
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथिको प्रतिबन्ध हटाउने आफ्नो वाचा पूरा गरेका छन्। सपथपछि कार्यकारी निर्णयहरुमा हस्ताक्षर गर्ने क्रमममा ट्रम्पले टिकटकमाथिको प्रतिबन्धलाई ७५ दिनसम्म रोकेका हुन्।
ट्रम्पको यो निर्णयसँगै निवर्तमान राष्ट्रपति जो बाइडेनले टिकटक लक्षित गरेर लागू गरेको कानुन मान्न अमेरिकाको कानुन मन्त्रालय अब बाध्य हुने छैन। सो कानुन अनुसार जनवरी १९ सम्म टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्ने वा प्रतिबन्ध सामना गर्नुपर्ने थियो।
गत आइतबार टिकटक अमेरिकाभर संचालनमा रोकिएको थियो। तर, ट्रम्पको वाचा पनि फेरि टिकटक संचालनमा आएको थियो। ट्रम्पले अमेरिकामा वाक स्वतन्त्रता रहेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउन नहुने बताउँदै आएका छन्। यद्यपि, पहिलो कार्यकालमा भने ट्रम्पले नै टिकटकमाथि प्रतिबन्ध लगाएका थिए।
ट्रम्पले हाललाई टिकटकमाथिको प्रतिबन्ध ७५ दिनलाई फुकुवा गरे पनि यसको भविष्य अझै सुनिश्चित भएको छैन।
चीनले टिकटकको माध्यमबाट अमेरिकी बालबालिकाको सूचना लिइरहे त्यो ठूलो समस्या हुने उनको जिकिर थियो। उनले टिकटक अझै बन्द हुन सक्ने वा अमेरिकामै बिक्री गर्ने प्रावधान अझै खुला रहेको स्पष्ट पारेका छन्।