
काठमाडौं। नेपाली बजारमा सफल एसयूभी जापानिज ब्रान्ड निसानले म्याग्नाइटको नयाँ भर्सन ल्याएको छ। निसान गाडीको आधिकारिक विक्रेता पायोनियर मोटरकर्पले नयाँ भर्सनको म्याग्नाइट शुक्रबार नेपाल ल्याएको हो।
कम्पनीले गाडी सार्वजनिक गर्ने मितिबारे आधिकारिक जानकारी दिएको छैन।
नेपाली सडकमा २ हजारभन्दा धेरै निसान म्याग्नाइट गाडी संचालनमा छन्। अझै सुधारिएको भर्सनका रुपमा फेसलिफ्ट आएको कम्पनीले जनाएको छ।
गाडीको ग्रिल र क्रोम वरिपरि पुनः डिजाइन गरिएको फ्रन्ट बम्पर र एलईडी टेल लाइट समावेश छ। गाडीमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल र फ्रन्ट फग ल्याम्प नयाँ डिजाइनको छ।
इन्टेरियरमा पनि धेरै परिवर्तन गरिएको छ। यसको ड्यासबोर्ड, डोर प्याड र सेन्टर कन्सोल वरपर नयाँ ब्ल्याक र ओरेन्ज रङको थिम छ। ड्यासबोर्डको लेआउट, एसी भेन्ट्सको डिजाइन र स्टेयरिङ ह्विल प्रि-फेसलिफ्ट मोडलभन्दा एकदमै भिन्न देखिन्छ।

गाडीमा ८ इन्चको टचस्क्रिन, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ४ रङको एम्बियन्ट लाइटिङ र वायरलेस फोन चार्जर जस्ता फिचर छन्। सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो डिमिङ आईआरभीएम र ३६० डिग्री क्यामेरा उपलब्ध छ।
गाडीमा १ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल र १ लिटर टर्बो पेट्रोल इन्जिनको विकल्प छ। यसको १ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क उत्पादन गर्छ। १ लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ।
नेपाली बजारमा उपलब्ध हुने भेरिएन्ट र मूल्य पनि कम्पनीले सार्वजनिक गर्न बाँकी छ।