
काठमाडौं। स्मार्टफोनको आयात निरन्तर उकालो लागेको छ। तीन वर्षको तथ्यांक केलाउँदा स्मार्टफोनको आयात संख्या २२ प्रतिशतले बढेको छ। मूल्यका हिसाबले २९ प्रतिशतले वृद्धि भएको छ।
भन्सार विभागका अनुसार चालू वर्ष २०८१/८२ को सात महिनामा १९ अर्ब रुपैयाँबराबरको १२ लाख २९ हजार थान स्मार्टफोन भित्रिएको छ। जबकि आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा १४ अर्ब ७६ करोड रुपैयाँबराबरको १० लाख थान स्मार्टफोन भित्रिएको थियो।
यस्तै, गत आव २०८०/८१ को सोही अवधिमा १७ अर्ब ३८ करोड रुपैयाँबराबरको ११ लाख २६ हजार थान स्मार्टफोन आयात भएको थियो। स्मार्टफोन आयातबाट राजस्व पनि २८ प्रतिशतले बढेको छ।
गत वर्षको सात महिनाको तुलनामा चालू आवको सोही अवधिमा संख्या र मूल्यका हिसाबले स्मार्टफोन आयात वृद्धिदर समान ९/९ प्रतिशत छ। चालु वर्ष २०८१/८२ को सात महिनामा सरकारले स्मार्टफोन आयातबाट ३ अर्ब ५३ करोड रुपैयाँ राजस्व उठाएको छ। आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा स्मार्टफोन आयातबाट सरकारले २ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेको थियो।
चालू वर्षका सात महिनामध्ये कात्तिकमा सर्वाधिक ३ अर्ब ५७ करोड रुपैयाँबराबरको स्मार्टफोन आयात भएको थियो। संख्यात्मक हिसाबले भदौमा २ लाख २९ हजार थान स्मार्टफोन भित्रिएको थियो।
गत वर्ष २०८०/८१ को सात महिनामध्ये असोजमा सर्वाधिक ४ अर्ब रुपैयाँबराबरको २ लाख ७५ हजार थान स्मार्टफोन आएको थियो। त्यसअघि २०७९/८० मा भदौमा सर्वाधिक ३ अर्ब ६० करोड रुपैयाँबराबरको २ लाख ६२ हजार थान स्मार्टफोन आयात भएको थियो।

नेपाली बजारमा चीनबाट सर्वाधिक स्मार्टफोन आयात हुने गर्छ। चालू वर्ष २०८१/८२ को सात महिनामा चीनबाट मात्रै १३ अर्ब रुपैयाँबराबरको ९ लाख ५३ हजार थान स्मार्टफोन भित्रिएको छ। त्यसपछि भारतबाट ५ अर्ब ६२ करोड रुपैयाँबराबरको २ लाख ७२ हजार थान स्मार्टफोन आएको छ। अरु देशबाट नेपाल आएको स्मार्टफोनको संख्या न्यून छ।
नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याद्योले स्मार्टफोन बजार कमब्याकको बाटोमा रहेको बताए। स्मार्टफोनको बिक्री बढ्दै गएको उनको भनाइ छ। उनले किस्तामा स्मार्टफोन किन्न पाइने सुविधाले बिक्री बढेको बताए।
‘पहिला इएमआईमा किन्न त पाइन्थ्यो तर, अनेक कागजात बुझाउनुपर्ने झन्झट थियो। अहिले नागरिकताकै आधारमा किस्ता सुविधा लिएर स्मार्टफोन किन्न पाइन्छ। त्यसैले अहिले ह्वात्तै स्मार्टफोनको माग बढेको छ,’ चुल्याद्योले बिजमाण्डूसँग भने।
उनका अनुसार अहिले सामसङका स्मार्टफोनमा उपभोक्ता बढी आकर्षित छन्। सामसङले ४० प्रतिशत डाउनपेमेन्ट गर्ने ग्राहकलाई नागरिकता र साक्षी जुटाएकै आधारमा मिडदेखि प्रिमियम रेन्जका स्मार्टफोन बिक्री गर्दै आएको छ।
संख्या र मूल्यका हिसाबले सामसङका स्मार्टफोन बढी बिक्री भइरहेका छन्। सामसङले गत माघ १७ गते ग्यालेक्सी एस २५ सिरिज नेपाली बजारमा भित्र्याएको थियो। सोही दिन सामसङले एस २५ सिरिजको प्रि-बुकिङ खोलेकामा २० मिनेटमै उपलब्ध कोटा बुक भएको थियो।
‘पहिला पहिला एक-दुईवटा ब्राण्डको मात्रै राम्रो बिक्थ्यो। अहिले सामसङ, साओमीपछि अनर, ओप्पो, रियलमीलगायत स्मार्टफोन ब्राण्ड एउटै रेन्जमा अघि बढिरहेका छन्। गत वर्षको तुलनामा नेपाली बजारमा स्मार्टफोनको बिक्री संख्यात्मक हिसाबमा २-३ प्रतिशतको बढोत्तरी छ भने मूल्यमा १२-१५ प्रतिशतकै ग्रोथ छ,’ चुल्याद्योले भने।