
काठमाडौ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाली आकाशमा यूरोपेली हेलिकोप्टर असुरक्षित रहेको भन्दै आयातमा प्रतिबन्ध लगाएको छ।
प्राधिकरणले दुर्घटनामा परेका अधिकांश हेलिकोप्टर एयरबस भएको दाबी गर्दै आयातमा प्रतिबन्ध लगाएको हो।
माउन्टेन एयरले एलसी खोलेर चीनमा आइसकेको हेलिकोप्टर प्राधिकरणले रोकिसकेको छ। ‘नेपालको भूगोलका लागि यूरोपेली हेलिकोप्टर उपयुक्त देखिएन। त्यही भएर हामीले आयातमा प्रतिबन्ध लगाएका हौं,’ प्राधिकरण स्रोतले भन्यो, ‘एयरबसका हेलिकोप्टर १६ सय हर्सपावरका हुन्। त्यो नेपालको भौगोलिक हिसाबले राम्रो देखिएन।’
नेपालमा उडान गर्ने अधिकांश हेलिकोप्टर एयरबसका छन्। सिम्रिक लगायत केही कम्पनीसँग मात्रै बेल कम्पनीको हेलिकोप्टर छ।
प्राधिकरणका कर्मचारीका अनुसार एयरबसले नेपाललाई परीक्षणका लागि मात्रै उपयोग गरेको देखिएको छ। ‘यात्रु सुरक्षा हाम्रो मुख्य विषय हो। हामीलाई परीक्षण गर्ने भूमि बनाउने काम यूरोपेली कम्पनीहरुले गरे,’ ती कर्मचारीले भने, ‘अब तीन हजार हर्सपावर भएका अरु कम्पनीका हेलिकोप्टर आयात गर्न दिनेछौं।’
प्राधिकरणले यूरोपमा रहेका एमआरओमा समेत प्रतिबन्ध लगाएको छ। स्रोतका अनुसार नेपाल वायुसेवा निगमको जहाज मर्मतमा पटकपटक समस्या आएकाले पनि यूरोपको एमआरओमा प्रतिबन्ध लगाइएको हो।
प्राधिकरणले केही दिनभित्रै एटीआर आयातमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ। अहिले बुद्ध र यती एयरलाइन्सले एटीआरमार्फत उडान गर्दै आएका छन्।
किन लगायो प्रतिबन्ध ?
उच्च स्रोतका अनुसार यूरोपियन युनियन(इयू)ले सुरक्षाका सबै सूचकहरुमा सुधार गर्दा पनि कालोसूचीबाट नहटाएपछि क्यानले काउन्टरस्वरुप यूरोपेली हेलिकोप्टर आयातमा प्रतिबन्ध लगाएको हो।
‘हामीले सुरक्षा सूचीबाट हट्न धेरै सुधार गर्यौं। तर उनीहरुले त्यसलाई एड्रेस नै गर्न चाहेनन्,’ स्रोतले भन्यो, ‘उनीहरुको जहाज प्राविधिकरुपमा हाम्रो भूमिमा असफल भएर सुरक्षा सूचीबाट नहट्ने अवस्था कायम रहेकाले यो निर्णय गर्नुपरेको हो।’
प्राधिकरणको यो निर्णयले सबैभन्दा बढी फाइदा अमेरिकी कम्पनी बेललाई हुनेछ। अमेरिकी कम्पनी बेल एयरक्राफ्ट कर्पोरेसनका हेलिकोप्टर ३ हजार हर्सपावर क्षमताका छन्।
अधिकांश जहाज एटीआरका

नेपालमा यती र बुद्ध एयरले एटीआरको जहाजमार्फत उडान गर्दै आएका छन्। हाल यतीले एटीआर ७२-५०० सिरिजको ७ वटा तथा बुद्धले एटीआर ७२-५०० सिरिजको १६ वटा र एटीआर ४२-३२० सिरिजको दुईवटा जहाजमार्फत उडान गर्दै आएका छन्।
एयरबस र एलेनिया ऐरमचीको लगानीमा खडा गरिएको जहाज उत्पादक कम्पनी हो एटीआर। एभियन दि ट्रान्सपोर्ट रिजनल ‘एटीआर’ले ७० सिट क्षमताको एटीआर-७२ र ५० सिट क्षमताको एटीआर ४२ सिरिजको जहाज उत्पादन गर्दै आएको छ। क्षेत्रीय उडान प्रयोजनका लागि कम्पनीले एटीआर जहाज उत्पादन गर्दै आएको हो।
श्री एयरलाइन्ससँग बम्बार्डियर कम्पनीको जेट इन्जिन ‘सीआरजे’ र क्यू ४०० ‘टर्बोप्रोप’ ११ वटा छन्।

१२ वटा हेलिकोप्टर कम्पनीसँग ३२ वटा हेलिकोप्टर रहेकामा तीमध्ये अधिकांश एयरबस कम्पनीका एच १२५ सिरिजका हुन्।
मुलुकमा कति भए हवाई दुर्घटना ?
नेपालमा अहिलेसम्म बिचक्राफ्ट र एटीआरका जहाज तथा एयरबसका हेलिकोप्टर बढी दुर्घटना भएका छन्। ती कम्पनीका जहाज र हेलिकोप्टर प्राविधिक रुपमा कमजोर रहेको प्राधिकरणको बुझाइ छ।
‘नेपाल जस्तो जटिल भौगोलिक क्षेत्रमा सिंगल इन्जिनबाट मात्र जहाज सञ्चालन गर्न अप्ठ्यारो देखियो। सिमरा, भरतपुर, तुम्लिङटारमा यस्ता जहाज उडाउन गाह्रो भएको पाइयो,’ प्राधिकरणका अर्का उच्च अधिकृतले भने।
जहाजको प्रकार | दुर्घटना संख्या | मृत्यु हुनेको संख्या |
मल्टी इन्जिन जहाज | ५१ | ४६९ |
सिङ्गल इन्जिन | ५१ | २५ |
हेलिकोप्टर | ८ | ९८ |
विदेशमा दर्ता भएका हेलिकोप्टर | ४१ | ३७३ |
जम्मा | ११० | ९६५ |
२०१३ डिसेम्बर ५ बाट आइकाओले सिग्निफिकेन्ट सेफ्टी कन्सर्नमा राखेपछि इयूले सुरक्षा सूचीमा राखेको थियो। प्राधिकरणले सेफ्टी ओभरसाइड सिस्टममा लगातार काम गर्यो। नेपालले सन् २०१७ मा सुरक्षा दर ५५ बाट ६७.७६ प्रतिशत पुर्याएको थियो।
तर पनि इयूले नेपाललाई सुरक्षा सूचीबाट हटाएन। प्राधिकरणले सुरक्षा सूचीबाट हटाउन लगातार गरेको प्रयास असफल भएको छ। इयूले प्राधिकरणलाई टुक्र्याउनुपर्ने सर्त राखेपछि केही समय अगाडि सरकारले संसद्मा विधेयक समेत दर्ता गरिसकेको छ।