के चीनमा ज्याक माको पुनरागमन भएकै हो? ५ वर्षपछि राष्ट्रपति सीसँग एउटै मञ्चमा

बिजमाण्डू
२०८१ फागुन ९ गते १२:३७ | Feb 21, 2025
के चीनमा ज्याक माको पुनरागमन भएकै हो? ५ वर्षपछि राष्ट्रपति सीसँग एउटै मञ्चमा


चिनियाँ राष्ट्रपति सी चिनफिङले केही दिनअघि एक सम्मेलनमा देशका प्रमुख उद्योगी व्यवसायी भेटे। यो भेटले चीनमा एक किसिमको उत्साहसँगै शंकाउपशंकाहरुलाई बल पुग्यो। किनभने राष्ट्रपति सीले भेटेका व्यक्तिहरुमध्ये अलिबाबाका संस्थापक ज्याक मा पनि थिए।

Tata
GBIME
NLIC

चीनका ठूला व्यापारीहरुमध्ये चमत्कारिक व्यक्तित्वका धनीका रुपमा चिनिने ज्याक मा लामो समयदेखि सार्वजनिक रुपमा देखापरेका थिएनन्। सन् २०२० मा चीनको वित्तीय क्षेत्रबारे आलोचनात्मक वक्तव्य दिएपछि उनी सरकारको आँखाको तारो बनेका थिए।

त्यसपछि उनी सार्वजनिक जीवनबाट पर गए। त्यसै उनीबारे थुप्रै ‘कन्सपिरेन्सी’हरु पनि सार्वजनिक भइरहे।

गत सोमबार भने राष्ट्रपति सी तथा अन्य हाइ प्रोफाइलसँगै उनको उपस्थितीले चीनको व्यावसायिक क्षेत्रमा एक किसिमको उत्साहको माहौल बनेको छ। उनको राष्ट्रपतिसँगको भेटले विज्ञ, विश्लेषक तथा चिनियाँ सर्वसाधारणहरुमाझ पनि एक किसिमको कौतुहल तथा प्रश्नहरुको लहर उठेको छ।

विज्ञहरु भन्छन्, ‘यो सामान्य त पक्कै होइन’। के यो भेटले चीनको प्रविधि क्षेत्र वा अर्थतन्त्रमा मात्र अर्थ राख्छ? वा यो भेट त्यो भन्दा माथिल्लो परिदृश्यको संकेत हो।

चीनमा देखिएको उत्साहले चीनको प्रविधि क्षेत्रका कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक प्रभाव पारेको छ। ज्याक मा कै कम्पनी अलिबाबाको पनि सेयर मूल्य राष्ट्रपतिसँगको भेटपछि बढेको छ।

गत बिहीबार इ कमर्स जायन्ट अलिबाबाले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दा अपेक्षाभन्दा पनि राम्रो नतिजा भएको जनाएको थियो। बिहीबारै कम्पनीको सेयर अमेरिकी बजारमा ८ प्रतिशतभन्दा माथि वृद्धि भयो। सन् २०२५ को सुरुवातदेखि नै कम्पनीको सेयर लगातार ६० प्रतिशतले माथि गइसकेको छ।

राष्ट्रपतिसँगको भेटमा डिपसिकका संस्थापक लियाङ वेनफेङ लगायतका अन्य हाइ प्रोफाइल गेस्टसँगै ज्याक माको उपस्थितीलाई विश्लेषकहरु फरक तरिकाले हेरिरिहेका छन्।

चिनियाँ मिडिया प्लाटफर्म विबोमा एक प्रयोगकर्ता लेख्छन् ,’सेफल्यान्डिङका लागि बधाई ज्याक मा!’

reuters

के ज्याक माको पुनरागमन भएको हो?

विश्लेषकहरुले ज्याक माको उक्त कार्यक्रममा उपस्थिती अनि पहिलो लहरमा बस्नुले उनको पुनरागमन भएको स्पष्ट रुपमा देखिएको बताइरहेका छन्।

‘त्यो कार्यक्रममा उनी आए अघिल्लो सिटमा बसे। उनले केही बोलेनन् तर राष्ट्रपतिसँग उनले जसरी हात मिलाए त्यसले स्पष्ट सन्देश दिइसकेको छ त्यो के भने यो उनको पुनरागमन हो,’ सामाजिक संजालमा चीन मामिला विश्लेषक बिल बिसपले लेखेका छन्।

सार्वजनिक रुपमै चिनियाँ सर्वसाधारणहरुले ज्याक मालाई बधाई दिइरहेका छन्।

चिनियाँ मिडिया प्लाटफर्म विबोमा एक प्रयोगकर्ता लेख्छन् ,’सेफल्यान्डिङका लागि बधाई ज्याक मा!’

‘ज्याक माको कम-ब्याकले अहिले चिनियाँ अर्थतन्त्रमा बलियो अर्थ राख्छ,’ अर्का प्रयोगकर्ता लेख्छन्।

सन् २०२० मा ज्याक मा सार्वजनिक जीवनबाट अलप भएका थिए। एक फाइनान्सियल कन्फरेन्समा उनले चीनको सरकारी बैंकहरुको आलोचना गरेपछि उनीमाथि सरकारले एक्सन नै लिएको थियो।

चीनको टेक उद्योगको ‘पोष्टर ब्वाइ’का रुपमा विश्वभर चर्चामा रहेकामा त्यसलगत्तै उनी सरकारको ‘स्क्रुटिनी’मा परेका थिए।

कम्प्युटरबारे कुनै दख्खल नभएका एक अंग्रेजी टिचर ज्याक माले आफ्नै अपार्टमेन्टमा साथीहरुको समूहसँग मिलेर अलिबाबा खोलेका थिए।

करिब दुई दशकमा उनले अलिबाबालाई चीनकै सबैभन्दा ठूलो टेक जायन्ट बनाए, जसले उनलाई चीनकै धनाढ्यमध्ये एक बनाइदियो।

तर, जब उनले सरकारको आलोचना गरे त्यसपछि भने उनको लागि कठिन समय सुरु भयो। सरकारले सबैभन्दा शक्तिशाली कम्पनीका नेतृत्वकर्ताले ‘बढी बोलेको’ मा उनलाई तह लगाउने नीति लिएपछि उनको अर्को टेक जायन्ट एन्ट ग्रुप समस्यामा परेको थियो।

विश्लेषकहरुले अहिले ज्याक मा देशका प्रमुख व्यवसायीहरुसँगै उक्त कार्यक्रममा देखा पर्नु ‘राम्रो संकेत’ भएको बताएका छन्। भलै उनी उक्त कार्यक्रममा वक्ताका रुपमा थिएनन्।

तर, चिनियाँ मिडियाहरुमा ज्याक माको उपस्थितीलाई खासै महत्व नदिइनुले अझै पनि पूर्ण रुपमा ज्याक माको पुनरागमन नभएको हो कि भन्ने आशंका पनि बाँकी नै छ।

चीनमा ज्याक माको डाउनफलसँगै चीनको प्रविधि क्षेत्रको पनि ओरालो यात्रा सुरु भएको थियो। टेक कम्पनीहरुको डेटा सेक्युरिटीमा निगरानी तथा महत्वपूर्ण डिजिटल सम्पत्तिहरुमाथि कडा नियन्त्रण गरियो।

उक्त सिम्पोजियममा राष्ट्रपति सीले सहभागीहरुलाई जारी आर्थिक चुनौतीहरुका बाबजुद चीनले नवआविष्कार, वृद्धि तथा आत्मविश्वासका साथ सामना गर्ने र जित्ने बताएका थिए। हालको चुनौतीलाई उनले ‘अल्पकालीन’ पनि भनेका थिए।  

यस्तै राष्ट्रपति सीले निजी उद्योग तथा उद्योगीहरुका लागि आफ्नो दक्षता प्रदर्शन गर्ने सही समय भएको भन्दै प्रोत्साहित गरेका थिए।

चीनमा ज्याक माको डाउनफलसँगै चीनको प्रविधि क्षेत्रको पनि ओरालो यात्रा सुरु भएको थियो। त्यहाँका टेक कम्पनीहरुको डेटा सेक्युरिटीमा निगरानी तथा महत्वपूर्ण डिजिटल सम्पत्तिहरुमाथि सरकारले कडा नियन्त्रण राखेको थियो। यस्तै शिक्षा देखि रियलस्टेटसम्मका अन्य निजी कम्पनीहरुपनि सरकारको ‘टार्गेट’मा थिए।

चीनमा सरकारले साझा समृद्धिको नीतिहरु लागू गरेसँगै चीनका केही अर्बपतिका कम्पनीहरुको संचालन तथा मुनाफाको वितरणमाथि सरकारले निगरानी गरेको थियो। तर, जब बेइजिङले कडा नियमहरु लागू गर्‍यो कम्पनीका अन्तर्राष्ट्रिय लगानीकर्ताहरु बाहिरिए। यसबाट चिनियाँ प्रविधि क्षेत्रबाट अर्बौं डलर बाहिरियो।

यो सँगै कोभिड-१९ महामारीले प्रभावित बनाएको विश्व अर्थतन्त्र रुस युक्रेन युद्ध तथा अन्य परिघटनाहरुले चीनको आर्थिक स्थितीमा उल्लेख्य गिरावट आउन थाल्यो। चीनको आर्थिक वृद्धि सुस्तायो, देशमा बेरोजगारी दर बढ्न थाल्यो भने उपभोक्ताहरुले खर्च गर्ने ट्रेन्ड पनि घटेर गयो।  

गत सोमबारको सिम्पोजियममा ज्याक मा को उपस्थितीले प्रविधि क्षेत्रमा आशा पलाएको रिसर्च फर्म काउन्टरपोइन्टका टेक निर्देशक रिचर्ड विन्डसर बताउँछन्।

उनी भन्छन्, ‘अलि बढी कडा नीतिले भएको क्षतिलाई आँकलन गर्दै चिनियाँ नेतृत्वले प्रविधि क्षेत्रमा निजी क्षेत्रलाई अलि खुकुलो ढंगले काम गर्न दिनुपर्ने महसुस गरेर यो कदम चालेको हुनसक्छ।’

उक्त समारोहमा ज्याक मा र लियाङसँगै हुवावे, बिवाइडी तथा अन्य उद्योगका प्रमुख व्यक्तिहरु उपस्थित थिए।

‘जति पनि व्यक्तिहरु उक्त समारोहमा उपस्थित थिए त्यसले चीनमा इन्टरनेट, प्रविधि र इभी क्षेत्रले हासिल गरेको सफलता तथा आविष्कारलाई सरकारले महसुस गरेको रुपमा हेर्न सकिन्छ,’ सिटीका बजार विश्लेषकको भनाई छ।

यसले सरकारले प्रविधि क्षेत्रको महत्वलाई संकेत गरेको छ भने चीनको अर्थतन्त्रमा निजी कम्पनीहरुको विकास र वृद्धिले दिएको योगदानलाई पनि महत्वका साथ लिएको संकेत गर्छ। साओमीका सिइओ लेइ जुनले कार्यक्रमपछि प्रतिक्रिया दिएका छन्।

उनले भनेका छन्, ‘राष्ट्रपतिले हाम्रो उद्योगधन्दा तथा व्यापार व्यवसायप्रति देखाएको चिन्ता र गर्न खोजेको सहयोग महसुस भएको छ।’

Photo : Xinhua

अमेरिकी प्रतिबन्धको चिन्ता?

गत महिनामात्रै चिनियाँ कम्पनी डिपसिकको आगमनले अमेरिकालाई झस्काइदिएको थियो। डिपसिक रिलिज भएको केही बेरमै विश्वभरमा सबैभन्दा बढी डाउनलोड हुने एआई च्याटबटका रुपमा चर्चा पाएको थियो। यसले प्रमुख अमेरिकी टेक बजारको सेयर मूल्यमा धक्का पुग्यो। यस क्षेत्रमा अमेरिकी नेतृत्व अब गुम्न पुगेको आशंकाका बीच अमेरिकी कम्पनीको सेयर मूल्य घट्न पुगेको थियो।

चीनमा भने यो एपले ग्लोबल सक्सेस मनाइरहेको विषय राष्ट्रिय गौरवको विषय बनेको थियो। चिनियाँ टेक कम्पनीहरुमा लगानी ओइरिन थाल्यो। विशेष गरि हङकङ र मेनल्याण्ड चाइनामा सूचीकृत कम्पनीहरुको सेयर मूल्यमा उल्लेख्य वृद्धि भयो।

यसबीच इन्भेष्टमेन्ट बैंकिङ जायन्ट गोल्डम्यान साचले चिनियाँ बजारप्रति आफूले हेर्ने अवधारणालाई पनि स्तरोन्नति गर्‍यो। उसले तीब्र रुपमा एआई अंगिकार गर्ने कम्पनीहरुलाई लगानीको अवसरका रुपमा २०० अर्ब डलरको प्रस्ताव समेत गर्‍यो।

यसअघि अमेरिकाले उच्चस्तरका चिप तथा प्रविधि निर्यातमा प्रतिबन्ध लगाएकैले चीनमा डिपसिकको आविष्कार तथा विकासले तीब्रता लिएको तथ्य यो सन्दर्भमा सबैभन्दा महत्वपूर्ण हुन्छ।  

फेरि एकपटक ह्वाइटहाउसमा डोनाल्ड ट्रम्प फर्किएका छन् र उनी विभिन्न देशहरुका लागि करका दरहरु बढाउनेतर्फ उद्दत देखिएका छन्। यसकारण पनि चिनियाँ राष्ट्रपति सीले चिनियाँ उद्योगीहरु प्रति आफ्नो यसअघिको रवैयामा परिवर्तन गर्न आवश्यक देखेको हुनसक्ने विश्लेषण गरिएको छ।

अब चीनले आफ्नो आर्थिक वृद्धिका लागि लिने नीतिमा पूर्वाधार तथा सेमिकन्डक्टर तथा एआई र उर्जा क्षेत्रको लगानीलाई नै जोड दिएको छ। यसले चीनले अघि सारेको आर्थिक लक्ष्य हासिल गर्ने मार्ग प्रशस्त गर्ने विश्वास छ।

चीनले सन् २०३५ सम्ममा समाजवादी आधुनिकीकरणको लक्ष्य अघि सारेको छ। यसबाट चीनका प्रत्येक नागरिकका लागि उच्चस्तरको जीवन, विदेशी प्रविधिको आयातमा भर नपर्ने अत्याधुनिक उत्पादनलाई सुनिश्चित गर्नेछ। यसका लागि निजी क्षेत्रलाई पूर्ण रुपमा साथ लिनुपर्ने आवश्यकता चिनियाँ राष्ट्रपति सीले महसुस गरिसकेका छन्।

ज्याक माको यो पुनरागमनबारे युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका सहप्राध्यापक मरिना झाङ भन्छिन्, ‘प्रविधि क्षेत्रलाई अनावश्यक नियन्त्रण तथा निगरानीलाई अन्त्य गर्दै चीनले चाहेको आर्थिक महत्वाकांक्षालाई हासिल गर्न निजी क्षेत्रलाई बलियो खम्बाको रुपमा राष्ट्रिय प्राथमकिताका क्षेत्रहरुसँग साझेदार बनाएर अघि बढाउनु मै चीनको सफलता नीहित छ।’