
काठमाडौं। चामलको खपतमा कमी आएपछि भाउ घट्न थालेको छ। बजारमा यतिबेला जिरा मसिनो, मोटा र लङ ग्रेन चामलको भाउ घटिरहेको छ।
अघिल्ला वर्षहरूमा आपूर्ति बढ्दा चामलको भाउ घट्ने गरेको थियो। यसपालि नयाँ धान आउने सिजन सकिएपनि बजारमा चामलको खपत घटेपछि भाउ लगातार घटिरहेको व्यवसायीले बताएका छन्।
व्यवसायीहरूका अनुसार बजारमा चामल बोरामा ५० देखि २०० रुपैयाँभन्दा बढीसम्म घटेको छ।
चितवनको दिनेश खाद्य मिलका संचालक पशुपति डल्लाकोटीले खपत कम भएका कारण चामलको भाउ बोरामा ५० देखि १०० रुपैयाँको दरले घटेको बताए। जिरा मसिनो चामल प्रति बोरामा १८०० देखि २१ सय रुपैयाँ मूल्यमा उपभोक्ताले खरिद गर्न सक्छन्।
ब्राण्ड अनुसार लङ ग्रेन चामलको भाउ प्रति बोरा २५०० देखि ३००० रुपैयाँसम्म कायम भएको छ। यसअघि लङ ग्रेनको भाउ बढेको थियो। गुणस्तर र ब्राण्ड अनुसार भने मूल्यमा फरक पर्ने व्यवसायी बताउँछन्।
‘नयाँ धान पर्याप्त उपलब्ध हुने समयमा बजारमा चामलको खपत छैन। धान र चामल मिलमै स्टक राखिरहनु पर्ने अवस्था छ। बिक्री हुँदैन भनेर भारतबाट आयात र स्थानीय बजारमा खरिद नगर्ने भन्ने हुँदैन,’ उनले भने।
उनका अनुसार यतिबेला चामलको मागमा ६० प्रतिशतले कमी आएको छ। दैनिक रुपमा चामल उपभोग गर्ने वर्ग विदेशिए पछि चामलको खपत कम भएको संचालक डल्लाकोटीले बताए।
त्यसमा पनि यतिबेला भारतबाट धान आयात गर्न सजिलो छ। तर बिक्री नहुने भएकोले पहिले भन्दा कम परिमाणमा आयात गरिरहेको उनले जानकारी दिए।
अधिकांश चामलको भाउ घटिरहेको बानेश्वरस्थित सुनादेवि किराना स्टोरका संचालक समर कठायतले बताए। ब्राण्डअनुसार चामलको भाउ पहिलेको तुलनामा सस्तो भएको छ। मनसुली चामलको भाउ प्रति बोरा १६ सयदेखि १७ सय रुपैयाँमा झरेको छ।
जिरा मसिनो चामल १९ सय रुपैयाँसम्ममा पाइन्छ। पहिले ३५ सय पर्ने लङ ग्रेन चामल अहिले ३१ सय देखि ३२ सय रुपैयाँमा पाइन थालेको छ।
यसअघि, राम्रो जिरा मसिनो चामलको भाउ बढेर २५ केजीको बोराको २८ सय पर्थ्यो। अहिले घटेर २२ सयसम्म आइपुगेको उनले जानकारी दिए।
उपभोक्ताले खरिद गर्दै आएका सबै खालका चामलको भाउ ब्राण्डअनुसार घटिरहेको उनको भनाए छ। उनी पनि हाल बजारमा खपत निकै कम भएको बताउँछन्।
संचालक कठायतले भने, ‘पहिले महिनामा ५० देखि ६० बोरा चामल बिक्री हुने गरेको थियो। अहिले महिनामा २० बोरा चामल बेच्न मुस्किल छ।’
नयाँ चामलको भाउ धेरै नबढ्ने भएकोले स्टक सल्टाउनका लागि अहिले केही मूल्य घटाएर बिक्री गर्न थालेका उनले बताए।
साल्ट ट्रेडिङ कर्पोरेसनका बजार प्रबन्धक प्रज्वल प्रधानका अनुसार नयाँ धान र भारतबाट आयात शुल्क हटेपछि स्थानीय बजारमा भाउ घट्दै छ। यतिबेला बजारको मागभन्दा धेरै धान र चामलको स्टक छ।
‘पहिले भाउ बढ्दा बजारमा माग धेरै थियो, यसपटक चामलको भाउ सस्तो हुँदा किन्ने मान्छे छैनन्,’ उनले भने, ‘चामल उद्योगमा धानको स्टक धेरै छ तर चामल उठाउने डिलर छैनन्।’
उनका अनुसार गुणस्तरअनुसार सोना मन्सुली चामलको १६५० देखि १८०० सय रुपैयाँ पर्छ। चाडपर्वको समयमा सोना मन्सुली चामल प्रतिबोरा २१०० सय रुपैयाँसम्ममा बिक्री भएको थियो।