‘एमजी एस फाइभलाई प्रतिस्पर्धाको टप ब्राकेटमा बस्नेगरी ग्राहकहरुलाई स्वीट स्पटका रुपमा ल्याउँदै छौं’

बिजमाण्डू
२०८१ फागुन ११ गते ०९:१२ | Feb 23, 2025
‘एमजी एस फाइभलाई प्रतिस्पर्धाको टप ब्राकेटमा बस्नेगरी ग्राहकहरुलाई स्वीट स्पटका रुपमा ल्याउँदै छौं’


नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधनको पेनिट्रेसन ६३ प्रतिशतसम्म पुगेको छ। यसमा पनि नयाँ ब्रान्डहरु अझै थपिने क्रम बढ्दो छ। त्यसमा पनि पुराना ब्रान्डहरुको जसले इन्धन बेचिरहेका छन् उनीहरुले पनि इभीको प्रोडक्ट नेपाली बजारमा ल्याइरहेका छन्। जसले इभीको बजारमा ठूलो प्रतिस्पर्धा थपिएको छ। त्यसैले पनि यो आगामी महिना ठुला घरानाहरुले कम्तीमा ५ वटा ब्रान्डका नयाँ गाडीहरु बजारमा उतार्दैछन्। त्यसमा एउटा ब्रान्ड हो मोरिस ग्यारेज (एमजी)।

Tata
GBIME
NLIC

नेपालको इभी बजारमा एक समय राम्रो पकड बनाउन सफल एमजीले बीचमा केही ओभरस्याडो भइरहेको बेला नयाँ एमजी एस ५ क्रसओभर एसयुभी ल्याएको छ। यो गाडीले बजारमा अब अन्य नयाँ मोडलसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने छ। यस्तै पारामाउन्ट मोटर्सले अन्य ब्रान्डसँग कसरी प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ? यसै विषयमा आधारित रहेर यसअघि फोर्ड नेपालमा जनरल म्यानेजर भएर काम गरिसकेका र अहिले एमजीका गाडी बिक्रेता पारामाउन्ट मोटर्समा आएर फेरी जनरल म्यानेजर भएका सुनिलबहादुर क्षेत्रीसँग बिजमाण्डूले गरेको कुराकानी – नेपाली बजार इभीका लागि प्रतिस्पर्धी हुँदै गइरहेको बेलामा नयाँ मोडल ल्याएर फटाफट बेच्न सजिलो रहेन। त्यसमा पनि ४५ देखि ६० लाख पर्ने इभी बेच्न झन चुनौती छ। अब मानिसहरु कि ब्रान्ड की गाडी नै राम्रो भएमा मात्रै खरिद गर्ने देखिन्छ। त्यो आधारमा एमजीको एस फाइभ कुन ठाउँमा स्ट्यान्ड आउट हुन्छ?

बजारमा तपाइले भने जस्तै ४५ लाखदेखि ६० लाखको ब्राकेटमा धेरै ब्रान्ड र मोडलहरु छन। जसले प्रतिस्पर्धा पनि गरिरहेका छन्। र, यो उभोक्ताका लागि राम्रो पनि हो। उनीहरुले रोजेर छानेर गाडी खरिद गर्न सक्नु पनि हुन्छ। गाडी कुन राम्रो नराम्रो सबै फिचरहरु केके छन्, त्यही अनुसार यो पैसा तिरेको भ्यालु पाउँछु पाउँदिन भन्ने सबै कुराहरु ग्राहकहरुले बुझ्न पनि पाउनु भएको छ। 

प्रतिस्पर्धी बजारमा ग्राहकहरुले यी सबै कुरा त पाउनु हुन्छ। तर, ब्रान्ड लामो समयसम्म कुन टिक्छ? कुनको भिजन लङटर्मसम्मको छ। यसको पुरानो इतिहास र नेपालमा कसले उक्त ब्रान्ड आयात गरिरहेको छ भन्ने बारेमा सोच्नुपर्ने हुन्छ। किनभने नेपालमा भएका आयातकर्ताले अटोमोबाइलका क्षेत्रमा के गर्दै हुनुहुन्छ र ती आयातकर्ताको कस्तो ब्याकग्राउन्ड छ भन्ने कुरा महत्त्व राख्छ। नेपालमा जसले ब्रान्ड ल्याउँछ उसैले त्यसको लायबिलिटी लिनुपर्छ। 

आइसीइ भेहिकलको कुरामा ३ वर्षमा वारेन्टी सकिन्छ। आयातकर्ताको लायबिलिटी नरहन पनि सक्छ। तर, इभीको केसमा त लङ टर्म कमिटमेन्ट आवश्यक छ। किनभने ब्याट्रीको ८ वर्षसम्मको वारेन्टी हुन्छ। त्यही अनुसार मोटरको वारेन्टी ५ वर्षसम्मको हुन्छ। त्यही हिसाबले आयातकर्ताले त्यो समयसम्म वारेन्टी दिनसक्छ सक्दैन सबै हेर्नुपर्छ।

यस्तै आफ्टरसेल्स सर्भिसको स्किल सेटअप अथवा स्किल लेभल कतिको छ। स्पेयर पार्ट्सको उपलब्धता कस्तो छ वा छैन, जस्ता कुराहरु ग्राहकहरुले हेर्नुपर्छ। 

एमजीको केसमा चाहिँ हामी नम्बरका आधारमा मास सेलर इभीका रुपमा पनि जेडएस इभीलाई लिन्छौं। नेपालमा मास सेलिङ इभीमा जेडएसले राम्रो स्थान बनाएको पनि हो। अहिले नेपाली सडकमा २५०० भन्दा बढी जेडएस इभी गुडिरहेका छन्। यसको सफलतालाई आधार बनाएर हामीले बजारमा नयाँ प्रोडक्ट ल्याउने तयारी गरेका छौं। ४५ देखि ६० लाखको मूल्य पर्ने इभीको सेग्मेन्टमा हाम्रो ब्रान्ड ‘टप ब्राकेट’मा स्ट्यान्ड आउट गर्छ। 

यसै हप्ता बजारमा आउन लागेको हाम्रो नयाँ गाडी एस ५ पनि ४५ देखि ६० लाख बीचको ब्राकेटमा छ। हामी हाम्रो प्रोडक्टमा किन कन्फिडेन्ट छौं भने एमजीको हिस्ट्री १०० वर्ष पुरानो कम्पनी हो। यसले इन्धन इन्जिन भेहिकल पनि बनाइरहेको छ। इभी पनि। र नेपालमा एमजी आएको लगभग ८ वर्ष पुरा हुन लागिसकेको छ।

साथै एमजी इभी मास सेलर भएको हिसाबले पनि हाम्रो आफ्टर सेल्स सर्भिस सेटअप र रिपियरिङ स्किल लेभल पनि निकै राम्रो छ। र अब आउन लागेको प्रोडक्ट पनि राम्रो छ। त्यसैले एमजी प्रतिस्पर्धाको टप ब्राकेटमा नै हुन्छ। त्यही हिसाबको तयारी पनि हामीले गरिरहेका छौं। यसको स्ट्रोङ आधार भनेको गाडीको मूल्य, साइज, युनिक फिचरहरुले गर्दा हामी टप ब्राकेटमा बस्छौं।   

जुन ठाउँमा अहिले तपाइँ हुनुहुन्छ त्यो ठाउँ ‘हट सिट’ जस्तो लाग्छ। किनभने ओनरहरुले धेरै गाडी बिक्री गर्न टार्गेट दिने एकातिर छ भने बजारमा प्रतिस्पर्धी धेरै छन्। मार्केटमा इभीको पेनिट्रेसन पनि उच्च छ। एमजी एस५ आउँदा आफू ‘हट सिट’मा बसिरहेको अनुभव हुँदैन?

मलाई यो सिट रमाइलो लागि रहेको छ। यो सिटमा बस्दा च्यालेन्ज पनि छ र रिफ्रेसिङ पनि छ। म पहिले इन्धन गाडी बेचिरहेको मान्छे, अहिले इभी बिक्री गर्न तयारी गर्दैछु। इभीको मार्केटिङ हेर्दा ‘इट्स क्वाइट प्रमिसिङ’ पनि छ। साथै नेपालमा इभीको एडप्टेसन हाइ पनि छ। यसले म बसेको सिटमा धेरै स्कोपहरु छन्। झन अब आउन लागेको एमजीको प्रोडक्ट छ जुन यो प्रतिस्पर्धी सेगमेन्टमा छ।   

यसमा बिना लक्ष्य कोही पनि केही काम गर्दैन र हिँड्दैन। माथिबाट आउने टार्गेट भनेको पनि त्यही नै हो। हामी हाम्रो लक्ष्य लिएर हिडेका छौं। हामी एमजी जेडएसमा जस्तै यसमा पनि टप ब्राकेटमा हुने र अझै राम्रो गर्ने लक्ष्य राखेर काम गरिरहेका छौं।

त्यसैले पनि मेरो सिटले एकातिर मार्केटमा अवसर दिएको छ भने अर्कोतर्फ चुनौती पनि दिइरहेको छ।  

एमजी नेपालमा एउटा कुनै समय माइलस्टोन क्रिएट गर्ने गाडी ब्रान्ड थियो। जतिबेला जेडएस इभीको लेगेसीमा एग्रेसन थियो। पछिल्लो डेढ वर्षमा एकदम रिग्रेसन जस्तो फिल गरेर जेडएस इभीको एग्रेसन बचाउन सकेन। अहिले एमजीको ठूलो मार्केट मिस भइरहेको जस्तो लाग्दैन?

यसमा हामी रिग्रेसनभन्दा पनि हामी त्यही स्थानमा बेस्ट गरिरहेका थियौं। तर बजारमा अन्य ब्रान्ड र विकल्पहरु बढेकाले हाम्रो जेडएस इभी अलि ‘ओभर स्याडो’ भएको हो कि जस्तो मात्रै भएको हो। हामी यसलाई यसरी लिन्छौं। रिग्रेसनमा भने गएको हैन। 

ओभर स्याडो हुनको अर्को कारण भनेको प्रोडक्टको लाइफ पनि हो। जुनसुकै प्रोडक्टको पनि लाइफ हुन्छ। जेडएस इभीले पनि ३/४ वर्ष बजारमा रुल गरिसकेको थियो। त्यसपछि सबै कुरा विस्तारै कम हुँदै पनि जान्छ। त्यही समयमा अन्य प्रतिस्पर्धी बजारमा नयाँ ब्रान्ड नयाँ मोडलहरु आए। जसले गर्दा ग्राहकहरुलाई धेरै विकल्पहरु पनि मिले। पहिले त जेडएस इभी राम्रो थियो अब यो पनि आएछ भन्ने धारणाको विकास पनि भयो। अरु प्रोडक्टहरु पनि राम्रो आयो। यही हिसाबले मात्रै जेडएस इभी ओभर स्याडो मात्रै भएको हो। 

जेडएस इभीको सेगमेन्टमा ग्रोथ ठूलो आएको छ। यसले जेडएसलाई अलिकति पछि पारेको जस्तो देखिएको हो। अब एस ५ आएको छ। यसले राम्रो गर्छ भन्ने कुरामा हामी धेरै नै अप्टिमिस्टिक छौं। 

पुरानै लेगेसीलाई स्पिड अप गर्ने केके आधार छन्? जस्तै ग्रुपले गर्ने स्ट्राटेजिक योजना र तपाइको लेभलबाट हुने इफोर्ट एग्रेसिभ मूल्य वा मार्केटमा दिइने डिस्काउन्ट वा अफर कुनै ल्याउने योजनाहरु?

यसमा हामी पहिलो कुरा लेगेसी कसरी बन्छ भन्ने कुरामा जानु पर्‍यो। त्यसमा एउटा प्रोडक्टको रिलायबिलिटी तथा उनीहरुको रिसर्च एण्ड डेभलपमेन्ट र प्रविधिमा गरेको लगानी र उनीहरुले एउटा राम्रो प्रोडक्ट निर्माण गर्न दिएको समयहरुले धेरै महत्त्व राख्छ। यसमा एमजीले सधै राम्रो गरिरहेको छ। जेडएस इभीमा पनि गरेको थियो भने एस ५ मा पनि त्यही गरेको छ। 

लामो समय लगाएर प्रोडक्टलाई बेस्ट बनाएको छ। यो कुरा मैले भन्नुभन्दा पनि गाडी आएपछि ग्राहकहरुले हेरेर, टच गरेर फिल गर्नु हुनेछ। एमजीको जुन खालको डीएनए छ त्यो यसमा पनि पाउनु हुनेछ। 

प्रविधिको कुरा गर्दा जस्तै इभीमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यसको ब्याट्री हो। एमजीले एस ५ मा नयाँ प्लेटफर्म तयार पारेर निर्माण गरेको छ। एमजीले सीएटीएलको जोइन्ट भेन्चरमा ब्याट्री उत्पादन भइरहेका छन्। जुन ब्याट्रीको साइजमा सबैभन्दा पातलो हुन्छ। र, सबैभन्दा सुरक्षित पनि हुन्छ।

यसमा पातलो किनहुन्छ भने अहिले भएका एलएफपी ब्याट्री सेलहरु भर्टिकल रुपमा राखिएको हुन्छ। अहिले एस ५ मा राखिएको ब्याट्री सेलहरु होराइजेन्टल रुपमा राखिएका हुन्छन्। यसले गर्दा यसको फाइदा ब्याट्री पातलो हुन्छ। जसले इन्टेरियरमा ठूलो ठाउँ दिन्छ। र यसले सेफ्टीको कुराहरुलाई पनि एड्रेस गर्छ। 

डाइमेन्सनको कुरा गर्दा ४५ देखि ६० लाख सगेमेन्टमा यो पहिलो कार हो, जुनमा रियल ह्वील ड्राइभ छ। अन्यमा फ्रन्ट ह्वील ड्राइभ हुने गरेको छ। साथै रियर इन्डिपेन्डेन्ट सस्पेन्सन पनि यसमा छ। यसको कम्बोले यो गाडीको ड्राभिङ डाइमेन्सनमा एकदमै राम्रो फिल दिन्छ। 

रियल ह्वील ड्राइभ भनेको सामान्य भाषामा भन्नुपर्दा उकालोमा कुनै सामान अगाडिबाट तान्न सजिलो हुन्छ की पछाडि ठेल्न? यसमा तान्नु भन्दा ठेल्न सजिलो हुन्छ। यसमा पनि रियल ह्वील ड्राइभ सिस्टमले यस्तै काम गर्छ। पछाडि बाट गाडीलाई ठेल्ने काम गर्छ। जसले गर्दा अगाडिको पाङ्ग्रा रोल गर्दैन।

यसको मोटर पछाडि दिइएको हुन्छ। जसले गर्दा सबै ४ वटै टायरमा पावर बराबर दिन्छ। यसले ड्राइभिङ र अन्य धेरै कुरामा सहज बनाउछ। यो खालको गाडी बनाउन एमजीले धेरै लगानी र समय खर्चिएको छ। 

त्यसैले हामी एमजी कहाँ हुनुपर्ने हो त्यही ठाउँ पुर्‍याउँछौं। जस्तै प्रोडक्टहरुको सेगमेन्टमा एमजी सेगमेन्ट लिडर हुनेछ। अहिले भएको ५० देखिको ६० को ब्राकेटमा सेगमेन्ट लिडर बन्ने तर्खरमा एस ५ छ। त्यसपछि यसको नयाँ वीन्सर पनि चाडै नै नेपाल आउने छ। यसमा पनि नयाँ सेगमेन्ट हुनेछ र मार्केट लिडर हुनेछ। हाम्रो ग्रुप र मेरो गोल र भिजन त्यही नै छ। जसरी भए पनि हामी सेगमेन्ट लिडर बन्ने छौं। 

यसमा मेरो इफोर्ट भनेको प्रोडक्टलाई एक नम्बरमा पुर्‍याउनलाई चाहिने प्रोडक्ट प्लेसमेन्ट र प्राइसको कुरामा हामी काम गरिरहेका छौं। ग्राहकहरुलाई स्वीट स्पट (सबै कुराको कम्बो) त्यो मिलाएर एस ५ लाई प्रिजेन्ट गर्न चाहन्छौं। 

कुनै पनि गाडी वा सामान बिक्री गर्न हामी राम्रो छौं भनेर मात्रै पुग्दैन। त्यसलाई ग्राहकहरुको सामु लिएर जान महत्त्वपूर्ण छ। र, त्यसलाई ग्राहकहरुकोमा कसरी लिएर जाने र त्यसलाई प्रिजेन्ट गर्ने कुराहरुको तयारी भइसकेको छ। हामी प्रोडक्ट लिएर ग्राहकहरु समक्ष पुग्नै पर्छ। गाडी खरिद गर्न उहाँहरुलाई कसरी फ्यासिलेटेट गर्न सक्छौं त्यो कुराहरुमा हाम्रो ध्यान केन्द्रित हुनेछ। 

जस्तै प्री-लन्चको गतिविधिहरु सुरु भएका छन्। पोस्ट-लन्चको गतिविधिहरुका लागि पनि योजनाहरु बनेका छन्। जुन कुरा क्यालेन्डरमा सेट भइसकेको छ। साथै थप योजनाहरु पनि बनिरहेका छन्।  

अहिले इभीमा चिनियाँ ब्रान्ड आफैंमा प्रतिस्पर्धा गरिरहेका छन्। यहीभित्र प्रतिस्पर्धा गरेर जित्नु छ भने अर्को भारतीय र कोरियन ब्रान्डसँग त्यो सेगमेन्टमा क्रस गर्नुपर्ने छ। जस्तै हुन्डाई, टाटा, महिन्द्रा, किया, सुजुकी ब्रान्डहरु इभीमा एग्रेसिभ नेपाल आउँदैछन्। त्यसैले चिनियाँसँग जितेर आउँदा पनि फेरि भारतीय र कोरियनसँग ठक्कर खानु पर्‍यो। यसलाई कसरी एड्रेस गर्नु हुन्छ?

प्रतिस्पर्धाको कुरामा हामीले चिनियाँ र भारतीय वा कोरियनसँग भन्दा पनि प्रोडक्टलाई डिफाइन गर्छौं। हाम्रो ग्राहकहरुले के हेर्नु हुन्छ भने प्रोडक्ट भर्सेस प्रोडक्ट हेर्नु हुन्छ जस्तो लाग्छ। हामीले यही कुरालाई ध्यान दिएर काम पनि गरिरहेका छौं। चिनियाँ भारतीय कुनै कुराले फरक पार्दैन। तर, ग्राहकहरुले के चाहनु हुन्छ त्यसमा हामी कहाँनिर छौं वा स्ट्यान्ड आउट भन्ने हो। यसैमा हामी वर्कआउट गरिरहेका छौं। 

हाम्रो फोकस र भिजन पनि त्यही नै हो। भारतबाट पनि थुप्रै ब्रान्ड र मोडलहरु आउँदै छन्। चीनबाट पनि त्यही रेसियोभन्दा धेरै छन्। मेरो हिसाबमा प्रोडक्ट बेस हुँदा राम्रो हुन्छ। हामीले त्यसरी नै हेरिरहेको अवस्था छ। पछिल्लो समय बजारमा आउने प्राय सबै इभी ४५ देखि ६० लाखको ब्राकेटमा आउने हो। यसले ब्रान्ड वा देशबाट आउने भन्दा पनि प्रोडक्टहरुबीच धेरै प्रतिस्पर्धा हुँदैछ। ग्राहकहरुलाई राम्रो विकल्पहरु पनि हुनेछन्। 

जेडएस इभीमा सेट ब्याक हुने क्रम बढेपछि तत्काल म्यासिभ मूल्य घटाउने स्ट्राटेजी अपनाउनु भयो। यो स्ट्राटेजी तपाइँहरुका लागि बेनिफिट थियो की घातक बन्यो? यसले ब्रान्ड इमेज कस्तो बनायो?

यसलाई कसरी बुझ्नुपर्छ भने हामीले जुन प्राइस स्ल्यास गरेका थियौं त्यसको दुई वटा कारणहरु छन्। एउटा दसैंको समय थियो, चाडबाडमा अफरहरु ल्याउनै पर्छ। यो सामान्य नै हो। यही समयमा धेरै गाडीहरु बिक्री हुन्छन्। यतिखेर ग्राहकहरुलाई राम्रो मूल्यमा गाडी दिन सकिएमा गाडी बिक्री गर्न सकिन्छ भन्ने हाम्रो प्रक्षेपण थियो। 

त्यसमा हामीले उत्पादक कम्पनीसँग नेगोसिएसन पनि गरेका थियौं। साथै हामीसँग २०२३ को केही स्टक गाडीहरु पनि थिए। त्यो स्टकमा उत्पादक कम्पनीसँग सपोर्ट लिएर ग्राहकहरुलाई पास अन मात्रै गरेका हौं। 

अर्को कुरा भनेको त्यतिबेलाको मूल्य २०२३ मोडललाई मात्रै थियो। त्यो मूल्य २०२४ को गाडीलाई थिएन। यसले हाम्रो गाडी सबै बिक्री पनि भए। अहिले गाडी छैन। अब नयाँ गाडी आउने समय कुरिरहेका छौं। 

एमजीले पूर्वाधारमा कसरी काम गरिरहेको छ? आगामी दिनमा कसरी यसको विस्तार गर्दै जाने योजनाहरु छन्? अबको प्रतिस्पर्धा यसैको लागि आवश्यक पूर्वाधारमा लगानी हुने देखिन्छ। जसले ब्रान्डलाई मार्केटमा स्थापित बनाउन मद्दत पुर्‍याउँछ। तपाइँहरुको के छ?

हामीले एमजी इभी गाडी बिक्री सुरु गरेको ५ वर्ष नै पुरा भइसकेको छ। त्यो हिसाबले पनि हामीले स्टेट अफ द आर्ट सर्भिस सेन्टर संचालनमा ल्याएका छौं। जुन ३० हजार स्क्वायरफिटमा फैलिएको छ।  

हामीसँग स्किल र म्यानपावर पनि छ। हामीले गाडी आउने समस्याहरुको सबै अनुभव र समाधान गरिसकेका छौं। त्यही हिसाबमा हाम्रो म्यानपावर पनि तयार छन्। स्पेयर पार्ट्सको कुरा गर्दा अहिले सडकमा भएका ४ हजार वटा एमजीका गाडीलाई यथेष्ट मात्रामा पुग्ने गरी वेयर हाउसमा छ। 

अर्को कुरा चार्जिङ नेटवर्कको कुरा गर्दा १७ वटा फाष्ट चार्जिङ संचालनमा छन्। त्यसलाई अझै विस्तार गर्ने योजनाहरु बनिरहेका छन्। यसका साथै चार्जिङमा दुई वटा सिस्टम हुन्छ। एउटा सीसीएस र अर्को जीबीटी। कमर्सियल गाडीको लागि जीबीटी चार्जिङ सिस्टम चाहिन्छ। हाम्रो यसरी जीबीटी पनि जोड्ने हो भने १०० भन्दा धेरै छन्। 

प्यासेन्जरको लागि आवश्यक चार्जिङ नेटवर्कमा हामीले राम्रै योजना बनाएका छौं। छिट्टै यसलाई रिभिल पनि गर्ने छौं।

अहिले नेपालका इभी बिक्री गर्ने लिडरहरुले विभिन्न एक्सचेन्ज क्याम्पहरु जस्ता अफरका योजनाहरु ल्याइरहेका छन्। तपाइँहरुको यसमा के योजनाहरु छन्?

हाम्रो नेपालभरी १३ वटा डिलरहरु छन्। पूर्व बिर्तामोडदेखि पश्चिम धनगढीसम्म। मेजर सहरहरुमा हाम्रो डिलर नेटवर्क पुगेका छन्। अहिलेका लागि डिलर थप्ने योजना छैन। हाम्रो जुन प्रोडक्ट छ त्यसको लागि हाम्रो डिलर नेटवर्क पर्याप्त छन्। 

तर पनि केही स्थानमा हामीले हेरिरहेका छौं। डिलरको लागि ठूलो खर्च छ। उनीहरुको भायबिलिटी पनि हामीले हेर्नु पर्छ, डिलरले गरेको लगानी उठ्छ उठ्दैन। 

एमजी एस५ पछिको लाइनअप प्रोडक्ट के छ? साथै डिलर नेटवर्क विस्तार कस्तो छ?

जेडएस इभी इन्धन प्लेटफर्ममा बनेको गाडी थियो। एमजी एस ५ भने प्योर इभी प्लेटफर्ममा बनेको गाडी हो। एमको मोडुलर स्केलेबल प्लेटफर्म भनिन्छ। सबै कुरा गाडीको डिजाइन नै इभी डेडिकेटेड छ। त्यसले गर्दा स्पेस अप्टिमाइजेसनको कुराहरु ड्राइभिङ कम्फर्टको कुराहरु यसमा प्राप्त छ। 

साथै रियर ह्वील ड्राइभ प्रिमियम गाडीहरुमा मात्रै उपलब्ध हुने गरेकोमा अब ४५ देखि ६० लाखको गाडीमा पनि हुनेछ। यस्तै इन्डिपेन्डेन्ट सस्पेन्सनले नेपालको जस्तो खाल्डाखुल्डी बाटोमा गाडीलाई स्मुथ बनाउछ। यसमा भएको ब्याट्रीले ६ वटा सेफ्टी टेष्ट पास गरेको छ। 

यसमा अन्यको भन्दा फरक फिचरमा आई स्मार्ट एप हालिएको छ। जसले ४ वटा कनेक्टेड एपहरु हुन्छ। जसमा च्याटजीपीटी, स्पोर्टीफाइ, युट्युब र टिकटक हुन्। यो गाडीमा भएको स्क्रिनमा अनलाइन ब्राउज गर्न सकिन्छ। यसका लागि सिम चाहिदैन। त्यो सबै एक्टिभेट भएरै आउछ। 

यसमा ३ वटा भेरियन्टको गाडी आउने छ। जसमा एउटा ४९ किलोवाट आवर र ६२ किलोवाट आवर ब्याट्री क्षमता हुनेछ। यसमा ४९ किलोवाट आवरमा दुई वटा भेरियन्ट हुन्छ। जसमा एउटा भेरियन्ट ५० लाख भन्दा तल हुनेछ अर्को ५५ लाख तल हुनेछ। ६२ किलोवाट आवर क्षमताको भेरियन्ट भने ६० लाख तलको लागि तयारी छ।

यसका लागि उत्पादक कम्पनीसँग नेगोसिएसन भइरहेको छ। ग्राहकहरुलाई राम्रो मूल्यमा गाडी दिन हामी उत्पादक कम्पनीसँग लडिरहेका छौं। राम्रो मूल्यमा आउँछ भन्ने हाम्रो अपेक्षा छ। यसका लागि एमजी फोरको मूल्यलाई रेफरेन्स लिँदा राम्रो हुन्छ। त्यही खालको यसमा पनि लागु हुनेछ।

आगामी दिनमा धेरै प्रोडक्टहरु लाइनअपमा छन्। जस्तै एमजी वीन्सर छिट्टै नेपाल आउनेछ। जुन फरक सेगमेन्टमा बस्नेछ।

यो ४.४ मिटरको एसयुभी हो। प्रतिस्पर्धीका रुपमा ब्याट्रीको साइज र गाडीको साइज हेरेर गर्ने हो। ५० किलोवाट ब्याट्री प्याकमा कुन कुन छ र ६२ किलोवाटमा कुन कुन। जस्तै बीवाइडी एटो थ्री, ओमोडा, क्रेटा इभी, प्रोटोनको इम्यास, टाटा कर्भ जस्ता रहेका छन्।