आइतबार राति दुई घण्टा किन गयो देशभर फाइबर इन्टरनेट ? यस्तो छ कारण

उन्नत सापकोटा
२०८१ माघ २१ गते १५:१७ | Feb 3, 2025
आइतबार राति दुई घण्टा किन गयो देशभर फाइबर इन्टरनेट ? यस्तो छ कारण


काठमाडौं। भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलसँग ब्यान्डविथ किनेका सबै इन्टरनेट सेवा प्रदायकहरुको सेवा आइतबार राति ९ बजेदेखि नेपालभर रोकियो। कतिपय सेवाग्राहीहरुले आफूकहाँ मात्रै इन्टरनेट गएको ठानेर राउटर ‘रिस्टार्ट’ गरे।

Tata
GBIME
NLIC

धेरै सेवा प्रदायकले आफ्नो मोबाइल एपबाटै राउटर रिस्टार्ट गर्ने सुविधा दिएपनि नेटवर्क नचलेकाले त्यो सम्भव भएन। 

अधिकांश प्रयोगकर्ताहरुले राउटरको ‘एडप्टर’ नै थुतेर रिस्टार्ट गरे, तैपनि चलेन। वर्ल्डलिंक, भायनेट, सुबिसु, क्लासिक टेकलगायत अधिकांश आइएसपीका ग्राहकहरुले सेवा प्रदायकलाई फोन घुमाउन थाले।

नेटवर्क डाउन भएका इन्टरनेट सेवा प्रदायकहरुको फोन लाइन व्यस्त बन्यो। फोन आउने क्रम नरोकिएपछि कतिपय सेवा प्रदायकहरुले फोन लाइन व्यस्त राखे।

इन्टरनेटमा देखिएको समस्या समाधान आफ्नो काबुभन्दा बाहिर रहेको चाल पाएका सेवा प्रदायकहरुले आफूले ब्यान्डविथ आयात गर्ने भारतीय अपस्ट्रिम सेवा प्रदायकहरुसँग गुहार मागे। अनि मात्रै उनीहरुले समस्याको कारण थाहा पाए।

भारतको बिहार र उत्तर प्रदेश राज्यका विभिन्न ठाउँमा नेपालतर्फ आउने फाइबर चुँडिएकाले ब्यान्डविथको आपूर्ति आधाले घट्न पुगेको थियो। तर, के कारणले ती फाइबर चुँडिएको भन्ने तथ्य नेपाली सेवा प्रदायकहरुलाई भारतीय पक्षले अझै जानकारी गराएको छैन।

एक इन्टरनेट सेवा प्रदायकका प्राविधिक अधिकृतले इन्टरनेट शतप्रतिशत नभएर ‘पार्सियल’रुपमा डाउन भएको जानकारी दिए।

‘पिक आवरमा इन्टरनेट डाउन हुन पुग्यो। जसका कारण उपलब्ध बाँकी ५० प्रतिशत ब्यान्डविथले चाप धान्न सकेन। पिक आवरमा ५० प्रतिशत क्षमता भनेको काम गर्‍या/नगर्‍या बराबर हुन्छ। भारततर्फबाटै ब्यान्डविथको ट्राफिक नआएपछि उतै समस्या रहेछ भनेर समाधानका लागि पहल गर्‍यौं,’ ती प्राविधिकले बिजमाण्डूसँग भने, ‘भारतीय पक्षले पनि आफ्नैतिर समस्या भएको कुरा हामीसँग गर्‍यो। ३० मिनेट, ४५ मिनेट, १ घण्टामा सिस्टम रेस्टोरेसन हुन्छ भन्दै समय मागिरहेको थियो। तर, नेटवर्क फर्काउन लगभग २ घण्टा लाग्यो।’

यसअघि पनि भारततर्फबाट नेपाल आउने ब्यान्डविथको पूर्वाधारमा क्षति पुगेका कारण पटकपटक इन्टरनेट सेवा बन्द भएका घटना छन्। ‘आइतबारको समस्या नितान्त प्राविधिक हो, बक्यौता नदिएकाले ब्यान्डविथ काटिएको होइन,’ एक इन्टरनेट कम्पनीका सञ्चालकले भने।

आइतबार राति नेपालतर्फ इन्टरनेट नचल्नुको मुख्य कारण बिहार र उत्तर प्रदेशमा बिछ्याइएको एयरटेलकै पूर्वाधारमा क्षति पुग्नु हो। एयरटेलको पूर्वाधार प्रयोग गरेर भारतका अरु अपरेटर टाटालगायतले नेपालतर्फ भित्र्याइरहेको ब्यान्डविथमा पनि आइतबार समस्या देखिएको थियो। आइतबार राति बिहार र युपीका केही क्षेत्रमासमेत इन्टरनेट सेवा अवरुद्ध बनेको थियो।

‘एयरटेलले नेपाललाई भनेर ब्यान्डविथका लागि डेडिकेटेड पूर्वाधार बनाएको छैन। उसले भारतीय ग्राहकहरुलाई पनि त्यही पूर्वाधारमार्फत फाइबर इन्टरनेट पुर्‍याइरहेको छ। त्यो पूर्वाधारमा जोडिएका सबै लाइन र त्यसमा आश्रित ग्राहक प्रभावित बने,’ ती प्राविधिकले भने।

नेपालमा कुल ब्यान्डविथ खपतको ६०-७० प्रतिशत एयरटेलकै हिस्सा छ। बाँकी ब्यान्डविथ भने टाटा, भोडाफोन, जिओलगायतको हो।

‘झण्डै ७० प्रतिशत ब्यान्डविथ आउने पूर्वाधारमा समस्या आउँदा चाप धान्ने कुरै भएन,’ ती प्राविधिकले भने।

भारतबाट सबैभन्दा धेरै ब्यान्डविथको हिस्सा भैरहवा र वीरगंज नाकाबाट भित्रिन्छ। त्यसमध्ये पनि करिब ७० प्रतिशत भैरहवाबाटै भित्रिने गर्छ। ब्याकअपका लागि ढल्केबर, विराटनगर, नेपालगंज नाका पनि प्रयोग हुन्छन्। तर, ब्यान्डविथ भित्रिने लाइफलाइन भनेको भैरहवा र वीरगंज हो।

नेपाल टेलिकम र मर्कन्टाइलले चीनबाट ज्यादै थोरै मात्रामा ब्यान्डविथ भित्र्याइरहे पनि त्यसले माग पूर्ति गर्दैन। चीनतर्फबाट आउने ब्यान्डविथ भारतको तुलनामा महँगो छ। तर गुणस्तरीय छैन। हिमाली भेग भएकाले समस्या पनि धेरै आउने भएकाले इन्टरनेट सेवा प्रदायकहरुले भारतबाटै अधिकतम ब्यान्डविथ ल्याइरहेका छन्। 

नेपाली उपभोक्ताहरुले खपत गर्ने अधिकांश कन्टेन्ट प्राय: भारतको दिल्ली, मुम्बई र चेन्नईमा छ। चीनबाट सिधै आउँदैन, हङकङ लग्नुपर्छ। हङकङबाट ल्याउँदा ल्याटेन्सी धेरै बढ्छ। ‘क्रिटिकल कम्युनिकेसनका लागि लिनु आफ्नो ठाउँमा छ। तर, शतप्रतिशत ब्यान्डविथ चीनबाट ल्याउन सम्भव छैन,’ ती प्राविधिकले भने।  

नेपालका इन्टरनेट सेवा प्रदायकले एयरटेलको पूर्वाधारमा भर परेर ब्यान्डविथ ल्याइरहेका छन्। विकल्पको रुपमा अर्को पूर्वाधार प्राविधिकरुपमा सम्भव भएपनि खर्चका हिसाबले दोब्बर पर्ने भएकाले त्यो सम्भव नहुने एक सञ्चालक बताउँछन्।