शेर्पा मल दुई दशकपछि संरचना रुपान्तरणमा, ४५ करोड रुपैयाँ खर्चेर स्वरुप फेरिंदै

वसन्तराज उप्रेती
२०८१ माघ २४ गते १८:०० | Feb 6, 2025
शेर्पा मल दुई दशकपछि संरचना रुपान्तरणमा, ४५ करोड रुपैयाँ खर्चेर स्वरुप फेरिंदै

काठमाडौं। दरबारमार्गस्थित शेर्पा मल अब सपिङ कम्प्लेक्समा रुपान्तरण हुने भएको छ। पुरानो संरचना भत्काएर सपिङ कम्प्लेक्समा रुपान्तरण गर्न लागिएको हो।

Tata
GBIME
NLIC

यसका लागि ४५ करोड रुपैयाँ खर्च गर्न लागेको शेर्पा मलका प्रबन्ध निर्देशक सञ्जीव तुलाधरले जानकारी दिए।

‘हामीले ४ वर्ष अगाडि नै व्यावसायिक सपिङ कम्प्लेक्सको अवधारणा बनाएका थियौं। त्यही अवधारणा अनुसार अहिले पुरानो संरचना भत्काएर सपिङ कम्लेक्स बनाउने काम थालेका छौं,’ उनले भने, ‘केही आउटलेट भत्काउन सुरु गरिसकिएको छ। दुई साताभित्र मल परिसरमा रहेका सबै आउटलेट पूर्णरुपमा भत्काइनेछ।’

उनका अनुसार हार्ड रक क्याफेरहेको संरचना भने भत्काइने छैन। शेर्पा होटललाई १८ वर्षअघि शेर्पा मलमा परिणत गरिएको थियो।

बेसमेन्ट बाहेक ५ तल्लाको भवन बनाउन लागिएको हो। भवन ८० वटाभन्दा बढी आटलेट क्षमताको हुनेछ। दरबारमार्गमा पार्किङको समस्या भएकाले शेर्पा मलले सपिङ कम्प्लेक्स डबल लेयर पार्किङ सुविधासहितको बनाउन लागेको छ।

सपिङ कम्प्लेक्सको डिजाइन नेपाली कम्पनी निडल वेभले गरेको हो। कुल ६ रोपनी क्षेत्रफलमा रहेको शेर्पा मल परिसरमा ८० हजार स्क्वायर फिटमा कम्प्लेक्स तयार हुनेछ।

तुलाधरका अनुसार नयाँ कम्प्‍लेक्स दुई वर्षभित्र तयार गरिसक्ने तयारी छ। नयाँ व्यावसायिक भवन ब्राण्डेड आउटलेट, गाडीको शोरुम र कर्पोरेट अफिस प्रयोजनका लागि भाडामा दिइनेछ।

ग्राउण्ड फ्लोरदेखि दोस्रो तलामा ब्राण्डेड आउटलेट राख्ने योजना छ। करिब आधा दर्जन ब्राण्डेड आउटलेट आफैं सञ्चालन गर्ने तुलाधरको योजना छ। बाँकी दुई तला कर्पोरेट हाउसका लागि भाडामा दिने तुलाधरले जानकारी दिए।

शेर्पा मलमा यसअघि ६० वटा ब्राण्डेड आउटलेट सञ्चालनमा थिए।

सपिङ कम्प्लेक्स बनाउनका लागि पुरानो संरचना भत्काउन सुरु गरेदेखि नै स्पेसका लागि इन्क्वाइरी आउन थालिसकेको तुलाधरको दाबी छ।

‘आउटलेट पहिला पनि सञ्चालनमा थिए। तर कम्प्लेक्स बनेपछि रोड लेवलमै भिजिब्लिटी हुनेछ,’ तुलाधरले भने, ‘अहिलेबाटै इन्क्वाइरी आउन सुरु भइसकेको छ। सिनेमा हल राख्ने प्रस्ताव पनि आएको छ। हामीले के कतिका दरले भाडामा दिने भन्ने तय गर्नै बाँकी छ।’

दरबारमार्गमै अन्नपूर्ण स्क्वायरको निर्माण सुरु गरिएको सन्दर्भमा त्यहाँ आउने पर्यटकलाई समेत लक्षित गरेर शेर्पा मलले ब्राण्डेड आउटलेटसहितको कम्प्लेक्स बनाउन लागेको हो।

‘दरबारमार्गमा अन्नपूर्ण स्क्वायर बन्दैछ। त्यो संचालनमा आएपछि यो क्षेत्रमा पर्यटकीय गतिविधि बढ्नेछ। त्यसको फइदा हामीलाई पनि हुनेछ,’ तुलाधरले भने, ‘धेरै हिसाबले राम्रो सम्भावना देखेर कम्प्लेक्स बनाउन लागेका हौं। सपिङ कम्प्लेक्समा ग्राहकका लागि आवश्यक सबै सेवा सुविधा समावेश गर्नेछौं। कम्प्लेक्स संचालनमा आएपछि दरबार मार्ग भाइब्रेन्ट हुने विश्वास छ।’