
काठमाडौं। सरकारले नेपाल टेलिकमको सेयर संरचना हेरफेर गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अहिलेको संरचनाबाट टेलिकमको सुधार हुन नसक्ने निष्कर्षसहित सर्वसाधारणको सेयर हिस्सा बढाउने तयारी गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिकममा सर्वसाधारणको सेयर हिस्सा २५ प्रतिशत पुर्याउने बताएका छन्। उनले उनले मंगलबार टेलिकमको २१औं वार्षिकोत्सव समारोहमा सर्वसाधारणको सेयर हिस्सा यो वर्षभित्रै २५ प्रतिशत पुर्याउने बताए।
‘टेलिकम सुधारका लागि सुझाव दिन गठित समितिको प्रतिवेदन आउने क्रममा छ। यो वर्षभित्रै सुधारका काम अघि बढाउने तयारीमा छौं,’ उनले भने, ‘सर्वसाधारणको सेयर हिस्सा २५ प्रतिशत पुर्याइनेछ।’
१८ अर्ब रुपैयाँ चुक्ता पुँजीको नेपाल टेलिकममा कर्मचारीसहित सर्वसाधारणको सेयर हिस्सा अहिले ८.४७ प्रतिशत छ।

मन्त्री गुरुङले अहिलेकै स्थितिमा नेपाल टेलिकम चल्न नसक्ने भन्दै पुँजी संरचना फेरेर सुधारको विकल्प नरहेको बताए। ‘टेलिकमको इफिसिएन्सी घट्दै गएको देखिन्छ। अब समीक्षा गर्न ढिलाइ गर्न हुँदैन,’ उनले भने।
उनले टेलिकम सरकारका अरु कार्यालयजस्तै काममा ढिलासुस्ती गर्ने थलो बन्दै गएको भन्दै बद्लिँदो परिस्थितिमा बढ्दो प्रतिस्पर्धामा सोहीअनुसार क्षमता वृद्धि गर्न निर्देशन दिए।
‘सरकारी काम कहिले जाला घाम भनेजस्तो टेलिकममा पनि बढ्न थालेको छ। यो पाराले संस्था चल्दैन। निजी संस्थाजस्तो प्रोएक्टिभ हुनुपर्यो,’ उनले भने, ‘प्रतिस्पर्धी क्षमता बढाउन आवश्यक छ।’

उनले टेलिकमलाई कार्यशैली नफेरे एनसेलले पछि पार्नेतर्फ सचेत हुन भनेका छन्। ‘मान्छे धेरै जम्मा गरेर मात्रै काम हुँदैन रहेछ। एनसेलमा कति थोरै छन् कर्मचारी तर कति चाँडै उसले सेवा दिन्छ। त्यसैले इफिसियन्सी बढाउनुपर्यो। हाम्रोमा त्यस्तो छैन,’ उनले भने।
मन्त्री गुरुङले फोरजीको नेटवर्क विस्तारलाई आक्रामकरुपमा अघि बढाउन निर्देशन दिए। उनले सेवाको गुणस्तर र पूर्वाधार सुधारमा भइरहेको ढिलासुस्ती अब सह्य नहुने चेतावनी दिए। उनले मधेश प्रदेशमा टेलिकमको उपस्थिति कमजोर रहेको भन्दै आक्रोश पोखे।
उनले यो वर्षभित्र देशव्यापीरुपमा इगभर्नेन्स सुरु गर्ने भन्दै त्यसलाई आवश्यक पर्ने इन्टरनेट विस्तार गर्न भनेका छन्।