बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्न कम्पनीहरुकै अरुचि, किन आकर्षित भएनन्?

सुनिल कुँवर
२०८१ माघ ६ गते १२:५६ | Jan 19, 2025
बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्न कम्पनीहरुकै अरुचि, किन आकर्षित भएनन्?

काठमाडौं। सेयरधनीलाई उच्च प्रतिफल दिइरहेका कम्पनी बजारमा भित्र्याउन ल्याइएको आइपीओ निष्कासनको विधि बुक बिल्डिङ निष्प्रभावी बनेको छ।

Tata
GBIME
NLIC

संस्थागत लगानीकर्तामाझ बिक्री गरेर बोलकबोलबाट मूल्य तय गरिने बुक बिल्डिङबाट आइपीओ निष्कासनका लागि कम्पनीहरु नै तयार नहुँदा निष्प्रभावी बन्न पुगेको हो।

सेबोनले धितोपत्र दर्ता तथा निष्कासन नियमावली,२०७६ जारी गरेर बुक बिल्डिङ विधि ल्याएको थियो। तर, बुक बिल्डिङ विधिमार्फत आइपीओ ल्याउन कम्पनीहरुले नै रुचि देखाएका छैनन्। बुक बिल्डिङ विधिमार्फत पाँच वर्षमा जम्मा एउटा कम्पनीले मात्रै आइपीओ निष्कासन गरेको छ।

सेबोनमा अहिले आइपीओ निष्कासनका लागि ८१ कम्पनीको आवेदन रहेकामा एउटाले पनि बुक बिल्डिङ विधि रोजेका छैनन्। आइपीओको पाइपलाइनमा उत्पादन तथा प्रशोधन क्षेत्रकै एक दर्जन कम्पनी रहेकामा धेरैले प्रिमियम मूल्यमा निष्कासनका लागि अनुमति मागेका छन्।

बुक बिल्डिङ सेयर मूल्य निर्धारण गर्ने वैज्ञानिक विधि भए पनि लागत र समयका कारण कम्पनीहरु आकर्षित नभएको नेपाल धितोपत्र बोर्ड (सेबोन)को बुझाइ छ।

‘कम्पनीहरुको मूल्य निर्धारण गर्न अन्तर्राष्ट्रियरुपमा प्रचलित वैज्ञानिक विधि हो बुक बिल्डिङ। तर, यहाँ झन्झटिलो प्रक्रिया र धेरै लागतका कारण कम्पनीहरुको चासोमा परेको देखिएन,’ सेबोनका एक अधिकृतले भने, ‘आइपीओ निष्कासनका लागि आवेदन दिएका कम्पनीमा बुक बिल्डिङप्रति रुचि नै देखिंदैन।’

बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्ने सर्वोत्तम सिमेन्ट एक मात्र कम्पनी हो। तर, यसको आइपीओ निष्कासन विवादमुक्त रहेन। खासगरी सेबोनका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना बुक बिल्डिङ प्रक्रिया कार्यान्वयनमा नल्याउँदै विवादत बन्न पुगे। उनले सेयर कारोबारमा संलग्न भएका कारण पद नै गुमाउनुपर्‍यो।

सर्वोत्तमले आइपीओ निष्कासनका लागि पनि लामो समय कुर्नुपरेको थियो। सर्वोत्तमपछि रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमार्फत आइपीओ निष्कासनको प्रक्रिया अघि बढाएकामा विवादकै कारण रोकिएको छ।

कम्पनीले पोहोर संस्थागत लगानीकर्तामाझ सेयर बिक्री गरेकामा वित्तीय विवरण म्यानुपुलेसनका कारण दोस्रो चरणको आइपीओ बिक्री गर्न अनुमति पाएको छैन।

नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकमको स्रोत नै उल्लेख नगरी उच्च नेटवर्थ देखाएर महँगो मूल्यमा संस्थागत लगानीकर्तालाई बिक्री गरेकाले विवादित बनेको हो।

बुक बिल्डिङमा आइपीओको ४० प्रतिशत संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सर्वसाधारणमा बिक्री गर्नुपर्छ।

संस्थागत लगानीकर्तामा बिक्री गरिसकेपछि कायम मूल्यको १० प्रतिशत घटाएर सर्वसाधारणमा बिक्री गर्नुपर्ने व्यवस्था छ।

संस्थागत लगानीकर्तालाई बिक्री गरेपछि तय हुने मूल्यभन्दा सिधै प्रिमियम मूल्य तोकेर बजारमा प्रवेश गर्नु कम्पनीहरुका लागि सजिलो देखिएका कारण बुक बिल्डिङमा चासो नदिएको जानकारहरु बताउँछन्।

‘बुक बिल्डिङमार्फत आइपीओ निष्कासन सुरुदेखि नै विवादित बन्यो। यसले कम्पनीहरुलाई आफ्नो सेयर निष्कासन विवादित बनेर धेरै समय लाग्छ कि भन्ने परेको छ,’ एनएमबि क्यापिटलका सीइओ दिपेशकुमार वैद्यले भने, ‘सेबोनले कम्पनीहरुलाई बुक बिल्डिङ प्रक्रियाबारे स्पष्ट रुपमा बुझाइदिनुपर्छ। अहिले उनीहरुलाई धेरै जटिल प्रक्रिया हो कि भन्ने परेको छ। यसबाट आइपीओ निष्कासनका लागि आवेदन दिएका कम्पनीहरुको आइपीओ रोकिएपछि कम्पनीहरुका लागि थप अन्योल सिर्जना भयो। त्यसलाई सेबोनले सहजीकरण गर्नुपर्छ।’

सेबोनले बुक बिल्डिङको आइपीओमा केही विशेष व्यवस्था गरेको छ। बुक बिल्डिङमा आइपीओ ल्याउनका लागि लगातार तीन वर्षदेखि खुद नाफामा रहेको हुनुपर्छ। कम्पनीको प्रति सेयर नेटवर्थ प्रति सेयर चुक्ता पुँजीको कम्तीमा १५० प्रतिशत रहेको हुनुपर्ने व्यवस्था छ।

कोभिडपछि अर्थतन्त्र सुस्त हुँदा कम्पनीहरुको व्यापार बढेको छैन। यसले उनीहरुको वित्तीय अवस्था खस्किएको छ। बिजनेस घटेका कारण बजारमा बलियो मूल्य प्राप्त गर्न नसक्ने देखिएपछि कम्पनीहरुले बुक बिल्डिङमा जाने आँट गर्न नसकेको जानकारहरु बताउँछन्।

‘उच्च नाफा कमाइरहेका कम्पनी अंकित मूल्यमै बजारमा आउँदैनन् भन्ने विश्लेषणसहित बुक बिल्डिङ ल्याइएको हो। आइपीओ निष्कासनका लागि यो विधि उत्तम हो,’ सेबोनका पूर्वकार्यकारी निर्देशक निरज गिरीले भने, ‘तर हाम्रोमा कम्पनीहरु आकर्षित हुन सकेनन्। सेबोनले यसको कारण खोजी गरी समस्या समाधान गर्नुपर्छ।’

सेबोनले बुक बिल्डिङ विवादित भएर कम्पनीहरु आकर्षित नभएपछि धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धी नियमावली संशोधन गर्न लागेको छ। कम्पनीहरुलाई बुक बिल्डिङमा प्रोत्साहित गर्ने गरी नियमावली संशोधन गर्ने तयारी रहेको सेबोनका कर्मचारीहरुको भनाइ छ।