
काठमाडौं। भारतको दूरसञ्चार क्षेत्रको नियामक टेलिकम रेगुलेटरी अथोरिटी अफ इन्डिया (टीआरएआई)ले प्रिपेड सिमकार्ड सक्रिय राख्न हरेक महिना न्यूनतम २० भारतीय रुपैयाँ ब्यालेन्स हुनुपर्ने नियम ल्याएको छ। मासिकरुपमा २० रुपैयाँभन्दा कम ब्यालेन्स भएन भने सिमकार्ड एक्टिभेट हुने छैन।
टीआरएआईले अटोमेटिक रिटेन्सन स्किमअन्तर्गत नयाँ नियम ल्याएको छ। जसलाई भारतका सबै टेलिकम अपरेटरहरुले कार्यान्वयन गर्नुपर्छ।
यदि प्रयोगकर्तासँग कुनै पनि भारतीय कम्पनीको सिमकार्ड छ भने त्यसलाई सक्रिय राख्न २० रुपैयाँको रिचार्ज गर्नुपर्छ। यसो गरे सिमकार्डको समयसीमा (भ्यालिडिटी) ३० दिन पाइन्छ। कुनै पनि प्रिपेड सिमकार्ड ९० दिनसम्म पनि निष्क्रिय रहेमा २० रुपैयाँको रिचार्जमा अर्को ३० दिनको म्यादसहित एक्टिभेट हुन्छ। यदि २० रुपैयाँ पनि ब्यालेन्स छैन वा त्यतिको रिचार्ज गरिएन भने सिमकार्ड निष्क्रिय हुने नियम ल्याइएको छ।
यो नियमले उपभोक्ताहरुलाई राहत पुग्ने विश्वास गरिएको छ। प्रयोगकर्ताहरुले रिचार्जबारे पर्याप्त योजना बनाइ तत्कालै लाइन काटिने अवस्थाबाट मुक्त हुने बुझाइ भारत सरकारको छ। यसले पटकपटक सिमकार्ड फेर्न निरुत्साहित गर्दै प्रयोगकर्तामा पर्ने आर्थिक भार घटाउँदै लैजाने अनुमान गरिएको छ।
यसअघि टीआरआइएले जारी गरेको नियमअनुसार प्रयोगकर्ताहरुले न्यूनतम भारु १९९ रिचार्ज गराउनुपर्थ्यो। रिचार्ज गरेपछि मात्रै सिमकार्ड एक्टिभेट हुन्थ्यो। तर, सिमकार्डको म्याद जम्मा २८ दिनको हुन्थ्यो। यसका साथै टेलिकम अपरेटरहरुले अरु केही सस्ता किसिमका विकल्प पनि ल्याएका थिए।
भारतमा सबैभन्दा बढी भ्यालिडिटीसहितको सिमकार्ड सरकारी स्वामित्वको बीएसएनएलले बेचिरहेको छ। कुनै रिचार्जबिना सिमकार्ड १६५ दिनसम्म सक्रिय रहन्छ।
नेपालका टेलिकम अपरेटरहरुले आम्दानी घुम्दै गएको भन्दै रिचार्ज र भ्यालिडिटीको सन्दर्भमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले समेत सोच्नुपर्ने बेला आइसकेको बताउन थालेका छन्। भारतको अभ्यासलाई समीक्षा गर्दै नेपालमा पनि यससम्बन्धमा समयसापेक्ष नीति लागू गर्नुपर्ने उनीहरुको माग छ।