बैंकको सेयर बेचेर धमाधम बाहिरिंदै संस्थापक, १०० रुपैयाँमा पनि बिक्री हुनै छोड्यो

सुनिल कुँवर
२०८१ पुष २४ गते ०९:१७ | Jan 8, 2025
बैंकको सेयर बेचेर धमाधम बाहिरिंदै संस्थापक, १०० रुपैयाँमा पनि बिक्री हुनै छोड्यो

काठमाडौं। कुनै बेला लगानीकर्ताको उच्च रोजाइमा पर्ने वाणिज्य बैंकको सेयर बिक्री गरेर संस्थापक सेयरधनी नै धमाधम बाहिरिन थालेका छन्।

Tata
GBIME
NLIC

बैंकहरुको निरन्तर घट्दो प्रतिफलका कारण वाणिज्य बैंककै संस्थापक सेयरधनी सेयर बिक्री गरेर बाहिरिने क्रम बढेको हो।

संस्थापक सेयरको सप्लाई उच्च तर माग न्यून रहेका कारण प्रति कित्ता १०० रुपैयाँ वरिपरि कारोबार हुन थालेको छ। कतिपय बैंकका संस्थापकहरुले सेयर बिक्री गर्न चाहेर पनि खरिदकर्ता पाउन सकिरहेका छैनन्। खरिदकर्ता नपाउँदा संस्थापक सेयर बिक्री गर्न नसक्ने अवस्था आएको बैंकहरु नै बताउँछन्।

सेयर बिक्री गर्नेको संख्या धेरै र खरिद गर्ने न्यून भएका कारण बैंकको संस्थापक सेयरको मूल्य निकै सस्तिएको जानकारहरु बताउँछन्।

‘सेयरको मूल्य माग र आपूर्तिमा भर पर्छ। बाहिरिने संस्थापक धेरै हँदा सप्लाई उच्च भयो। तर, त्यसअनुसार डिमाण्ड भएन,’ नबिल इन्भेष्टमेन्ट बैंकिङका सीइओ मनिष जोशीले भने।

आक्रामकरुपमा व्यवसाय विस्तार गरेर कुनैबेला लगानीकर्तालाई उच्च प्रतिफल दिएका बैंकहरुको अहिले व्यवसायसँगै प्रतिफल दर ओरालो लागेको छ।

नेपाल राष्ट्र बैंकले २०७२/७३ मा वाणिज्य बैंकलाई चुक्ता पुँजी ४ गुणा पुँजी वृद्धि गर्न लगाएपछि उनीहरुले पुँजी अनुसार व्यवसाय गर्न सकेका छैनन्।

बैंकिङ क्षेत्रका जानकारहरु पुँजी वृद्धिको तुलनामा व्यापार विस्तार गर्न नसकेपछि ओभर क्यापिटलाइज्ड भएको बताउँछन्।

कोभिडपछि बजारमा माग सुस्त हुँदा बैंकहरुले नयाँ व्यवसाय आक्रामकरुपमा वृद्धि गर्न सकेका छैनन्। अर्कातिर बैंकहरुले लगानी गरेको कर्जा समेत नउठ्दा गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ।

लगानी गरेको रकम उठ्न नसक्दा एनपीए अस्वाभाविकरुपमा बढेको छ। कतिपय बैंकको खराब ऋणले सीमा नाघेको छ।

‘प्रमोटर सेयर खरिद गरेपछि लामो समय होल्ड गर्नुपर्छ। तत्कालै बिक्री गर्न गाह्रो छ,’ जोशीले भने, ‘पछिल्लो समय इन्भेष्टरलाई फण्ड चाहेर पनि बिक्री गर्ने क्रम बढेको हो। बैंकको प्रतिफल घट्दै गएपछि त्यहाँबाट बाहिरिएर प्रतिफल धेरै आउने क्षेत्रमा लगानी गर्न चाहेको पनि देखिन्छ।’

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर मूल्य एक वर्षयता १०२ रुपैयाँभन्दा बढ्न सकेको छैन। बैंकको सेयर मूल्य प्रति कित्ता ९४.७९ रुपैयाँसम्म झरेको थियो। अहिले प्रति कित्ता १०० रुपैयाँ छ।

एक वर्षयता कुमारी बैंकको संस्थापक सेयर १०८ रुपैयाँभन्दा माथि उक्लिन सकेन। बैंकको सेयर अहिले १०० रुपैयाँ छ।अधिकांश बैंकहरुको संस्थापक सेयर मूल्यमा पछिल्लो एक वर्षयता खासै अन्तर छैन।

कुन बैंकको संस्थापक सेयर मूल्य कति ?

बैंकसंस्थापक सेयर मूल्य रुपैयाँ
नबिल३०१
नेपाल इन्भेष्टमेन्ट मेगा१६५
हिमालयन१३१
एभरेष्ट१४५
एनआईसी एसिया३३१
माछापुच्छ्रे११३
लक्ष्मी सनराइज११६.९०
कुमारी१००
सिद्धार्थ१७०
सानिमा१९०
एनएमबि१४०
प्रभु१२०
ग्लोबल आइएमई१००
सिटिजन्स१२३
प्राइम कमर्सियल१०५.२०

पछिल्लो समय बैंकको सेयर खरिदमा नै लगानीकर्ताको आकर्षण देखिंदैन। ‘ओपन मार्केटमै माग नभएर सेयर मूल्य अन्डर प्राइस भइरहेको बेला बैंकको प्रमोटर सेयरमा आकर्षण हुने कुरै भएन,’ स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष धर्मराज सापकोटाले भने, ‘रिस्क लिएर लगानी गर्ने भनेको प्रतिफलका लागि हो। प्रतिफल घट्दै गएपछि लगानीकर्ताको रोजाइमा पर्न सकेन।’

बैंकहरुको पब्लिक सेयर नै कारोबारको शीर्ष सूचीमा अटाउन छोडेको धेरै भइसकेको छ। लगानीकर्ताको रोजाइमा नपर्दा सेयर मूल्य पनि बजारमा खासै बढ्न सकेको छैन।

‘बैंकको व्यवसाय घट्दो क्रममा छ। पहिले १०० रुपैयाँमै प्रमोटर सेयर खरिद गर्दा २० प्रतिशतसम्म प्रतिफल पाइने अवस्था थियो,’ एक ब्रोकरले भने, ‘अहिले त्यो रहेन। बैंकहरुले पहिलेजस्तो लाभांश दिन सकिरहेका छैनन्। निक्कै घटेको छ। कतिपयले त लाभांश दिनै सकेका छैनन्। त्यसैले संस्थापक सेयरधनी बिक्री गरेर बाहिरिने क्रम बढेको हो।’

खरिद बिक्रीमा झन्झट भएकाले बैंकको संस्थापक सेयर लगानीकर्ताको रोजाइमा पर्न छोडेको जानकारहरु बताउँछन्। ‘प्रमोटर सेयर जथाभावी किनबेच गर्न पाइँदैन। रेस्ट्रिक्सन छ। केही कन्डिसन मिट हुनुपर्छ,’ नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले भने, ‘त्यही मूल्यमा ओपन मार्केटमा खरिद गर्न पाइने भएपछि लगानीकर्ता त्यसतिर जान खोज्छन्।’