प्रचण्डले प्रशंसा गरेपछि प्रकाशशरणको आक्रोश: लगानी सम्मेलन ‘फ्लप’ गराउने तपाईं नै हैन?

बिजमाण्डू
२०८१ माघ २४ गते २१:२२ | Feb 6, 2025
प्रचण्डले प्रशंसा गरेपछि प्रकाशशरणको आक्रोश: लगानी सम्मेलन ‘फ्लप’ गराउने तपाईं नै हैन?

काठमाडौं। बिहीबारको सदनमा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले गरेको प्रगति सुनाउँदै अहिलेको सरकारको आलोचना गरे। अहिले महंगी बढेर आकाश छोएको भन्दै केपी ओली नेतृत्वको सरकारको विरोध गरे।

Tata
GBIME
NLIC

यसरी ओली नेतृत्वको सरकारको विरोध गर्दै गर्दा प्रचण्डले आफ्नो पालाका अर्थमन्त्री डा प्रकाशशरण महतको प्रशंसा गर्न भ्याए। ‘मैले सरकार छोड्दा मुद्रास्फीति ३.५७ प्रतिशत थियो, अहिले बढेर ५.४१ प्रतिशत पुगेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘मेरो नेतृत्वमा ३७७ अर्बले बढेको निक्षेप यो सरकार बनेपछि घटेर २३९ अर्बले मात्र बढेको छ।’

आफ्नो प्रशंसापछि विशेष समयमा बोल्दै कांग्रेस प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री महतले प्रचण्डको आलोचना गरे। ‘त्यति बेला अर्थमन्त्रीले सहयोग गरेन भन्ने अभिव्यक्ति दिनुभएको थियो। अहिले भने मेरै सरकारको पालामा आर्थिक प्रगति भएको थियो भनेर प्रस्तुत गर्नुभयो,’ महतले भने।

देश आर्थिक मन्दीमा गइरहेको बेला लगानी सम्मेलनको तयारी गर्दा असफल हुने गरी प्रचण्डले सरकार नै परिवर्तन गर्दा अहिलेको अवस्था आएको महतले आरोप लगाए। ‘वास्तवमा आर्थिक मन्दीमा देश थियो। त्यसमा लगानी सम्मेलन प्रस्ताव गरेका थियौं। सरकार चेन्ज भएपछि लगानी सम्मेलन फ्लप भयो। निरन्तरता दिएको भए ठूलै लगानी देशमा आउँदै थियो,’ महतले भने।

महतको योजनामा प्रचण्ड नेतृत्वको सरकारले लगानी सम्मेलनको तयारी गरेको थियो।

प्रचण्डले विपक्षीको धर्म निर्वाह गर्नुभन्दा पनि प्रधानमन्त्री पदले निरन्तरता नपाएको झोक सदनमा पोखेको महतको दाबी रह्यो। ‘विपक्षी दलको सिटमा बसेपछि सत्ताधारीलाई आलोचना गर्छन्। खाली विपक्षीको धर्म निर्वाह गर्नेभन्दा पनि प्रधानमन्त्री पदमा लगातार कांग्रेससँग सहकार्य गरे पनि एमालेसँग सहकार्य गरे पनि प्रधानमन्त्री प्रचण्डभन्दा बाहिर जाँदैन भन्ने थियो। त्यो समाप्ति भएपछिको आक्रोशजस्तो अभिव्यक्ति आयो,’ महतले भने।