
काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)का ग्राउण्डेड दुईवटै न्यारोबडी जहाज भोलिसम्म काठमाडौं आइपुग्ने भएका छन्।
प्राविधिक समस्या आएर दुई दिनदेखि दमाममा ग्राउण्डेड ९ एन-एकेएक्स कलसाइनको जहाज भोलि बिहान र सि-चेकका लागि चीनको चाइना साउदर्न कम्पनीमा पठाइएको ९ एन-एकेडब्लू कलसाइनको जहाज भोलि राति आइपुग्ने एनएसीका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
उनका अनुसार ९ एन-एकेएक्स कलसाइनको जहाज दमामबाट यात्रुसहित बिहान ८ बजे आइपुग्नेछ।
‘दुवै न्यारोबडी जहाज भोलि फर्किंदैछन्। दमाममा ग्राउण्डेड जहाजको मर्मत संभार भइसकेको जानकारी आएको छ,’ उनले भने, ‘चीनमा अड्किएको जहाज पनि सि-चेक बापतको रकम भुक्तानी भइसकेकाले भोलि आउने पक्का भएको छ।’
एनएसीले ९ एन-एकेडब्लू कलसाइनको जहाज सि-चेकका लागि माघ २० गते चीन पठाएको थियो।
शनिबार राति दमाममा अवतरण भएको जहाज प्राविधिक समस्याका कारण उतै ग्राउण्डेड भएका कारण आइतबार एनएसीको दुबई उडान स्थगित भएको थियो।