टुँडिखेलमा पुष्पवृष्टि गराउन त्रिभुवन विमानस्थल एक घण्टा बन्द, आन्तरिक उडान दिनभर प्रभावित

बिजमाण्डू
२०८१ फागुन ७ गते १६:३८ | Feb 19, 2025
टुँडिखेलमा पुष्पवृष्टि गराउन त्रिभुवन विमानस्थल एक घण्टा बन्द, आन्तरिक उडान दिनभर प्रभावित


काठमाडौं। त्रिभुवन विमानस्थल बुधबार करिब एक घण्टा बन्द गरिंदा हजारौं यात्रु प्रभावित भएका छन्।

Tata
GBIME
NLIC

त्रिभुवन विमानस्थल कार्यालयले नोटाम जारी गरेर विमानस्थल बन्द गर्दा त्यसको असरस्वरुप आन्तरिकतर्फको उडान एक घण्टा ठप्प हुन पुग्यो। कतिपय वायुसेवा कम्पनीका जहाजलाई आकाशमै होल्ड गराइएको थियो।

विमानस्थल कार्यालय स्रोतका अनुसार बिहान ९ बजेदेखि १० बजेसम्म विमानस्थल बन्द गरिएको हो। विमानस्थल एक घण्टा बन्दका कारण साढे सात हजार यात्रु प्रभावित भएको स्रोतले बतायो।

आन्तरिक उडान दिनभर नै प्रभावित भएको वायुसेवा प्रदायक एक कम्पनीका कर्मचारीले बताए। ‘करिब एक घण्टा विमानस्थल बन्द गरिएकाले त्यसको असर दिनभर नै पर्‍यो। हामीलाई उडान तालिका मिलाउन र यात्रुलाई सम्झाउन निक्कै गाह्रो भयो,’ ती कर्मचारीले भने।

नोटाम किन जारी गरियो?

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले प्रजातन्त्र दिवसका अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गर्ने तालिका रहेका कारण नोटाम जारी गरेको बताए।

‘हरेक वर्ष प्रजातन्त्र दिवसमा नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गर्ने गरेको छ। त्यही कारण आज बिहान हामीले नोटाम जारी गरेका थियौं। बिहान केहीबेर खासगरी पश्चिमतर्फको उडान प्रभावित भयो। अन्तर्राष्ट्रियतर्फ भने खासै असर परेन,’ निरौलाले भने।

नेपाली सेनाको एउटा हेलिकोप्टरले प्रजातन्त्र दिवस लेखिएको ब्यानरसहित ५ हजार फिटभन्दा कम उचाइबाट चक्रपथ परिक्रमा गरेको थियो भने अर्को हेलिकोप्टरले टुँडिखेलमा ब्यानरसहित पुष्पवृष्टि गरेको थियो।

नोटाम जारी नगर्दा हुँदैनथ्यो भन्ने प्रश्नमा उनले ‘नोटाम जारी गरेको राम्रो। जारी नगर्दा अरु सेक्टरको जहाज गएर झन् रिस्क हुन्थ्यो’ भन्ने जवाफ दिए।

विमानस्थल कार्यालयले यसअघि प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला मंसिर तेस्रो साता पनि नोटाम जारी गरेको थियो। त्यतिखेर आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका थिए।