काठमाडौं। नेपाल राष्ट्र बैंकले लघुवित्तहरुले गर्ने लगानीमा नरम नीति लिएको छ। राष्ट्र बैंकले लघुवित्तहरुले अब सेयर, डिबेञ्चर र सामूहिक लगानी कोषमा लगानी गर्न पाउने नीति लिएको हो।
राष्ट्र बैंकले मंगलबार सर्कुलर जारी गर्दै लघुवित्तहरुले सेयर, डिबेञ्चर र सामूहिक लगानी कोषमा लगानी गर्न पाउने व्यवस्था गरिएको उल्लेख गरेको छ।
तर लघुवित्तहरुले सेयर,डिबेञ्चर र सामूहिक लगानी कोषमा गरेको लगानीलाई प्राथमिक पुँजीकोषमा गणना गर्न भने पाउने छैनन्।
राष्ट्र बैंकको लगानी समेतमा स्थापित नेसनल बैंकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस लिमिटेड, कर्जा सूचना केन्द्र र नेपाल फिनसफ्ट कम्पनीमा लगानी गर्दा भने प्राथमिक पुँजीकोषमा गणना गर्न पाउनेछन्।
साथै, राष्ट्र बैंकले लघुवित्तहरुलाई नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्न निर्देशन दिएको छ।
लघुवित्तको चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनी र एकाघरका परिवारका सदस्य संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुखबाहेक पदमा नियुक्ति/पुनर्नियुक्ति हुन योग्य नहुने सर्कूलरमा उल्लेख छ।
चुक्ता पुँजीको ५ प्रतिशत वा सोभन्दा बढी हुने गरी सेयर धारण गर्ने सेयरधनी र एकाघर परिवारका सदस्यले संस्थाको कार्यकारी प्रमुखको पदमा समेत नियुक्ति/पुनर्नियुक्ति लिन पाउने छैनन्।
सर्कुलर अनुसार थोक कर्जा प्रदायक लघुवित्त र खुद्रा कारोबार गर्ने लघुवित्तबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्तले खुद्रा कारोबार गर्ने लघुवित्तको रुपमा काम गर्न पाउनेछन्।
तर, थोक कर्जा प्रदायक लघुवित्तले गाभ्ने/गाभिने तथा प्राप्तिपूर्व प्रवाह गरेको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा असुल गर्न सक्नेछन्।