
काठमाडौं। नेपाली स्टार्टअपहरूले भारतबाट उपलब्ध हुने पुँजी र परामर्श नेटवर्कबाट फाइदा लिने बाटो खुलेको छ। स्टार्टअपमा आधारित व्यवसायबीच सीमापार सहकार्य बढाउन आयोजित दोस्रो भारत-नेपाल स्टार्टअप कनेक्ट कार्यक्रममा यस विषयमा भारतीय इन्क्युवेटरहरुले सहकार्य बढाउन आह्वान गरेका हुन्।
आगामी अप्रिलमा नयाँ दिल्ली हुने स्टार्टअप महाकुम्भ (एसएमके) २०२५ तयारीका लागि काठमाडौंमा आयोजित दोस्रो भारत-नेपाल स्टार्टअप कनेक्ट कार्यक्रम विशेष बनेको छ। कार्यक्रमका सहभागीले नेपाल-भारत स्टार्टअपमा आधारित व्यवसायको सहकार्यमा जोड दिए।
भारत सरकारको आयोजनामा हुने एसएमकेमा नेपालबाट सहभागिता प्रवर्धनका लागि भारतीय राजदूतावासले काठमाडौंमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा नेपालको फोनपे र भारतको यूपीआई बीचको सहकार्य जस्तै धेरै काम मिलेर गर्न सकिने सम्भावनामाथि चर्चा भएको छ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालले स्टार्टअपहरूका लागि अवसर सिर्जना गर्दै नवीनतम आईटी प्रविधिहरू अँगाल्ने सन्दर्भमा गरिरहेको प्रगतिको बारेमा बताए।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतका युवाहरूमाझ स्टार्टअप संस्कृति कसरी मूलधार बनेको छ भन्नेमा प्रकाश पारे। भारतले डिजिटल प्रविधिहरूमा गरेको व्यापक अंगीकारलाई उनले जोड दिए। डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको विकासले डिजिटल परिवर्तनलाई बढावा दिएको उनले बताए।
कार्यक्रममा सीमापार स्टार्टअप सहकार्यका लागि अवसरहरूका विषयमा चर्चा भए। डिजिटल कनेक्टिभिटीलाई बढावा दिने क्रममा नेपालको फोनपे र भारतको यूपीआई बीचको सहकार्यका विषयमा बताइयो। गत मार्चमा सेवा सुरु भएदेखि नै ४ लाखभन्दा बढी व्यापारिक कारोबारहरूको जानकारी कार्यक्रममा दिइयो।
भारत सरकारको डीपीआइआइटीका सहसचिव संजीवले एसएमके २०२५ को बारेमा प्रस्तुति दिँदै उक्त कार्यक्रम कसरी स्टार्टअप क्षेत्रका लागि महत्त्वपूर्ण भएको भन्दै नेपाली स्टार्टअपहरूलाई सहभागिताका लागि आमन्त्रित गरे।
एसएमकेमा तीन हजारभन्दा बढी प्रदर्शक, १० हजार स्टार्टअप र एक हजार लगानीकर्ता, इन्क्युबेटर र एक्सेलेरेटरहरू समावेश हुने जानकारी उनले दिए। सम्मेलनमा ५० हजारभन्दा बढी व्यावसायिक आगन्तुकहरूको अपेक्षा गरिएको जनाइएको छ।
दिल्ली सम्मेलनमा अत्याधुनिक आविष्कार केन्द्रित क्षेत्रमा रहेका विषयहरु जस्तै डीटुसी, फिनटेक, एआई, डिपटेक, साइबर सुरक्षा, रक्षा र अन्तरिक्ष प्रविधि, कृषि प्रविधि, जलवायु प्रविधि/दिगोपना, बीटुबी र प्रिसिजन म्यानुफ्याक्चरिङ, गेमिङ, ई-स्पोर्ट र खेलकुद प्रविधि, बायोटेक र स्वास्थ्य सेवा र इन्क्यूबेटरहरू र एक्सेलेरेटरहरू सम्बन्धित विषयगत कक्षहरुमार्फत प्रदर्शन गरिने कार्यक्रम छ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आइडीआइ) का कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले नेपालमा स्टार्टअप नीतिबारे प्रस्तुति दिए। आइआइटी मद्रास प्रवर्तकका प्रमुख (न्यु इनीसीएटिभ्स) राजेन्द्र मुथाले आइआइटी मद्रास प्रवर्तकले इन्क्युबेसनलाई प्रवर्द्धन, प्रविधि विकास र उद्योगसँग साझेदारी निर्माण गरी इन्क्युबेसनलाई बढावा दिन कसरी मद्दत गरिरहेको छ भन्ने बारेमा जानकारी दिए। टेक एक्सआरका प्रमुख कार्यकारी अधिकृत प्रशान्त मिश्राले कसरी भर्चुअल रियालिटीले पर्यटनमा नयाँ अनुभव दिलाएको विषयमा प्रकाश पारे।
एफवान सफ्टका सहसंस्थापक असगर अलीले नेपालमा नागरिक सेवाहरू प्रदान गर्ने नागरिक एपको बारेमा जानकारी गराए भने खल्ती वालेटका संस्थापक अमित अग्रवालले नेपालमा डिजिटल भुक्तानी कसरी बढेको छ भन्ने जानकारी प्रस्तुत गरे। आइआइटी मद्रास प्रवर्तकका प्रमुख (न्यु इनीसीएटिभ्स) राजेन्द्र मुथाले आइआइटी मद्रासमा इन्क्यूबेट गरिएका अत्याधुनिक प्रविधि स्टार्टअपहरूको सफलताका कथाहरू साझा गरे।
दोस्रो प्यानल छलफल सामाजिक प्रभावका लागि डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरमा केन्द्रित थियो, जसमा वृद्धि सञ्जल प्रालिका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले नेपालका लागि डीपीआई निर्माण गर्ने बारे आफ्नो प्रयासहरू साझा गरे।
नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान प्रधानले नेपालपेजस्ता आफ्ना उत्पादनहरूको बारेमा विस्तृत रूपमा बताए। कम्प्युटर विज्ञानका प्राध्यापक र काठमाडौं विश्वविद्यालयका एसोसिएट डीन डा. बालकृष्ण बलले आफ्ना विद्यार्थीहरूलाई डिजिटल सार्वजनिक सामानहरू निर्माण गर्न प्रोत्साहित गर्ने केयुको प्रयासहरूबारे बताए। कार्यक्रममा स्कुलनेटका एभीपी हिमांशु तिवारीले भारतमा रहेको दीक्षाजस्ता शिक्षा डीपीआईको अनुभव साझा गरेका थिए।
कार्यक्रममा भारत सरकारको डीपीआइआइटी, स्टार्टअप इन्डिया, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ), नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनवाईईएफ), नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनी (एनएएस-आइटी), फिनटेक एलायन्स अफ नेपाल (एफएएन), रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएएन), नेपाल हब (एनहब), एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट), काठमाडौं विश्वविद्यालय र नेपाली स्टार्टअपका प्रतिनिधिहरू सहभागी थिए।