ब्याजदर ओरालो लागे पनि संस्थागत निक्षेपकर्ताको लगानी मुद्दतीमै, कुन क्षेत्रमा कति?

आकाश बोगटी
२०८१ फागुन १ गते ०९:२७ | Feb 13, 2025
ब्याजदर ओरालो लागे पनि संस्थागत निक्षेपकर्ताको लगानी मुद्दतीमै, कुन क्षेत्रमा कति?

काठमाडौं। बीमा कम्पनी र ठूला संस्थागत निक्षेपकर्ताले आफ्नो कुल लगानीको ७४ प्रतिशत बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा राखेको पाइएको छ।

Tata
GBIME
NLIC

बैंकहरुले लागत कम गर्न निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएकामा बीमा कम्पनी, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष जस्ता ठूला निक्षेपकर्ताले अधिकांश पैसा मुद्दतीमा लगानी गरेका हुन्।

चालु आर्थिक वर्ष पुस मसान्तसम्म जीवन र निर्जीवन बीमा कम्पनी, सामाजिक सुरक्षा कोष र नागरिक लगानी कोषले कुल ११ खर्ब ३६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेका छन्। उनीहरुले ८ खर्ब ३६ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा र ३ खर्ब अन्य क्षेत्रमा लगानी गरेका हुन्।

जीवन बीमाको ८० प्रतिशत रकम मुद्दतीमा

सबैभन्दा धेरै लगानी जीवन बीमा कम्पनीहरुको छ। जीवन बीमा कम्पनीहरुले कुल ७ खर्ब ३ अर्ब रुपैयाँ लगानी गरेका छन्। त्यसमध्ये झन्डै ८० प्रतिशत अर्थात ५ खर्ब ६१ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा छ।

जीवन बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार सेयर, बन्ड र डिबेञ्चरमा ५४ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेका छन्।

जीवन बीमा कम्पनीले सूचीकृत कम्पनीको पब्लिक सेयरमा २५ अर्ब ७७ करोड र कृषि तथा पूर्वाधार क्षेत्रमा ८ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेका छन्।

निर्जीवन बीमाको दोस्रो रोजाइमा सेयर

निर्जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्म ६८ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेका छन्। त्यसमध्ये ७८ प्रतिशत अर्थात ५३ अर्ब ४५ करोड ६४ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा लगानी गरेका हुन्।

निर्जीवन बीमा कम्पनीले सेयरमा ४ अर्ब ३९ करोड, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, ऋणपत्र र डिबेञ्चरमा ३ अर्ब ५ करोड र कृषि तथा पूर्वाधार क्षेत्रमा १ अर्ब १५ करोड रुपैयाँ लगानी गरेका छन्।

लुम्बिनी सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चंकी क्षत्री भरपर्दो क्षेत्र नपाएका कारण लगानी विविधीकरण गर्न नसकेको बताउँछन्।

‘हामी लगानी विविधीकरण गर्न त चाहन्छौं। अधिकांश कम्पनीले लगानीको क्षेत्र खोजिरहेका छन्,’ उनले भने, ‘ढुक्क भएर लगानी गर्ने ठाउँ नपाएका कारण हाम्रो ठूलो पैसा मुद्दतीमा जम्मा भएको हो।’

नेपाल बीमा प्राधिकरणका कार्यरकारी निर्देशक सुशीलदेव सुवेदी बीमा कम्पनीहरुले पछिल्लो समय लगानी विविधीकरण गर्न थालेको तर त्यो अपेक्षाजनक नभएको बताए।

‘बीमा कम्पनीहरुलाई लगानीको क्षेत्र छुट्याइ सीमा तोकेर लगानी गर्न निर्देशिका नै जारी गरिएको छ। तर, त्यो अनुसार कम्पनीहरुले लगानी गरेका छैनन्,’ उनले भने, ‘पछिल्लो समय बैंकहरुको ब्याजदर घट्दै आइरहेको छ। अब बैंकमा मात्रै निर्भर हुँदा रिटर्न कम हुन थालेपछि अन्य क्षेत्रमा लगानी बढाउन थालेका छन्।’

जोखिम कम गर्न कम्पनीहरुलाई लगानी विविधीकरणका लागि प्राधिकरणले घचघच्याउने काम गरिरहेको उनको भनाइ छ।

लगानीका क्षेत्र जीवन बीमा कम्पनीको लगानी
(रु. लाखमा)
निर्जीवन बिमा कम्पनीको लगानी
(रु. लाखमा)
नेपाल सरकारको ऋणपत्रमा३०५३९५,२२१.७५
बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप५६१२११८५३४५६४.१७
सेयर २५७७०७४३,९०७.५६
वित्तीय अग्राधिकार सेयर, बन्ड, ऋणपत्र र डिबेञ्चर५४९६३५३०,५३६.४३
पब्लिक कम्पनीको बन्ड, ऋणपत्र र डिबेञ्चर१६८४८३१३,४६६.७१
कृषि तथा पूर्वाधार८९८५०११,५४१.०५
नागरिक लगानी कोष र म्युचल फण्ड २९२०६८,३३९.३७
इन्भेष्टमेन्ट कम्पनीको सेयर २५३७०१,२०७.५०
संस्थापक सेयर १५५१३२१५,६७४.९१
सूचीकृत नभएका पब्लिक कम्पनी१९२५३९५.६
अन्य लगानी९६१४६२२,९२९.५७
कूल लगानी७०३३४३९६८७४८४.६२
स्रोत : नेपाल बीमा प्राधिकरण

सामाजिक सुरक्षा कोषको ८४ प्रतिशत रकम बैंकमा

सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थाको मुद्दतीलाई सबैभन्दा सुरक्षित ठानेको छ। कोषले ८४ प्रतिशत लगानी मुद्दती निक्षेपमा गरेको छ।

सामाजिक सुरक्षा कोषको कूल लगानी ९९ अर्ब १९ करोड रहेकामा त्यसमध्ये ८३ अर्ब ९३ करोड मुद्दती, ३ अर्ब ७१ करोड ऋणपत्र, ५ अर्ब ४४ करोड ट्रेजरी बिल, १ अर्ब ९८ करोड विकास ऋणपत्र, ३ अर्ब ६८ करोड योगदानकर्ता सापटी र ४१ करोड रुपैयाँ म्युचुअल फण्डमा लगानी छ।

सामाजिक सुरक्षा कोषका सूचना अधिकारी कृष्ण अधिकारी कोषले मुद्दतीबाहेक विकास ऋणपत्र र ट्रेजरी बिलमा लगानी बढाइरहेको बताए।

‘अहिले हाम्रो अधिकांश लगानी मुद्दतीमा छ। पछिल्लो समय ब्याजदर निरन्तर घट्दै आएकाले विकास ऋणपत्र र ट्रेजरी बिलमा लगानी बढाउन थालेका छौं। विस्तारै लगानी विविधिकरण गर्दै जानेछौं,’ उनले भने, ‘परियोजनाको जोखिम मूल्यांकन गरी सहवित्तीकरण गरी आगाडि बढ्ने योजनामा छौं।’

मुद्दतीमा नागरिक लगानी कोष पछाडि

नागरिक लगानी कोषले भने मुद्दती निक्षेपमा अरुको भन्दा कम अर्थात कुल लगानीको ५१ प्रतिशत रकम राखेको छ। कोषको कूल लगानी २ खर्ब ६४ अर्ब रुपैयाँ रहेकामा मुद्दती निक्षेपपछि १ खर्ब ३८ अर्ब १५ करोड छ।

कोषले यसपछि धेरै लगानी सहभागी आवास कर्जामा गरेको छ। कोषले सबैभन्दा कम लगानी सरकारी ऋणपत्रमा गरेको छ।

नागरिक लगानी कोषको लगानीका क्षेत्रकुल लगानी
(रु.लाखमा)
सामाजिक सुरक्षा कोष लगानीका क्षेत्रकूल लगानी
(रु.लाखमा)
नेपाल सरकारको ऋणपत्र ५०००मुद्दती निक्षेप८३९३७०
मुद्दती निक्षेप१३८१५५९ऋणपत्र३७१८१
समयकालीन कर्जा२५८०१६ट्रेजरी बिल५४४८०
सहायक कम्पनी २७२४६विकास ऋणपत्र१९८९०
सहभागी आवास कर्जा५४९४७०योगदानकर्ता सापटी३६८००
ट्रेजरी बिल ११७५०३म्युचुअल फण्ड४१००
सेयर ३०८९७८
जम्मा२६४७७७३जम्मा९९१९२१
स्रोत : कोष