स्रोत सुनिश्चिततासँगै बिपी राजमार्ग पुनर्निर्माण ठेक्का फास्ट ट्रयाकमा लैजाने तयारी

शुक्र गिरी
२०८१ फागुन ७ गते ०९:३६ | Feb 19, 2025
स्रोत सुनिश्चिततासँगै बिपी राजमार्ग पुनर्निर्माण ठेक्का फास्ट ट्रयाकमा लैजाने तयारी

काठमाडौं। पुनर्निर्माण अलपत्र बिपी राजमार्गसँगै २६ वटा आयोजनाका लागि अर्थमन्त्रालयले मंगलबार स्रोत सुनिश्चितता गरिदिएको छ। स्रोत सुनिश्चित भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी राजमार्गको पुनर्निर्माणलाई फास्ट ट्रयाकमा लैजाने तयारी गरेको छ।

Tata
GBIME
NLIC

यो सडक संघीय राजधानी आउजाउको सजिलो रुटका रूपमा छ। गत असोज दोस्रो साताको बाढीपहिरोले करिब १२ किलोमिटर सडकखण्ड बगाएपछि आवतजावत अस्थायी रूपमा सञ्चालनमा छ। पुनर्निर्माणको काम सुरु भएकै छैन। बहाव सुकेकाले हाल खोलाबाटै सवारी आवागमन भइरहेको छ। वर्षा सुरु भएसँगै उक्त रुटमा आवागमन प्रभावित हुने अवस्था छ।

भौतिक मन्त्रालयले अर्थसँग ५ महिनादेखि स्रोत सुनिश्चितताका लागि ताकेता गर्दै आएको थियो। लामो समयसम्म स्रोतको टुंगो नहुँदा पुनर्निर्माणको काम थाल्न ढिला भइसकेको छ। हाल सामान्य मर्मतका काम मात्रै हुँदैछन्, जो वर्षा सुरु हुँदा बन्द हुने आवागमन खुलाउन भरलाग्दा होइनन्।

भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरुका अनुसार मर्मतभन्दा पुनर्निर्माणका लागि स्रोतले समस्या पारेको थियो। अब भने त्यसको समस्या नहुने भएको छ।

अर्थमन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीका अनुसार भौतिकले मागे जति बजेटको स्रोत सुनिश्चतता गरिएको छ। ‘सुरुमा २५ अर्बका लागि स्रोत सुनिश्चितता गर्न माग गरिएको थियो। तर, पछि यसलाई पनि हाइ प्रायोरिटीमा राखेर ल्याउन भनिएको थियो,’ उनले भने, ‘त्यहीअनुसार हामीले भनेजसरी दोस्रो पटक भौतिकबाट माग गरिए अनुसारको स्रोत सुनिश्चितता गरिएको छ।’

सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार बिपी राजमार्ग उच्च प्रथामिकतामा रहेका कारण यसको ठेक्का प्रक्रिया फास्ट ट्रयाकमा लैजाने तयारी गरिएको छ। ‘हामीले मागेजति स्रोत सुनिश्चितता पाएका छौं। अर्थबाट पत्र आएपछि सबै आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘हामीले बिपी राजमार्गलाई अहिले पहिलो प्रथामिकतामा राखेर ठेक्का प्रक्रिया फास्ट ट्रयाकमा गर्ने तयारी गरेका छौं।’

प्रक्रिया अघि बढाउन भने मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेर स्वीकृति लिनुपर्ने हुन्छ। ‘बिपी राजमार्गको ठेक्का प्रक्रिया फास्ट ट्रयाकमा लैजाने गरी मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस गर्ने तयारी छ,’ उनले भने, ‘तर, मन्त्रिपरिषद्ले स्वीकृति नदिएमा भने ठेक्का प्रक्रिया सामान्य प्रक्रियामा नै अगाडि बढ्छ। त्यसले झन अझै महिना काम ढिला सुरु हुन्छ।’

यसो गर्नुको कारण भनेको यसै स्रोतले गर्दा नै ५ महिना ढिला भएको छ। झन सामान्य रुपमा नै ठेक्का प्रक्रियामा जाँदा पुनर्निर्माणको काम सुरु हुन समय लाग्छ भन्ने आफूहरुको धारणा रहेको पोखरेल बताउँछन्।

‘यसरी फास्ट ट्रयाकमा गर्दा ३ महिनामा ठेक्का लाग्ने कुरा एक महिनामा सकिन्छ। ३५ दिनमा हुने काम १५ दिनमा सकिन्छ। जसले समय छोटिन्छ,’ उनले भने, ‘ठेक्का लगाउने प्रक्रिया छोटिएन भने यो वर्ष काम सुरु हुन सक्दैन। रेगुलरमा ठेक्का लगाउदा यो वर्ष काम हुने सम्भावना कम छ।’

कुन कुनमा कति स्रोत?

अर्थ मन्त्रालयले भौतिकले पठाएको प्रस्तावहरुमा सामान्य थपघटपछि स्रोत सुनिश्चिता दिएको छ। जसमा बीपी राजमार्ग पुनर्निर्माणका लागि साढे ८ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको छ। यसका लागि भौतिक मन्त्रालयले ९ अर्ब ६६ करोड रुपैयाँको स्रोत माग गरेको थियो।

यस्तै मेची राजमार्ग पुनर्निर्माणका लागि भौतिकले ६० करोड रुपैयाँ स्रोत पाएको छ। साथै बेलिब्रिज निर्माण गर्न ५/५ करोड रुपैयाँको स्रोत पाएको पोखरेलले बताए। खुर्कोटदेखि तामाकोशीसम्मको सडक खण्डको विभिन्न स्थान बनाउन ६५ करोड रुपैयाँको स्रोत मिलेको छ।

कान्ति राजमार्गका लागि २५ करोड, थानकोट-चित्लाङका लागि २५ करोड, अन्य १३ वटा पुल र बेलिब्रिज निर्माणका लागि १ अर्ब ९० करोड रुपैयाँको स्रोत सुनिश्चितता भएको जानकारी पोखरेलले दिए। उनका अनुसार वैकल्पिक सडक निर्माण भनेर १ अर्ब १५ करोड स्रोत सुनिश्चितता भएको छ। यसमा ३/४ वटा वैकल्पिक सडक पुनर्निर्माण गर्नुपर्ने छ। अन्यमा ५/६ करोड खाँचो भएका सडक आयोजनाहरु छन्।