स्पाइस जेट काठमाडौंमा ६ वर्षपछि रिब्याक हुँदै, सातामा १४ उडान गर्न माग्यो अनुमति

बिजमाण्डू
२०८१ फागुन ५ गते १७:०२ | Feb 17, 2025
स्पाइस जेट काठमाडौंमा ६ वर्षपछि रिब्याक हुँदै, सातामा १४ उडान गर्न माग्यो अनुमति


काठमाडौं। भारतीय लो कस्ट वायुसेवा कम्पनी स्पाइस जेटले ६ वर्षपछि दिल्ली-काठमाडौं उडान गर्ने भएको छ। कम्पनीले मार्चबाट पुनः नियमित व्यावसायिक उडान थाल्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा निवेदन दिनुका साथै अन्य प्रक्रिया अगाडि बढाएको छ।

Tata
GBIME
NLIC

कम्पनीले उडान सुरु गर्न जीएसए नियुक्त गरिसकेको छ। हिमालय ग्लोबल ट्राभल सर्भिसेसलाई जीएसए नियुक्त गरी सातामा १४ वटा उडान गर्न अनुमति मागेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।

‘स्पाइस जेटले साताको १४ वटा उडान गर्ने गरी हामीकहाँ निवेदन दिएको छ। हामी सुरुमा दैनिक एउटा उडान गर्न अनुमति दिने तयारीमा छौं,’ भूलले भने, ‘केहीदिनमै उसको उडान तालिका निश्चित गरिने छ।’  

स्पाइस जेटको जीएसए यसअघि जेनिथ ट्राभल थियो।

त्रिभुवन विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान सेवा दिने वायुसेवाको संख्या २८ छ।

स्पाइस जेटले नियमित व्यावसायिक उडान थालेपछि काठमाडौं-दिल्ली उडानमा प्रतिस्पर्धा बढी हवाई भाडादर सस्तिने विश्वास छ।

यो गन्तव्यमा हाल नेपाल वायुसेवा निगम, एयर इण्डिया र एयर इण्डिगोले नियमित व्यावसायिक उडान गर्दै आएका छन्। एयर इण्डियाले दैनिक ४ वटा, इण्डिगोले २ वटा र नेपाल वायुसेवा निगमले एउटा उडान गर्ने गरेका छन्।

स्पाइस जेटले १८९ सिट क्षमताको बोइङ ७३७-८०० सिरिजको जहाजमार्फत उडान गर्नेछ।

सन् १९८४ मा स्थापना भएको स्पाइस जेट २०२४ मा भारतकै छैटौं ठूलो वायुसेवा कम्पनीमा सुचिकृत भएको लो कस्ट वायुसेवा हो। कम्पनीले ६० वटा आन्तरिक र १३ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित व्यावसायिक उडान गर्दै आएको छ।