बुद्ध एयरका पाइलटको त्यो मे डे कल, पर्यटनमन्त्री पनि पुगेका थिए टीआईएको आकस्मिक कक्षमा

वसन्तराज उप्रेती
२०८१ पुष २३ गते १५:४० | Jan 7, 2025
बुद्ध एयरका पाइलटको त्यो मे डे कल, पर्यटनमन्त्री पनि पुगेका थिए टीआईएको आकस्मिक कक्षमा

काठमाडौं। बुद्ध एयरको ९ एन-एजेएस कलसाइनको जहाज सोमबार बिहान १०:३८ बजे काठमाडौं-चन्द्रगढी उडानका लागि टेकअफ गर्‍यो। जहाज गन्तव्यमा नपुग्दै पाइलटले एयर ट्राफिक कन्ट्रोलसँगको सञ्चारमा ‘मे डे!’ शब्द उच्चारण गरे।

Tata
GBIME
NLIC

मे डे अर्थात आपतकालीन सहयोग माग। यस प्रकारको सहयोग जहाजमा कुनै समस्या आए अन्तिम चरणमा माग्ने गरिन्छ। 

जहाजको एउटा इन्जिनमा अकस्मात समस्या आएपछि पाइलटले मे डे भनेका थिए। संवादमा यो शब्द आएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जहाजलाई काठमाडौंमै अवतरण गर्न अनुमति दियो। यतिखेर जहाजले ४३ नटिकल माइल अर्थात करिब ८० किलोमिटर दूरी पार गरेको थियो।

जहाज लामिडाँडा र विराटनगरबीचको भागमा पुगेको थियो।

काठमाडौंमा नै आकस्मिक अवतरणका लागि अनुमति दिएपछि त्रिभुवन विमानस्थल कार्यालय सतर्क अवस्थामा बस्यो। उसले आफ्ना जनशक्ति र उपकरणलाई तयारी अवस्थामा राख्यो।

पाइलटको सूचनाका आधारमा दुर्घटना हुनसक्ने अनुमानमा क्षति न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय अभ्यास अनुसार विमानस्थल कार्यालयले आफूलाई अलर्ट अवस्थामा राखेको थियो।

पाइलटबाट एमर्जेन्सी कल आएको जानकारीपछि पर्यटनमन्त्री बद्री पाण्डे र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी पनि विमानस्थलमा रहेको रेस्क्यु कोअर्डिनेसन सेन्टर ‘आरसीसी’ पुगे।

विमानस्थल कार्यालायले जहाजको आकस्मिक अवतरणका लागि केही समयका लागि साइट क्लियरेन्स गर्‍यो। सिंगल इन्जिनको सहायताले जहाज बिहान ११:१५ बजे सफल अवतरण गराइयो।

विमानस्थलमा अरु बेला पनि जहाज आकस्मिक अवतरण गराउने गरिन्छ। तर, सोमबार बुद्ध एयरका पाइलटले भने अत्याएको क्यानका अधिकारीहरुको बुझाइ छ। उसलाई उनीहरुले पाइलट ‘अपरिपक्व’ भएको रुपमा लिएका छन्।

जहाज आइतबार जनकपुरमा नाइटस्टप गरिएको थियो। जनकपुर-काठमाडौं अवतरणपछि जहाज चन्द्रगढीतर्फ उड्यो। उडान क्रममा ओभर हिटिङ भएपछि आपतकालीन अवतरण गराइएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

‘यो नन अपरेटिङ इन्जिन कन्डिसन हो। जुन एमर्जेन्सी अन्तर्गत छ। यो अनसर्टेनिटी फेज अन्तर्गत पर्न आउँछ,’ उनले भने, ‘पाइलट आफैंले फुल एमर्जेन्सी डिक्लेयर गरेकाले हामीले विमानस्थलमा जनशक्ति र उपकरण हाइ अलर्ट अवस्थामा राखेका हौं।’  

उनका अनुसार जहाज तीन अवस्थामा आकस्मिक अवतरण गराइन्छ।

अनसर्टेनिटी फेज अन्तर्गत जहाजको पर्फर्मेन्समा असर परेपछि आधा घण्टामै अवतरण गर्नुपर्ने हुन्छ। अलर्ट फेज अन्तर्गत जहाज ५ मिनेटभित्रै अवतरण गर्नुपर्ने प्रावधान रहेको भूलले जानकारी दिए। डिसट्रेस फेजमा अन्तर्गत जहाजलाई फोर्सफुली अवतरण गराउनुपर्ने प्रावधान रहेको छ।

जहाजलाई सक्दो छिटो आकस्मिक अवतरण गराउनुपर्ने अवस्थामा पाइलटले मे डे शब्द प्रयोग गर्छन्। जहाजको अवस्था सामान्यतया बिग्रिएको अवस्थामा पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई ‘पान पान’ शब्द प्रयोग गर्ने अभ्यास छ।

पाइलटले हारगुहार गरे अनुसार बुद्धको जहाज कुन अवस्थामा पुगेको थियो भन्ने पत्ता लगाउन जाँच गर्ने काम भइरहेको छ। जहाज पूर्णरुपमा जाँच गरेपछि मात्र आकस्मिक अवतरण गराउनुपर्नाको कारण यकिन हुने भूलले बताए।

‘जहाज अहिले इन्सपेक्सनको क्रममा छ। इन्सपेक्सन सकिएपछि कारण खुल्ला। जहाज पनि त्यसपछि मात्र रिलिज हुन्छ,’ उनले भने। जहाजमा जडान गरिएको इन्जिनले हालसम्म ७,००० घण्टा मात्र उडान गरेको छ।