
काठमाडौं। नेपालमा हरेक वर्ष करोडौँ मूल्य बराबरको बेबी मिल्क आयात हुने गरेको छ। बेबी मिल्क भारत, बेलायत र अमेरिकाबाट आयात हुने गरेको हो।
चालु आर्थिक वर्षको ५ महिनामा ५३ करोड रुपैयाँको ३ लाख ९५ हजार केजी बेबी मिल्क आयात भएको छ। आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ४७ करोड रुपैयाँको ११ लाख ४९ हजार केजी बेबी मिल्क आयात भएको थियो।
नवजात शिशुलाई खुवाइने बेबी मिल्क स्वदेशमै उत्पादन गर्न सकिने भएपनि यस्ता वस्तुको आयात बढ्दो क्रममा छ। तर हालसम्म स्वदेशमा उत्पादन नभएका कारण व्यवसायीले यस्ता दूध आयात गरिरहेका छन्। हाल बजारमा नेस्ले कम्पनीको लेक्टोजिन, एसएमए, न्यूट्रिबेबी, फेरेक्स र सिमिल्याक दूध बजारमा सजिलै पाइन्छ।
गत वर्षदेखि सरकारी तथा निजी डेरीले उत्पादन गरेको बटर बिक्री नभएर स्टक बस्न थालेको छ। स्वदेशी खपत कम भएपछि कच्चा दूधको कन्भर्जन गर्न व्यवसायी डराउन थालेका छन्।
सिजनमा कच्चा दूधको उत्पादन धेरै हुने भएकोले व्यवसायीले त्यसलाई कन्भर्जन गरी धुलो पाउडर दूध र बटर बनाएर राख्ने गरेका थिए। कारण – अफसिजनमा प्रशोधित दूधको आपूर्तिको अभाव सिर्जना नहोस् भनेर।
तर गतवर्ष देखि दूध र दुग्ध जन्य पर्दाथको माग र खपतमा कमी आउन थालेपछि उक्त धुलो दूध र बटर बिक्री हुन हम्मेहम्मे पर्ने गरेको छ। यस्तो अवस्थामा स्वदेशमै बेबी मिल्क बनाउनका लागि केही समय यता प्रयास भइरहेको छ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कामु उपकार्यकारी निर्देशक बालक चौधरीले बेबी मिल्क उत्पादनबारे छलफल भइरहेको बताए। डेरी व्यवसायीले बेबी मिल्क बनाएर बिक्री गर्न सके धुलो दूध र बटरको स्टक राख्नु पर्ने समस्या नहुने उनको भनाइ छ।
‘बच्चाले खाने दूध भएकोले यसमा अझै सावधानी पूर्वक काम गर्नुपर्छ। दूधको उत्पादन पनि हालको भन्दा बढी गर्नुपर्छ। नेपालमा बेबी मिल्क उत्पादन गर्न टेक्नोलोजी राम्रो छैन, उत्पादन मिति अनुसार उत्पादनको बिक्री गर्न समस्या हुन सक्छ,’ उनले भने।
यसका लागि बजार निश्चित र प्याकिङको गुणस्तर सबैलाई ध्यानमा राख्नुपर्ने चौधरी बताउँछन्।
दुग्ध विकास संस्थानका महाप्रबन्धक सूर्य प्रसाद पौडेल भने अनि अहिलेको अवस्थामा बेबी मिल्क नेपालमा उत्पादन गरेर बजारमा प्रतिस्पर्धा गर्ने अवस्था नरहेको बताउँछन्। संस्थानसँग हाल भएको प्रविधिले बेबी मिल्क बनाउन नसकिने भन्दै उनले यसका लागि सुरक्षा उच्च हुनुपर्ने बताए।
‘स्वदेशमै बेबी मिल्क उत्पादन गरेर एकैपटक सबै मार्केट लिन सकिदैन। हाम्रो लोकल बजारमा मल्टिनेसनल ब्राण्डका बेबी मिल्क बिक्री नगर भन्न मिल्दैन। मल्टिनेसनल कम्पनी ल्याएर काम गर्नुपर्छ। स्थानीय बजारमा मात्र होइन, विदेशी बजारमा समेत यस्ता दूधको निर्यात गर्न सक्ने हुनुपर्छ,’ उनले भने।
डीडीसीको ब्राण्डलाई नेस्ले जस्तो ब्राण्डिङ गर्न नसकिने उनको मत छ। नेपालको सामान्य उत्पादनलाई अन्तर्राष्ट्रिय ब्राण्डको जस्तै बनाउन सकेमात्र स्वदेशमा उत्पादित बेबी मिल्कले बजार लिन सक्ने उनको भनाइ छ।
‘यसका लागि सरकारले एउटा नीति तयार गर्नुपर्छ। किसानको गोठदेखि ल्याएर मापदण्ड त्यही अनुसार बनाउनु पर्छ। नयाँ मेसिन चाहिन्छ भने अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने उत्पादन हुनु पर्छ,’ महाप्रबन्धक पौडेलले भने।
उनका अनुसार बेबी मिल्क उत्पादन गर्नका लागि पहिले सवा अर्ब भन्दा बढी लाग्ने अनुमान गरिएको छ।
विराटनगरमा रहेको सूर्योदय मिल्क एण्ड वेभरेज इण्डस्ट्रिजका संचालक मनोज यादव भने बेबी मिल्क बनाउन खासै ठूलो समस्या नभएको बताउँछन्। हाल भइरहेको भन्दा फरक मोडलमा काम गर्नुपर्ने भन्दै उनले नयाँ उपकरण र प्रविधि हुनुपर्ने बताए।
‘बेबी मिल्क बनाउनका लागि मुख्य उत्पादन यहीँ छ, केही वस्तुहरूको मात्र आयात गर्नुपर्छ,’ उनले भने, ‘बच्चाको उमेरअनुसार बेबी मिल्क एण्ड मिल्क बनाउनु पर्छ। ६० प्रतिशत दूधको मात्रा र ४० प्रतिशत सुगर र ग्लुकोज जस्ता अन्य पदार्थ प्रयोग हुन्छ।’
सरकारको तर्फबाट यो काम भए राम्रो हुने उनी बताउँछन्।
उनले भने, ‘सरकारले उत्पादन हेर्ने हो। व्यवसायीले फाइदा हेरेर काम गर्ने हो। स्वदेशमै उपादन भयो भने आयातित वस्तुलाई विस्थापित गर्न सकिन्छ तर निर्यात गर्न भने पुग्दैन।’
व्यवसायीले चाहे बेबी मिल्क सजिलै उत्पादन गर्न सकिने उनले दाबी गरे। उनका अनुसार बेबी मिल्क उत्पादनका लागि चाहिने इकोसिस्टम करिब ५० करोड रुपैयाँमा सबै तयार गर्न सकिन्छ।