प्रतिबन्धका कारण अमेरिकामा टिकटक अफलाइन, अब खुल्ने नखुल्ने ट्रम्प प्रशासनको हातमा

बिजमाण्डू
२०८१ माघ ६ गते १२:४२ | Jan 19, 2025
प्रतिबन्धका कारण अमेरिकामा टिकटक अफलाइन, अब खुल्ने नखुल्ने ट्रम्प प्रशासनको हातमा
Photo: AP


अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघिदेखि नै टिकटक गए राति अफलाइन भएको छ। अमेरिकी प्रयोगकर्ताहरूले एप खोल्दा देखिएको सन्देशमा ‘टिकटक उपलब्ध छैन’ भन्ने उल्लेख थियो।

Tata
GBIME
NLIC

कम्पनीले राष्ट्रपतिमा पुनः निर्वाचित हुने डोनाल्ड ट्रम्पसँग सहकार्य गरेर समस्या समाधान गर्ने अपेक्षा राखेको जनाएको छ। टिकटकले चेतावनी दिँदै जो बाइडेन प्रशासनले प्रतिबन्ध नलाग्ने सुनिश्चितता नगरे आइतबारबाट ‘अन्धकारमय’ हुने सम्भावना रहेको बताएको थियो।

राष्ट्रपतिमा पुनः निर्वाचित डोनाल्ड ट्रम्पले सोमबार पद ग्रहण गरेपछि टिकटकलाई प्रतिबन्धबाट ९० दिनको थप समय दिने सम्भावना रहेको बताएका छन्। उनले ‘सोमबार निर्णय गर्न सकिने’ बताएका छन्।

टिकटक एप एप्पल र गुगलको अमेरिकी एपस्टोरबाट हटाइनुका साथै टिकटक डटकममा पनि भिडियोहरू नदेखिएको प्रयोग गर्दाहरूले बताएका छन्।

अमेरिकाको सर्वोच्च अदालतले गएको वर्ष अप्रिलमा पारित कानुनलाई शुक्रबार समर्थन गरेको थियो। यो कानुनअनुसार टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्सले आइतबारसम्म एप बिक्री नगरे टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाइनेछ। टिकटकले यो कानुनले १७ करोड अमेरिकी प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन गर्ने दाबी गरेको छ।

टिकटकका प्रमुख कार्यकारी शाउ जी चिउले ट्रम्पलाई धन्यवाद दिंदै समाधान खोज्न प्रतिबद्ध रहेको बताएका छन्। सोमबार ट्रम्पको पद बहालीमा चिउको उपस्थिति रहने अपेक्षा गरिएको छ।

टिकटक अफलाइन हुनुअघि कन्टेन्ट क्रियटरहरूले आफ्ना फलोअरहरूसँग बिदाई माग्दै भिडियो पोस्ट गरेका थिए। कन्टेन्ट क्रियटरहरूले टिकटक बन्द हुँदा आफ्नो आयमा ठूलो गिरावट आउने जनाएका छन्।

टिकटकको अस्थायी बन्दको घोषणा गर्दै कम्पनीले शनिबार सेवा चाँडै पुनर्स्थापना गर्न प्रयासरत रहेको सन्देश दिएको थियो।

टिकटकमाथि प्रतिबन्ध लागेसँगै त्यसबाट फाइदा उठाउन इन्स्टाग्रामले रणनीति सुरु गरिसकेको छ। टिकटकको बजार खोस्न इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरुलाई तीन मिनेटसम्मको रिल अपलोड गर्ने सुविधा ल्याइसकेको छ। यसअघि ९० सेकेन्डको सर्ट फर्म भिडियो मात्रै अपलोड गर्न मिल्थ्यो। टिकटक प्रतिबन्धको फाइदा युट्युबलाई समेत हुने चर्चा छ।