
विश्वका चार प्रमुख टेनिस ग्रान्ड स्लाम प्रतियोगितामा पर्छन् : अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन। यी केवल खेल मात्र होइनन्, अर्बौं डलरको व्यापार हुने प्रतियोगिता पनि हुन्।
वर्ल्ड एटलस को रिपोर्टलाई आधारमान्ने हो भने विश्वको चौथो धेरै हेरिने खेलमा पर्छ टेनिस। र, टेनिसको पनि माथिल्लो स्तरको प्रतियोगिता हो ग्राण्ड स्लाम। यी प्रतियोगिताले विश्वभरका लाखौं दर्शकहरूलाई आकर्षित गर्छ र यसमा अर्बौं डलरको कारोबार पनि हुने गर्छ। जसै ठूलो रेभेन्युको कुरा आउँछ यी ग्राण्ड स्लामहरूबीच प्रतिस्पर्धा र होडबाजी पनि उत्तिकै चल्छ।
यूएस ओपनले यही महिना सन् २०२५ बाट प्रतियोगितालाई १५ दिनसम्म लम्ब्याउने घोषणा गर्यो। यसको पछाडि स्पष्ट कारण पनि छ : थप ७० हजार बढी दर्शक तान्ने। तर, कारण यतिमात्र भने होइन। सन् २०२४ मा कीर्तिमानी संख्यामा दर्शकको उपस्थितिले पनि यूएस ओपनलाई हौस्याउन सहयोग गर्यो।
यी चारवटा ग्रान्ड स्लामहरूबीच आर्थिक रूपमा अगाडि बढ्नका लागि निरन्तर प्रतिस्पर्धा चल्नु नौलो होइन। प्रत्येक प्रतियोगिताले दर्शक, प्रायोजक र टेलिभिजन कम्पनीलाई तान्न नयाँ-नयाँ तरिकाहरू ल्याउँछन्। यसले गर्दा प्रतियोगिताहरूको स्तर निरन्तर बढ्दै गएको छ।
खेलको लागत हरेक वर्ष बढिरहेको हुन्छ। यस्तोमा महँगो खेल टेनिसका खेलाडीले पनि ठूलो पुरस्कार रकमको अपेक्षा गर्नु अस्वभाविक होइन। यसले अरु ग्राण्डस्लामसँगको प्रतिस्पर्धामा पनि दबाब बढ्दो छ।
यूएस ओपनले प्रतियोगिता लम्ब्याउने घोषणा गरिरहँदा निकट भविष्यमै अन्य प्रतियोगिता पनि अझै लम्बिन सक्ने देखिन्छ। अस्ट्रेलियन, फ्रेन्च, विम्बल्डन या यूएस ओपन अझै तीन हप्तासम्म प्रतियोगितालाई लम्ब्याउन चाहन्छन्।
तीन हप्ताको प्रतियोगिता आयोजनाका लागि योजना समेत बनिसकेको स्रोतको हवाला दिँदै एथलेटिकले लेखेको न्यूयोर्क टाइम्समा उल्लेख छ।
मेलबर्न, पेरिस या न्यूयोर्कमा हुने यससँग सम्बन्धित निर्णयले सिधा दबाब विश्वको सबैभन्दा पुरानो र सबैभन्दा धनी प्रमुख टेनिस प्रतियोगिता विम्बल्डनलाई पर्नेछ।
विम्बलडनले यूएस ओपनसँगै सबैभन्दा बढी आय अर्जन गर्ने ग्राण्ड स्लामको रूपमा आफ्नो स्थान कायम राखेको छ। दुवैले गत वर्ष लगभग ५०० मिलियन अमेरिकी डलर (७० अर्ब रुपैयाँ) आय गरेका छन्। अन्य ग्राण्ड स्लामहरूले प्रत्येक सिजनमा ३००-४०० मिलियन अमेरिकी डलर (४२ अर्बदेखि ५६ अर्ब रुपैयाँ) आय गर्छन्।
विम्बल्डनलाई अरु ग्राण्डस्लामलाई जस्तो अघि बढ्न सजिलो छैन। विम्बल्डनमा ग्रासकोर्ट थप्ने योजना चलिरहे पनि स्थानीयसँगको मतभेदका कारण यो त्यति सजिलो पनि देखिँदैन। यसले गर्दा विम्बलडनको विस्तारमा समस्या छ।

विम्बलडनले ३९ नयाँ कोर्ट निर्माण गर्ने योजना बनाएको छ, जसले यसको कुल क्षेत्रफल तीन गुणाले बढ्नेछ। तर, यो योजनाको स्थानीय समुदायबाटै तीव्र विरोध झेलिरहेको छ।
अल इङ्ग्ल्याण्ड लन टेनिस क्लबका अध्यक्ष डेब्बी जेभान्स विम्बल्डनलाई प्रतिस्पर्धामा रहन यसको विस्तार गर्न अत्यावश्यक भएको बताउँछन्।
एकातिर, ग्रान्ड स्लामहरू (अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन, र यूएस ओपन) मिलेर टेनिस जगतमा आफ्नो प्रभुत्व कायम राख्छन्। उनीहरूले पुरुष र महिला टेनिस टूर्सभन्दा माथि रहन सहकार्य पनि गर्छन्। यसमा उनीहरू उत्कृष्ट खेलाडी, मिडिया कभरेज र विश्वव्यापी दर्शकहरू केन्द्रित गर्न हरसम्भव प्रयास गर्छन्।
अर्कोतिर, यी टुर्नामेन्टबीच पनि आपसमा कडा प्रतिस्पर्धा चल्छ। उनीहरूले अटेन्सन तान्नदेखि टेलिभिजन नेटवर्कबाट धेरै पैसा कमाउन र लक्जरी ब्रान्डहरूसँग प्रायोजन सम्झौता गर्न प्रतिस्पर्धा गर्छन्।
समग्रमा ग्रान्ड स्लामहरूले मिलेर टेनिसमा आफ्नो दबदबा कायम त राख्छन्, तर उनीहरू एकआपसमा पनि उत्तिकै प्रतिस्पर्धा गर्छन्।
विगत केही वर्षमा अष्ट्रेलियन ओपन, यूएस ओपन र फ्रेन्च ओपनले आफ्नो खेलाडी सुविधाहरू व्यापक रूपमा सुधार गरेका छन्। उदाहरणका लागि छानोमा केन्द्रित भएर विस्तार थालेको अष्ट्रेलियन ओपनले खेलाडीहरूका लागि अत्याधुनिक विश्रामस्थल, उपचार केन्द्र र व्यायाम क्षेत्रहरू थपिसकेको छ।
अमेरिकी ओपनले नयाँ तीन-तले ‘प्लेयर परफर्मेन्स सेन्टर’ बनाउने योजना अघि सारेको छ। फ्रेन्च ओपनले पनि आफ्नो मुख्य कोर्टहरूलाई पुनःनिर्माण गरिसकेको छ।
फ्रेन्च ओपनले २०१९ मा तेस्रो मुख्य कोर्ट सिमोन मथिउमा थप्दै पूर्वाधार सुधार गरेको थियो। अर्कोतर्फ विम्बलडनले ८ हजार सिट क्षमताको नयाँ स्टेडियम बनाउने योजना अघि बढाएको छ।
मेलबर्न पार्कले पहिलो पटक छतभएको कोर्ट बनाएको थियो भने रोलाण्ड ग्यारोसले २००६ मै आफ्नो मुख्य ड्र १५ दिनको बनाइसकेको थियो। अष्ट्रेलियन ओपनको ‘ओपनिङ वीक’ मा १ लाख १७ हजार, अमेरिकी ओपनको ‘फ्यान वीक’ मा २ लाख १६ हजार र फ्रेन्च ओपनमा कुल ६ लाख ७५ हजार दर्शक पुगे। जबकी विम्बलडनमा ५ लाख २६ हजार दर्शक पुगे।
यसको मुख्य कारण भनेको विम्बलडनको मैदान अन्य ग्रान्ड स्लामहरू भन्दा सानो छ त्यसमा पनि अन्य प्रतियोगिताहरूमा बेलुकी सेसनलगायतको रणनीतिले दर्शक संख्या बढाउने रणनीति अपनाइएको छ। यस्तोमा वर्चस्वको लडाइमा विम्बल्डन पछि पर्न सक्ने देखिन्छ।