीले आयोजना गरेको ‘हाई-टेक-विक’मा ६ करोडसम्मका हाइ-इन्ड गाडी प्रदर्शनी गरिएको छ। बीवाइडीले पहिलोपटक नेपालमा यस्तो प्रदर्शनी गरेको हो। नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकसँगको सहकार्यमा कम्पनीले प्रदर्शनी आयोजना गरेको हो।

Tata
GBIME
NLIC

प्रदर्शनीमा कम्पनीले बाओ ५, याङवाङको यु८ र डेन्जा जेड९ जीटी जस्ता गाडी प्रदर्शनीमा राखेको छ। गाडीले नेपाली व्यवसायीहरूको समेत ध्यान तानेको छ।

प्रदर्शनीको सुरुवात गर्दै बीवाइडी इंकका एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस जनरल म्यानेजर झाङ जीले इभीको नयाँ इनोभेसन प्रदर्शनीमा देख्न पाउने बताए।

‘बीवाइडीले अहिलेसम्म अटोमोटिभ इन्डस्ट्रीमा ल्याएको इनोभेसन यो हाई-टेक-विकमा देख्न पाउनुहुनेछ,’ उनले भने, ‘हामीले बीवाइडीको ई-प्लेटफर्म ३.०, सार्क पिकअप इभी, बाओ ५ हाइब्रिड, डेन्जा जेड९ जीटी, डेन्जा डी९, याङवाङ यु८, ब्लेड ब्याट्री नेल पेनिट्रेसन जस्ता सबै प्रविधि प्रस्तुत गरेका छौं।’

प्रदर्शनीमा राखिएकोमध्ये बाओ ६ बीवाइडीको अर्को ब्रान्ड फाङ चेङ बाओको प्लग-इन हाइब्रिड गाडी हो। यसको मूल्य चीनमा ४२ हजार डलर राखिएको छ। नेपालमा साढे ३ करोड रुपैयाँ पर्ने अनुमान छ। बाओ ६ बीवाइडीको नयाँ अफ-रोड एसयूभी हो। यो गाडी आफ्नो मजबुत डिजाइन र अफ-रोड क्षमताको लागि परिचित छ।

यसमा ठूलो ग्रिल, एलइडी हेडलाइट र अफ-रोड टायर छन्। बाओ ६ मा प्लग-इन हाइब्रिड प्रणाली छ, जसले पेट्रोल इन्जिन र विद्युतीय मोटरलाई जोड्दछ। यसका साथै अल ह्वील ड्राइभ सिस्टम छ। टेरियन्ट र रोड अनुसारको ड्राइभिङ मोड पनि उपलब्ध छन्। यसमा उन्नत सस्पेन्सन प्रणाली पनि छ। यसमा बीवाइडीको गड्स आई सी-स्मार्ट ड्राइभिङ सिस्टम पनि उपलब्ध छ। यो बीवाइडीले ल्याएको लेटेस्ट टेक्नोलोजी हो। यसलाई प्लग-इन हाइब्रिड अफ रोडरका रूपमा तयार पारिएको छ।

याङवाङ यु८ एक लक्जरी हाइब्रिड एसयूभी हो जुन बीवाइडी कम्पनीको याङवाङ ब्रान्ड अन्तर्गत बनाइएको हो। यो गाडी आफ्नो उन्नत प्रविधि, लक्जरी डिजाइन र अफ-रोड क्षमताको लागि परिचित छ।

यसको नेपाली बजारमा ६ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। गाडीको अन्तर्राष्ट्रिय बजारमा १ करोड ४९ लाख डलर तोकिएको छ। यो गाडी एउटै स्थानमा ट्यांक टर्निङ गर्न मिल्ने प्रविधि भएको र पानीमा समेत तैरिने अथवा फ्लोटिङ हुन सक्ने गाडी हो।

हाइब्रिड पावर ट्रेन प्रविधिको प्लग-इन हाइब्रिड प्रणाली गाडीमा छ। जसले विद्युतीय मोटर र पेट्रोल इन्जिनलाई जोड्दछ।
यसमा प्रत्येक पाङ्ग्राको लागि छुट्टै मोटर छ। उन्नत सस्पेन्सन प्रणाली, उच्च ग्राउन्ड क्लियरेन्स र विभिन्न अफ-रोड मोड छन्।

यसको बाहिरी र भित्री डिजाइन दुवै लक्जरी र आधुनिक छ। ठूलो टचस्क्रिन डिस्प्ले, उन्नत ड्राइभर-सहायता प्रणाली र अन्य आधुनिक सुविधा गाडीमा छन्। याङवाङ यु८ मा ३६० डिग्री ट्यांक टर्न क्षमता छ अर्थात् ३६० डिग्रीमा गाडी घुम्छ भने आपतकालीन अवस्थामा डेढ घण्टासम्म पानीमाथि समेत तैरिन सक्ने क्षमता छ।

यस्तै अर्को जेड९ जीटी पनि ३ करोड रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ। यो गाडीको मूल्य चीनमा ५६ हजार डलर पर्नेछ।

दुई वटा गाडी छिट्टै बिक्री हुने

कम्पनीले हाइटेक विकमा प्रदर्शनीमा राखेको ५ वटा गाडीमध्ये प्लगइन हाइब्रिड पीकअप बीवाइडी सार्क ६ र लग्जरी एमपीभी डेन्जा डी ९ नेपालमा छिट्टै बिक्री सुरु हुनेछन्। यी दुवै गाडी राइटह्याण्ड ड्राइभ भर्सनमा प्रदर्शनीमा राखिएका छन्।

यसमा बीवाइडी सार्क ६ को मूल्य १ करोड ७० लाख रुपैयाँ हुने अनुमान गरिएको छ। डेन्जा डी९ को ३ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ।

कम्पनीले अहिलेसम्म इभी गाडी मात्रै बिक्री गरिरहेको थियो। तर अब भने प्लग-इन हाइब्रिडमा पनि सिफ्ट हुन लागेको हो। नेपाली बजारमा बिक्री हुनेमध्ये एक प्लग-इन हाइब्रिड र एउटा इभी गाडी हो। 

प्रदर्शनीको सुरुवातका क्रममा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले पनि बीवाइडीले आयोजना गरेको हाई-टेक-विक नेपालको अटोमोटिभ बजारमा नयाँ भएको बताइन। उनले ग्लोबल वार्मिङले हिमाल पग्लिरहेको कारण यसलाई जोगाउन विद्युतीय गाडीको योगदान ठूलो रहेको बताइन्।

बीवाइडीले हाई-टेक-विकमा राखेको धेरै प्रविधि अहिलेसम्म नेपालमा आएका छैनन्। यसमा हाइ पर्फर्मेन्स एसयुभीदेखि कारहरू पनि राखिएका छन्। जसमा एडभान्स र नयाँ प्रविधि छन्।

हाई-टेक-विक बिहीबारदेखि सर्वसाधारणलाई खुला हुनेछ। कार्यक्रम १८ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।