एसयूभीमा नयाँ सेगमेन्ट टाटाको कर्भ इभी सार्वजनिक, मूल्य ५६ लाख ९९ हजार रुपैयाँ

बिजमाण्डू
२०८१ फागुन ११ गते २०:१७ | Feb 23, 2025
एसयूभीमा नयाँ सेगमेन्ट टाटाको कर्भ इभी सार्वजनिक, मूल्य ५६ लाख ९९ हजार रुपैयाँ


काठमाडौं। नेपाली बजारमा टाटा कर्भ इभी सार्वजनिक गरिएको छ।

Tata
GBIME
NLIC

टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत(सीइओ) राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड यश खन्डेलवालले आइतबार काठमाडौंमा एक समारोहबीच गाडी सार्वजनिक गरेका हुन्।

सिप्रदी ट्रेडिङले दुई साताअघि टेस्ट ड्राइभका लागि सीमित संख्यामा कर्भ इभी भित्र्याएको थियो। सिप्रदी ट्रेडिङका सीइओ श्रेष्ठले कर्भ इभीले डिजाइन, सेफ्टी फिचर, साउन्ड सिस्टम, प्रिमियम इन्टेरियर, युजर फ्रेन्ड्ली प्रविधि, पावरट्रेन जस्ता फिचरका कारण राम्रो बजार लिने विश्वास व्यक्त गरे।

‘टाटाले गाडी मात्रै ल्याएको छैन, इनोभेसनको प्याकेज पनि ग्राहकहरुलाई पास अन गरेको छ। यस्तै इभीको रेन्जमा पनि धेरै उत्पादन बजारमा ल्याएको छ। कर्भ इभी धेरै हिसाबले उत्कृष्ट छ,’ उनले भने, ‘हामीले इभीका लागि चाहिने इकोसिस्टम तयार पारेका छौं।’

टाटाले नेपाली बजारमा ४ वर्षमा ६ हजारभन्दा धेरै इभी बिक्री गरेको छ। ४५ जिल्लामा टाटाको चार्जिङ स्टेसन छ।

खन्डेलवालले कर्भ इभीले अटो बजारमा नयाँ मानक स्थापित गर्ने दाबी गरे। कर्भ इभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

कर्भ इभी ४.३ मिटर लम्बाइ भएको कुप एसयूभी हो। यसमा २.५ मिटरको ह्वीलबेस र १९३ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ। जुन नेपाली सडकका लागि राम्रो मानिन्छ।

बुट स्पेस ५०० लिटरको छ। अगाडि फ्रन्कमा ११.६ लिटरको स्पेस छ। जहाँ ल्यापटप ब्याग पनि राख्न सकिन्छ। यसको टर्निङ रेडियस ५.३ मिटरसम्मको छ।

यसमा अगाडि पछाडि दुवै डिस्क ब्रेक उपलब्ध छ। यस्तै १७ र १८ इन्चको एलोय ह्वील भएको टायर तथा ५ जनाको सिट क्षमता छ। कुपे डिजाइनले एसयूभीमा नयाँ सेगमेन्ट थपिएको छ।

गाडीमा ४५ किलोवाट आवर र ५५ किलोवाट आवर क्षमताका दुईवटा ब्याट्री प्याक उपलब्ध छ। ब्याट्रीमा पानी र धुलो छिर्दैन। आईपी ६७ अर्थात इन्ग्रेस प्रोटेक्सन मापन गरी ब्याट्री प्रमाणित गरिएको छ। आईपी ‘६’ले डस्ट र ‘७’ ले वाटर प्रोटेक्सनलाई जनाउँछ। कर्भ इभीको एक्सिलेरेसनले ८.६ सेकेन्डमा ०-१०० किलोमिटर प्रति घन्टाको गति लिन सक्छ।

टाटाले गाडीमा मल्टी ड्राइभ मोड पनि प्रदान गरेको छ। नेपालको टेरेन्ट र सडकको अवस्था हेरेर ड्राइभ मोड परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ। यसमा ७.२ किलोवाटको एसी फाष्ट चार्जर पनि उपलब्ध छ।

कर्भ इभी भारत एनक्याप टेस्टमा ५ स्टार ल्याउन सफल गाडी हो। यसले गाडी निक्कै सुरक्षित रहेको प्रमाणित गर्छ। सेफ्टी फिचरहरुमा नयाँ एड्भान्स्ड ड्राइभर असिस्टेन्ट (एडास) लेभल-२ उपलब्ध छ।

स्टप र गो सुविधासहितको एडप्टिभ क्रुज कन्ट्रोल अर्थात एडप्टिभ स्टेरिङ असिस्ट, लेन किप असिस्ट, अटोनोमल इमर्जेन्सी ब्रेकिङ, ट्राफिक साइन रिकग्निसन, रियर क्रस ट्राफिक अलर्ट, लेन चेन्ज अलर्ट, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट भ्यु मोनिटर, ब्लाइन्ड स्पट डिटेक्सन, लेन डिपार्चर वार्निङ, फर्वार्ड कोलिजन वार्निङ, हाइ बिम असिस्ट, डोर ओपन अलर्ट जस्ता फिचर उपलब्ध छन्।

यस्तै अटो होल्ड भएको इलेक्ट्रिक पार्किङ ब्रेक सिस्टम छ। एसओएस कल फङ्सन, फ्रन्ट पार्किङ सेन्सर, ६ वटा एयरब्याग, हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल पनि यसमा छ।

टाटाले कर्भ इभीसहित टाटा टियागो इभीको नयाँ मोडेल पनि ल्याएको छ। जसको मूल्य २७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।

यस्तै नेक्सन के थ्री पनि सार्वजनिक गरिएको छ। जसको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।