बैंकलाई ऋण नतिरेर सताउनेमा निर्माणपछि होटल क्षेत्र, एनपीए बढ्ने निष्कर्षमा राष्ट्र बैंक

आकाश बोगटी
२०८१ पुष २९ गते १५:४७ | Jan 13, 2025
बैंकलाई ऋण नतिरेर सताउनेमा निर्माणपछि होटल क्षेत्र, एनपीए बढ्ने निष्कर्षमा राष्ट्र बैंक

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले होटल क्षेत्रमा गरेको लगानी नउठ्दा निष्कृय कर्जा (एनपीए) थप बढ्ने भएको छ।

Tata
GBIME
NLIC

पटक पटक ताकेता गर्दा पनि होटलहरुले साँवा तथा ब्याज तिरिरहेका छैनन् जसका कारण बैंकरहरु एनपीए बढ्ने निष्कर्षमा पुगेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक मसान्तसम्म होटल क्षेत्रमा २ खर्ब १ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेका छन्। यो कुल कर्जाको ३.७० प्रतिशत हो।

चालु आर्थिक वर्ष असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुको औसत एनपीए ४.४२ प्रतिशत छ। होटल क्षेत्रमा गएको कर्जा असुली प्रभावित हुँदा त्यसले बैंकहरुको कर्जा नोक्सानी बढेर नाफा घट्नुका साथै एनपीए थप बढ्नेछ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ पकेट क्षेत्रका होटलहरुको असुलीमा समस्या भइरहेको बताउँछन्।

‘पुरानो बाँकी भएर त्यसको ओभरल्यापले गर्दा उनीहरुलाई कर्जा तिर्न गाह्रो भइरहेको हो। पहिलेको जस्तो सबैमा समस्या नभइ पकेट क्षेत्रमा समस्या छ,’ खालिङले भने, ‘कोभिडको बेलामा राष्ट्र बैंकले होटल क्षेत्रलाई अति प्रभावित क्षेत्र घोषणा गरी कर्जाको साँवा ब्याज तिर्न भाका सार्न निर्देशन दियो। त्यो बेलामा बैंकहरुले कर्जाको भाका सार्ने सुविधा पनि दिए। त्यो एकुमुलेट भएर आयो। एकुमुलेट भएर आएकोलाई अहिले होटलहरुको आम्दानीले धानेन।’

कर्जाको भाका सारेर मात्र समस्याको समाधान नहुने खालिङको भनाइ छ। राष्ट्र बैंकले कोभिडकालमा होटललाई अति प्रभावित क्षेत्र घोषणा गरी कर्जा साँवा ब्याज भुक्तानीको भाका सार्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो।

त्यसबेला बैंक तथा वित्तीय संस्थाहरुलाई साँवा र ब्याज रकम भुक्तानी अवधि थप भएको समयावधिभित्र समानुपातिक रूपमा कम्तिमा क्रमशः २ किस्ता, ३ किस्ता र ४ किस्तामा असुल गर्न भनिएको थियो।

कर्जाको साँवा ब्याज तिर्ने अवधि सकिएपनि कम्पनीहरुले गरेको आम्दानीले संचालन खर्च कटाएर कर्जा चुक्ता गर्न नसक्दा बैंकहरुको एनपीए वृद्धि हुने अवस्था आएको हो।

राम्रो कारोबार गरिरहेका होटलहरुले समेत कर्जा नतिरेको पाइएको राष्ट्र बैंकको सुपरिवेक्षण विभागका अधिकारीहरुको भनाइ छ।

‘कतिपय होटलहरुले राम्रै कारोबार गरिरहेका छन्। तर उनीहरुले यसअघि भाका सारिएका कारण एकैपटक भार पर्दा अहिले सावाँ ब्याज तिर्न नसकेको देखियो। होटल क्षेत्रको ऋणका कारण पनि बैंकहरुको एनपीए बढ्ने भएको छ,’ विभागका एक अधिकृतले भने, ‘अहिले बैंक तथा वित्तीय संस्थाहरुलाई रिकोभरीमा समस्या भइरहेको क्षेत्र अहिले निर्माणपछि होटल हो।’

विभागका अधिकारीहरुको बुझाइमा कतिपय बैंकले सावाँ ब्याज तिर्ने भाका बढाउन दबाबस्वरुप नतिरेका हुन्। ‘कतिपयको इन्टेन्सन भाका बढाउन लगाउन दबाब दिने भन्ने छ। त्यही भएर उनीहरुले क्षमता भएर पनि तिरिरहेका छैनन्। त्यसको असर बैंक तथा वित्तीय संस्थाले प्रोभिजनिङ बढाउनुपर्ने भयो,’ विभागका ती अधिकृतले भने।

निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्दै कर्जा नतिर्दा बैंकहरुको एनपीए साढे १ प्रतिशतले बढ्ने आकलन गरिएकामा होटल क्षेत्रको कर्जा असुली प्रभावित हुने भएपछि ब्यालेन्स सिट थप बिग्रिने भएको हो।

नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली अर्थतन्त्रमा चाँडै सुधार हुन नसके बैंकहरुको एनपीए थप बढ्ने बताउँछन्।

‘असोजमै बैंकहरूको एनपीए करिब साढे ४ प्रतिशत पुगेको थियो। बैंकिङ क्षेत्रको कुल लगानी ५/६ प्रतिशत हिस्सा पुनर्संरचना, ५/६ प्रतिशत वाच लिस्ट कर्जा छ,’ उनले भने, ‘अर्थतन्त्र चाँडै नै सुधार भएन भने बैंकको १४/१५ प्रतिशत पोर्टफोलियो खराब हुन्छ।’

पछिल्लो ५ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले होटल क्षेत्रमा ५ अर्ब ८५ करोड ४० लाख रुपैयाँ लगानी गरेका छन्।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल कर्जा असुलीमा खासै सुधार नदेखिएकाले एनपीए बढ्ने देखिएको बताउँछन्।

‘ऋणीले कर्जा निश्चित अवधिसम्म तिर्ने गरी लिएका हुन्छन्। कुनै छोटो त कुनै लामो अवधिको हुन्छ। अहिले बैंकहरुले ताकेता गर्दा पनि कर्जा उठाउन सकिरहेका छैनन्। रिकोभरीमा समस्या देखिन्छ। यो भनेको एनपीए बढ्ने नै हो,’ उनले भने।