
काठमाडौं। सिम्रिक एयरले ८ वर्ष अगाडि किनेको बेल ४०७ जीएक्सपी सिरिजको हेलिकोप्टर भारतीय कम्पनीलाई बिक्री गरेको छ। कम्पनीले सञ्चालन खर्च घटाउन भन्दै हेलिकोप्टर बेचेको हो।
‘विभिन्न कम्पनीका हेलिकोप्टर हुँदा सञ्चालन खर्च धेरै भयो। पाइलट, इन्जिनियर लगायत जनशक्ति नै फरक फरक राख्नु पर्दा धेरै खर्च भएकाले अब एउटै किसिमको हेलिकोप्टर सञ्चालन गर्ने योजना अनुसार बेल ४०७ जीएक्सपी सिरिजको हेलिकोप्टर बेचेका हौं,’ कम्पनी स्रोतले भन्यो, ‘हामी छिट्टै एयरबस कम्पनीको हेलिकोप्टर ल्याउने योजनामा छौं।’
सिम्रिक एयरले भारतीय कम्पनीलाई कति रकममा बेचेको भन्ने खुलाएको छैन। कम्पनीले कार्गो र चार्टर्ड उडान गर्न ८ वर्षअघि ३५ करोड रुपैयाँमा बेल कम्पनीको ४०७ जीएक्सपी सिरिजको हेलिकोप्टर किनेको थियो।
कम्पनी स्रोतले भारतीय कम्पनीसँग हेलिकोप्टर बिक्रीको सम्झौता भइसकेको र छिट्टै भारत पठाउने जानकारी दिए।
सिम्रिकले हाल ३ वटा हेलिकोप्टरमार्फत व्यावसायिक उडान गर्दै आएको छ। दुईवटा एयरबस कम्पनीका इ क्वेरल र एउटा बेल ५०५ सिरिजको हो।