एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयताका लागि पायो आइएसओ मान्यता, दूरसञ्चार क्षेत्रमै पहिलो

बिजमाण्डू
२०८१ पुष २५ गते ११:४६ | Jan 9, 2025
एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयताका लागि पायो आइएसओ मान्यता, दूरसञ्चार क्षेत्रमै पहिलो

काठमाडौं। एनसेलले आइएसओ २७००१:२०२२ (आइएसएमएस) र २७७०१:२०१९ (पीआइएमएस)को मान्यता पाएको छ। यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको र ग्राहकहरूको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको भनाइ छ।

Tata
GBIME
NLIC

एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआइएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ। एनसेलको विश्वसनीयता र सूचना सुरक्षालाई अझ सुदृढ बनाउँदै कम्पनीको डेटा सेन्टर, ग्राहक सेवा र आइटी सेवाले यी मान्यता प्राप्त गरेको कम्पनीले जनाएको छ।

‘यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु हाम्रो सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासहरूको एक प्रमुख कोसेढुंगा हो। यसले एनसेल निरन्तर सुधार र उत्कृष्टता प्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको, गुणस्तर र सुरक्षाप्रति सधै समर्पित रहेको स्पष्ट पार्दछ। सीइओका रुपमा, म अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त मापदण्ड प्राप्त गर्ने परिवर्तनकारी अनुभव साझा गर्न पाएकोमा हर्षित छु। यसले टेलिकम उद्योगमा उत्कृष्टताप्रति हाम्रो प्रतिबद्धतालाई उजागर गर्छ। हाम्रो टिमको समर्पणमा म अत्यन्त गर्व गर्छु,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने।

ग्राहक र साझेदारहरुका डेटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपायहरू कार्यान्वयन गरेको आइएसओ २७००१ मान्यताले सुनिश्चित गर्ने कम्पनीले जनाएको छ। त्यसैगरी, आइएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लंघनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको छ।