
काठमाडौं। ‘लोक्याप फर्मुला’ विफल भएपछि केही संगठित समूहले वित्तीयरुपमा संकटमा परेका कम्पनीहरुको सेयर मूल्य उचाल्न मर्जरको हल्ला व्यापक बनाएका छन्।
यस्तो हल्लाको आधारमा कमजोर पुँजी कोष र खराब कर्जाको भारबाट थलिएका कम्पनीहरुको मूल्य अप्राकृतिकरूपमा उचाल्न थालिएको छ।
भदौयता बजार २७००-२४०० विन्दुमा रहे पनि कर्जा सस्तो हुँदा समेत लगानीकर्ताको सक्रियता कमजोर छ। तरलता र ब्याजदरजस्ता परम्परागत साधनले नेप्से बढाउन नसकेपछि, मर्जरको हल्ला बजारमा नयाँ ‘ट्रिगर’ बनेको छ।
सामाजिक सञ्जालमा मूल्य उचाल्ने गिरोहले जनमत खडा गरी सामान्य लगानीकर्तालाई प्रभावित पार्ने प्रयास गरेका छन्। यस्ता हल्लालाई कतिपय सञ्चार माध्यमले समाचार बनाउँदा मूल्य अस्वाभाविक वृद्धिमा योगदान पुगेको छ।
अर्थतन्त्रमा मन्दीको अवस्था कायम रहँदा वाणिज्य बैंकहरुमा समेत निष्क्रिय कर्जा वृद्धि भएको छ। यसै कारण ठूला बैंकहरुकै बीच मर्जरको हल्ला चलिरहेको छ।
कमजोर वित्तीय अवस्था भएका साना बैंक तथा वित्तीय संस्थाले साधारण सभामा मर्जर प्रस्ताव राखेकै आधारमा कतिपयले ठूलो संस्थासँग मर्ज हुन लागेका रुपमा प्रचार गरिरहेका छन्।
भदौयता बजार २७००-२४०० विन्दुमा छ। कर्जाकै ब्याज एकल अंकमा छ। बैंकहरुले बोलाएरै ऋण दिन खोज्दा समेत लिने ग्राहक भेटिरहेका छैनन्। नेप्से बढाउने पुरानो सिद्धान्त तरलता र सस्तो ब्याजदरले पनि फेल खाएको छ।
‘बजारमा खेल्ने केही कारण नपाएपछि नयाँ-नयाँ फण्डा ल्याइरहेका हुन्छन्। ह्विममा चल्ने बजारमा खेलाडीहरुले चलाखी गर्न खोजिरहन्छन्। कहिले सरकार फेरिने त कहिले वित्तीय क्षेत्रमा मर्जरको हल्ला चलाउँछन्,’ एक विश्लेषकले भने, ‘यस्तो हल्लाले केहीलाई फाइदा गरे पनि बजारमा सधैं काम गर्छ भन्ने हुँदैन।’
गत असारमा सत्ता समीकरण फेरिंदा नेप्से लगातार उकालो लाग्यो। अर्थमन्त्री बन्ने पात्र निश्चित नहुँदै विष्णु पौडेलले अर्थ मन्त्रालयको नेतृत्व गर्ने हल्ला लगानीकर्ता माझ पुगिसकेको थियो। त्यही हल्लाले उनी अर्थमन्त्री नियुक्त हुनुअघि नै नेप्से बुलिस देखिन थाल्यो।
त्यतिखेर आधारभूत सूचक नै स्वाभाविक नभएका कम्पनीको मूल्यमा उलटफेर देखियो। चलखेल गरेर लोक्याप कम्पनीको मूल्य उचाल्नेहरु मालामाल भए। तर हल्लाकै पछि लाग्नेहरुको रुवाबासी चल्यो।
बजारमा लोक्यापको फण्डा डेढ महिनान्दा धेरै चल्न सकेन। नेपाल फाइनान्स जस्ता कम्पनीहरुमा लगानी गरेकाहरुले चाहेर पनि सेयर बेच्न पाएनन्।
स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष सन्तोष मैनाली आफ्नो स्वार्थ पूरा गर्न बजारमा हल्ला चलाएर कम्पनीको मूल्य अस्वाभाविक बढाउने प्रवृत्ति देखिएको बताउँछन्।
‘सेयर बजारको सिद्धान्त अनुसार केही कम्पनी चलेका छैनन्। समूह बनाएरै चलखेलको अवस्था आउनु सामान्य लगानीकर्ताका लागि ठिक होइन,’ उनले भने, ‘आफ्नो स्वार्थ अनुसार हल्ला चलाउनेहरुका कारण बजार स्वच्छरुपमा अघि बढ्न सक्दैन। नियामक निकायले आफ्नो भूमिका निर्वाह गर्न सकेन भने आफ्नो स्वार्थ अनुसार हल्ला चलाउनेले स्वार्थ पूरा गर्छन्। त्यसकै भरमा लगानी गर्नेहरु डुब्छन्।’
वित्तीय अवस्था विकराल देखिएपछि नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही थालेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य लगातार उकालो लागिरहेको छ। बुधबार सामान्य अंकले बढेको बजारमा विकास बैंकतर्फ नारायणीको मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशतले बढेर प्रति कित्ता ११५१ रुपैयाँ पुग्यो।
पहिलो त्रैमासको वित्तीय विवरणमा ३४.८१ प्रतिशत उल्लेख गरेको निष्कृय कर्जा ४२.५३ प्रतिशत रहेको पाएपछि राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकमाथि शीघ्र सुधारात्मक कारबाही थालेको छ।
नेपाल राष्ट्र बैंकले मंसिर ११ गते कर्णाली डेभलपमेन्ट बैंकलाई खराब कर्जा ४०.८५ प्रतिशत रहेको पाएपछि शीघ्र सुधारात्मक कारबाही गरेको थियो। तर, बैंकको सेयर मूल्यमा त्यसविपरित पोजेटिभ सर्किट लाग्यो।
आन्तरिक व्यवस्थापनबाट पार नलाग्ने देखेपछि राष्ट्र बैंकले एक महिनापछि संकटग्रस्त घोषणा गरेर कर्णालीलाई नियन्त्रणमा लियो। त्यसपछि बैंकको सेयर कारोबार रोक्का गर्दा लगानीकर्ताको २ अर्ब रुपैयाँ बन्धक भएको छ।
वित्तीय अवस्था बाहिर सामान्य देखाएर भित्रभित्रै टाट पल्टिएको कर्णाली जस्तै अन्य केही वित्तीय संस्थाको अवस्था राष्ट्र बैंकसामु पुगिसकेको छ।
नारायणी डेभलपमेन्ट बैंकका अलावा पोखरा, जानकी फाइनान्स लगायका संस्थाहरुको अवस्था संकट नजिक छ। त्यस्तै, नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, समृद्धि फाइनान्स, सिन्धु विकास र एक्सल डेभलपमेन्ट बैंकका सूचक अस्वाभाविक रुपले बिग्रिएका छन्। तैपनि बजार घट्दा समेत यी कम्पनीको सेयर मूल्य बढिरहेको छ। उनीहरुको सेयर भाउ सूचक अब्बल भएका कम्पनीभन्दा धेरै छ।
‘बजार आइसोलेसनमा चल्दैन। किनभने कम्पनीको अहिलेको वित्तीय सूचक, व्यवस्थापन र भविष्यको रणनीति के हुन्छ भन्ने सूचनाले नै मूल्य निर्धारण गर्छ,’ नबिल इन्भेष्टमेन्ट बैंकिङका सीइओ मनिष जोशीले भने, ‘तर, यही लहैलहैमा लागेर लगानी गर्दा लगानी नै जोखिममा पर्छ। ट्रेडर नभएर इन्भेष्टरको हिसाबले हेर्नुपर्छ।’
अर्थतन्त्रमा मन्दी लामो समय कायम रहँदा वाणिज्य बैंकहरुकै निष्कृय कर्जा बढिरहेको छ। वित्तीय सूचक विग्रिएका बैंक ठूला बैंकसँग मर्जरको तयारीमा रहेको हल्ला लगानीकर्ताहरुमा व्यापक छ। खराब अवस्थाका केही फाइनान्स र विकास बैंकले भने मर्जरको प्रस्तावसहित साधारण सभा राखेका छन्।
यसअघिका साधारण सभामा पनि मर्जर प्रस्ताव लगेकामा खराब अवस्थाका कारण गाभिने संस्था नपाउँदा उनीहरुले मर्जर प्रस्तावलाई निरन्तरता दिइरहेका हुन्।
‘सर्वसाधारणको निक्षेप जोगाउन समस्याग्रस्त भएका साना कम्पनीलाई राष्ट्र बैंकले मर्जरका लागि दबाब दिनु स्वाभाविक भए पनि मर्जरमा नै जान्छन् भन्ने छैन,’ जोशीले भने, ‘ठूला संस्थाले साना वित्तीय अवस्था बिग्रिएका कम्पनीलाई लिए पछि सेफल्याण्डिङ गराउन सक्छ भन्ने हिसाबले लिइन्छ।’