
काठमाडौं। बैंकको ब्याजदर ओरालो लाग्दा निर्जीवन बीमा कम्पनीहरुको ब्यालेन्स सिट नराम्ररी बिग्रिन पुगेको छ। प्रिमियम संकलन बढाउँदा पनि ब्याजदरमा गिरावटले निर्जीवन बीमा कम्पनीहरुको ब्यालेन्स सिट बिग्रिन पुगेको हो।जीवन बीमा कम्पनी भने नाफा बढाउन सफल भएका छन्।
चालु आर्थिक वर्ष ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ५९.३८ प्रतिशतले खुम्चिएको छ। निर्जीवन बीमा कम्पनीहरुले चालु वर्ष दोस्रो त्रैमाससम्म १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा गरेका छन्।
जबकि पोहोर ६ महिनामा उनीहरुले ३ अर्ब ९ करोड ७८ लाख रुपैयाँ नाफा गरेका थिए। आम्दानी घट्दा त्यसको असर निर्जीवन बीमा कम्पनीहरुको नाफामा परेको हो। ९ कम्पनीको नाफा खुम्चिएको छ। नाफा सबैभन्दा धेरै घट्नेमा नेपाल इन्स्योरेन्स कम्पनी छ। यसको खुद नाफा ८२.७२ प्रतिशतले घटेको हो।
नेसनल इन्स्योरेन्स र दि ओरियन्टल इनस्योरेन्सको नाफा ऋणात्मक छ।
सगरमाथा लुम्बिनी इस्योरेन्सका कार्यकारी अधिकृत (सीइओ) चंकी क्षत्री ब्याज आम्दानी खुम्चिंदा निर्जीवन बीमा कम्पनीहरुको नाफा प्रभावित भएको बताउँछन्।
‘बीमा कम्पनीहरुको अधिकांश लगानी मुद्दतीमा हुन्छ। तर पछिल्लो १५/१६ महिनादेखि बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन्,’ उनले भने, ‘निरन्तर घट्दै आइरहेको ब्याजदरले आम्दानी घटेपछि नाफा प्रभावित भएको हो।’
मुद्दतीमा निर्जीवन बीमा कम्पनीहरुको लगानी छोटो अवधिको हुने भएकाले ब्याजदर ओरालो लाग्दा अहिले आम्दानी प्रभावित भएको उनको भनाइ छ।
‘निर्जीवन बीमा कम्पनीले बढीमा २ वर्ष अवधिका लागि मुद्दतीमा लगानी गर्छन्। ब्याजदर निरन्तर घटेको लामो समय भयो। त्यसमा पनि छोटो अवधिको मुद्दतीको ब्याजदर कम छ। यसले गर्दा आम्दानी घट्न पुग्यो,’ सीइओ क्षत्रीले भने।
निर्जीवन बीमा | २०८१/०८२ नाफा रुपैयाँमा | २०८०/०८१ नाफा रुपैयाँमा | नाफा फरक (प्रतिशतमा) | २०८१/०८२ बीमा शुल्क (रुपैयाँमा) | २०८०/०८१ बीमा शुल्क (रुपैयाँमा) | बीमा शुल्क फरक (प्रतिशतमा) |
नेपाल इन्स्योरेन्स कम्पनी | ८६०२७७८५ | ४९७७९७७४० | -८२.७२ | ३२८३५६१२९ | २९६७४४७०३ | १०.६५ |
राष्ट्रिय बीमा | ३४६६८८५६० | ४२७२५८५८२ | -१८.८६ | १६०७६२४१६ | १३४१२१५६३ | १९.८६ |
हिमालयन एभरेष्ट | १५९८७४३७४ | २७३५८१४९२ | -४१.५६ | ८२८८५७५७७ | ४६९९१८४४३ | ७६.३८ |
युनाइटेड अजोड | ६९६८३६१७ | १३१८८७७५९ | -४७.१६ | ४४३७९५४०८ | ४४४०५७२७० | -०.०६ |
सिद्धार्थ प्रिमियम | २२५०००१४५ | ३६०९७६९३७ | -३७.६७ | ८०३९००५७४ | ७९२५७६००० | १.४३ |
नेको | १५६०३०२३० | २२१२६७०६७ | -२९.४८ | ६८६६५७६९९ | ६१६०५९७०१ | ११.४६ |
प्रभु | १२००४९८४५ | १०८६१२१२३ | १०.५३ | २८२५६०५९३ | ४२९२८९७९५ | -३४.१८ |
सगरमाथा लम्बिनी | ६५८५३७६९ | २००८४३९७४ | -६७.२१ | ७१९१२५६४९ | ७९५९३९३३३ | -९.६५ |
आइजीआइ प्रुडिन्सियल | १४३०९७२३० | १८३७९८६६१ | -२२.१४ | ५००८८५०३४ | ५१२३२६२७७ | -२.२३ |
शिखर | २५७३५२६३० | २५१११२६५४ | २.४८ | ६३७६२५२७० | ५५१४१२७७८ | १५.६३ |
एनएलजी इन्स्योरेन्स | ७४५०३६१३ | ८७५४४४५९ | -१४.९ | ४४३५६९६९३ | ३१३५९४६७० | ४१.४५ |
सानिमा जिआईसी | १२१६९८१६० | १०५५९१७४७ | १५.२५ | २८३१६९००६ | २९३४२६४९२ | -३.५ |
दि ओरियन्टल | -१९७५४१९५९ | २५८३१७८७३ | – | ४६७७७२४७८ | ४९३०१३६०१ | -५.१२ |
नेसनल | -३६९८६८५७४ | -१०७५५५६५ | – | २५२४४८०२९ | २२४३९९३९९ | १२.५ |
जम्मा | १२५८४४९४२५ | ३०९७८३५५०३ | -५९.३८ | ६८३९४८५५५५ | ६३६६८८००२५ | ७.४२ |
निर्जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्म आफ्नो कूल लगानी ६८ अर्ब ७४ करोड रुपैयाँमध्ये ७८ प्रतिशत अर्थात ५३ अर्ब ४५ करोड ६४ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा लगानी गरेका छन्।
३ कम्पनीले भने नाफा बढाएका छन्। शिखर, प्रभु र सानिमा जीआईसी कम्पनीले नाफा बढाएका हुन्। यो वर्ष पुस मसान्तसम्म सानिमा जीआईसी कम्पनीको नाफा सबैभन्दा धेरै १५.२५ प्रतिशतले बढेको छ। कम्पनीले ६ महिनामा १२ करोड १६ लाख रुपैयाँ नाफा गरेको छ। पोहोर ६ महिनामा कम्पनीको नाफा १० करोड ५५ लाख रुपैयाँ थियो।
निर्जीवन बीमा कम्पनीहरु खुद बीमा शुल्क (प्रिमियम संकलन) भने बढाउन सफल भएका छन्। कम्पनीहरुको प्रिमियम ७.४२ प्रतिशतले वृद्धि भएको छ।
६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ६ अर्ब ८३ करोड रुपैयाँ प्रिमियम शुल्क आर्जन गरेका छन्। पोहोर छ महिनामा उनीहरुले ६ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।
जीवन बीमा कम्पनीले बढाए नाफा
जीवन बीमा कम्पनीहरुले भने खुद नाफा १४.८८ प्रतिशतले बढाएका छन्। पोहोर ६ महिनामा ३ अर्ब ३ करोड रुपैयाँ नाफा गरेका जीवन बीमा कम्पनीहरुले यसपालि सोही अवधिमा नाफा रकम ३ अर्ब ४८ करोड रुपैयाँ पुर्याएका छन्।
यो वर्ष पुस मसान्तसम्म १२ वटा जीवन बीमा कम्पनीले नाफा बढाउँदा दुई कम्पनीको भने खुम्चिएको छ। सिटिजन लाइफको नाफा सबैभन्दा धेरै ८६.७८ प्रतिशतले वृद्धि भएको छ। यो कम्पनीले २३ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ। पोहोर ६ महिनामासिटिजन लाइफले १२ करोड ३६ लाख रुपैयाँ नाफा गरेको थियो।
राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफको नाफा भने खुम्चिएको छ।
जीवन बीमक संघका अध्यक्ष एवम् सिटिजन लाइफ इन्स्योरेन्सका सीइओ पोषकराज पौडेल मुद्दतीमा लगानी बढेकाले आम्दानी बढ्दा नाफामा सुधार भएको बताउँछन्।
‘पोहोरको तुलनामा नाफा बढेको छ। मुद्दती निक्षेपमा गरेको लगानी नै नाफा वृद्धिको मुख्य कारण हो। कम्पनीहरुले पुँजी बढाएअनुसार आम्दानी र नाफा गर्न सकेका छैनन्,’ उनले भने।
जीवन बीमा कम्पनीहरुले कूल ७ खर्ब ३ अर्ब रुपैयाँ लगानी गरेकामा त्यसमध्ये झन्डै ८० प्रतिशत अर्थात ५ खर्ब ६१ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा छ।
जीवन बीमा | २०८१/०८२ नाफा रुपैयाँमा | २०८०/०८१ नाफा रुपैयाँमा | नाफा फरक (प्रतिशतमा) | २०८१/०८२ बीमा शुल्क (रुपैयाँमा) | २०८०/०८१ बीमा शुल्क (रुपैयाँमा) | बीमा शुल्क फरक (प्रतिशतमा) |
नेसनल लाइफ | २७९१४०६८५ | २५५१५४९८० | ९.४ | ९४८९५८४६८० | ८३८७३६९२०१ | १३.१४ |
नेपाल लाइफ | ४६८१५०४८३ | ४२७७३७२७९ | ९.४५ | २२१२९३७९६८१ | १९७१२३७८६४० | १२.२६ |
लाइफ इन्स्योरेन्स कर्पोरेसन | १४१८३२६४६ | १३६६२५९०२ | ३.८१ | ९४०५१८९३६६ | ८६२४६०१२३२ | ९.०५ |
एशियन लाइफ | २५०३०७०६४ | १५९८९२७३९ | ५६.५५ | ४१७१३४८८८९ | ३५७९६३२२९० | १६.५३ |
हिमालयन लाइफ | ३७६२८२१२० | ३४६०६२८२० | ८.७३ | ८०६०९९०८४५ | ७८९२५०९६७० | २.१३ |
सूर्यज्योति लाइफ | १९६१३९१६० | १८९७४८१८२ | ३.३७ | ४९८१५९५९६१ | ४१५७१८१७१६ | १९.८३ |
प्रभु महालक्ष्मी | १८२५८६९२६ | १७६४२३६९८ | ३.४९ | २२६७५९४८५५ | १९९८५१४२४९ | १३.४६ |
सानिमा रिलायन्स लाइफ | २३१६८९७६१ | २१९७३०९३१ | ५.४४ | ३१११४७८०४८ | २६२०६१३३२२ | १८.७३ |
आइएमई लाइफ | २६७८६२९५५ | २३४७२५३५२ | १४.१२ | २३३९३८८६७२ | १९९५७६४७५५ | १७.२२ |
रिलायबल नेपाल | ३५०३९०४०२ | २३००७९५४७ | ५२.२९ | २२१८७२५१४२ | १७५२६१७६३० | २६.५९ |
सन नेपाल लाइफ | २८२२७९२७५ | ३२८४०५१३७ | -१४.०५ | २१८६२२२२२५ | १५८६४१९८२७ | ३७.८१ |
सिटिजन लाइफ | २३०९७१८२४ | १२३६५७२६१ | ८६.७८ | ३१८१६१४३७१ | २५७२१६३९३५ | २३.६९ |
मेट लाइफ | २२२५५९६६१ | १९३८५०२०७ | १४.८१ | २७४७१७४७७९ | २५८४८७४४२३ | ६.२८ |
राष्ट्रिय जीवन बीमा | ८०६५५२९ | १४२८८४३० | -४३.५५ | ५७५६७१४२५२ | ६४१४७९२३८१ | -१०.२६ |
जम्मा | ३४८८२५८४९१ | ३०३६३८२४६५ | १४.८८ | ८२०४७००१७६६ | ७३८७९४३३२७१ | ११.०६ |
जीवन बीमा कम्पनीहरुको प्रिमियम संकलन ११.०६ प्रतिशले बढेको छ। पोहोर ६ महिनामा जीवन बीमा कम्पनीहरुले ७३ अर्ब ८७ करोड प्रिमियम संकलन गरेकामा यसपालि ८२ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेका छन्।