
काठमाडौं। सेयर बजारमा ‘लो-क्याप’ ह्विमको ट्रेन्ड केही दिनयता फेरिएको छ। नेप्से मंगलबार १२.६८ अंकले बढेर २७४०.५९ विन्दुमा पुग्दा रि-इन्स्योरेन्स कम्पनी लगानीकर्ताको रोजाइमा परेका छन्।
अन्य उपसमूहको सूचक सर्वाधिक ३.६८ प्रतिशतले उकालो लाग्यो। बैकिङ सूचक ०.२२ प्रतिशत बढ्यो। कारोबार खुलेदेखि नै बैंकिङ र अन्य समूहको सूचकले बजारमा दबदबा राखे। सोमबार पनि बजारमा त्यही ट्रेन्ड देखिएको थियो।
ठूला कम्पनीमा लगानीकर्ताको आकर्षणले कारोबार रकम समेत बढाएको छ। सोमबार १० अर्ब ४ करोडको सेयर कारोबार भएकामा मंगलबार १० अर्ब ४३ करोड रुपैयाँको किनबेच भएको छ।
नेप्से भदौयता २७०० विन्दुमा छ। बजार केही दिनयता ठूला कम्पनीको कारोबारले बुलिस बनेको छ।
गत असारमा सत्ता राजनीतिमा आएको उलटफेरले नेप्से लगातार उकालो लाग्दा कमजोर वित्तीय अवस्थाका लोक्याप कम्पनीले बजारमा तहल्का मच्चाएका थिए।
भदौ लागेपछि ‘नन् फण्डामेन्टल स्टक’ को ओरालो यात्रा सुरु भयो। त्यसपछि बजार २४०० विन्दुसम्म आइपुग्दा कम्पनीहरुको मूल्यमा अस्वाभाविक वृद्धि जस्तै गिरावट आयो।
बजार बढ्दा उकालिएका खराब वित्तीय अवस्थाका लोक्याप कम्पनी अहिले चल्न छोडेको छ। लगानीकर्ताहरु उच्च जोखिम भएका कमजोरबाट कम जोखिम भएका कम्पनीतिर सिफ्ट हुन थालेको पछिल्लो केही कारोबारले देखाउने ब्रोकरहरु बताउँछन्।
‘नयाँ लगानीकर्ताहरु हाइरिस्क स्टकमै यसपटक प्रवेश गरेको देखिन्थे। अहिले कम्पनीको वित्तीय अवस्था कम्जोर भएका लोक्याप कम्पनीबाट कम जोखिम भएका कम्पनीतिर गइरहेको देखिन्छ,’ स्टक ब्रोकर्स एसोसियसनका पूर्वअध्यक्ष सन्तोष मैनालीले भने।
बुलिस ट्रेन्डमा लोक्याप कम्पनीको मूल्य बढाउन चलेको ह्विमले अहिले काम नगरेको लगानीकर्ताको तर्क छ। बजारमा साधारण सेयर संख्या कम भएका कम्पनीको मूल्य बढाउन ‘लोक्याप स्टक’ उचालिने गरिएको छ।
बजारमा फाइनान्स कम्पनीपछि विकास बैंकमा लोक्याप ट्रेन्ड चलेको थियो। नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लगायत केही फाइनान्स कम्पनीलाई कारबाही गरेपछि विकास बैंक र फाइनान्सका लगानीकर्तामा असर देखिएको हो।
कम्पनीहरुले पुँजीकोष अनुपात कायम नगरेको र खराब कर्जा व्यापक वृद्धि भएको पाएपछि कर्णाली डेभलपमेन्टलाई संकटग्रस्त घोषणा गरेर व्यवस्थापन नियन्त्रणमा लिएको थियो।
त्यस्तै, केही नाजुक अवस्थाका फाइनान्सको मूल्य अस्वाभाविक वृद्धि भएकामा लगानीकर्ताले बेच्न चाहेर पनि खरिद गर्ने पाएनन्।
अहिले नाजूक अवस्थाका कम्पनी लगानीकर्ताको रोजनाइमा देखिंदैनन्। सामाजिक सञ्जालमा चलाइएको लोक्याप ह्विमले पनि मूल्य बढाउन नसक्ने भएको छ।
‘सधै नन् फण्डामेन्ट स्टक चल्छ भन्ने हुँदैन। त्यो एउटा विन्दुसम्मका लागि मात्रै हो। केही महिनायता लगातार मूल्य घटेपछि त्यस्ता कम्पनीमा लगानीकर्ताको आकर्षण भएको देखिंदैन,’ एक मर्चेन्ट बैंकरले भने।
बजारमा सेयर संख्या र पुँजी धेरै भएका वाणिजय बैंकको सेयर मूल्य बजार उच्चविन्दुमा पुग्दा समेत ‘अन्डर प्राइस” रहेको बजारका विश्लेषक बताउँछन्।
लोक्याप कम्पनीको मूल्य उचालिंदा बलियो वित्तीय अवस्था भएका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको थिएन्। लगानीकर्ताले अहिले आधारभूत सूचक नै राम्रा भएका कम्पनीको सेयर कारोबार गर्न थालेको मर्चेन्ट बैंकर बताउँछन्।
‘फण्डामेन्टल कम्पनीमा मुभमेन्ट देखिन थालेको छ। यो बजारको लागि राम्रो हो। बजारमा तरलता छ। ब्याजदर कम छ। यसले नयाँ लगानीकर्ताहरुको इन्ट्री भइरहेको हो भन्ने देखाउँछ,’ नबिल इन्भेष्टमेन्ट बैंकिङका सीइओ मनिष जोशीले भने, ‘यस वर्ष बैंक तथा वित्तीय संस्थाको ब्यालेन्स सिट धेरै बिग्रीन्छ कि भन्ने लगानीकर्तामा परेको थियो। तर, बजारमा हल्ला अनुसार नराम्रो आएन। यसको असर पनि सकारात्मक देखिएको छ।’