इलन मस्कको स्टारशिप रकेटले नासालाई अन्तरिक्ष दौडमा यसरी उछिन्दैछ

बिजमाण्डू
२०८१ पुष २२ गते १०:४९ | Jan 6, 2025
इलन मस्कको स्टारशिप रकेटले नासालाई अन्तरिक्ष दौडमा यसरी उछिन्दैछ
स्पेसएक्सको स्टारशिप अन्तरिक्ष विमान। Photo: Joe Skipper/Reuters

सन् २०२४ अक्टोबार १३ मा प्रविधिसँग सम्बन्धित सबैभन्दा रोचकमध्येको एक घटना भयो। त्यो दिन, संसारकै ठूलो र शक्तिशाली रकेट ‘स्टारशिप’ टेक्सासबाट अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरियो। यसको मुख्य बुस्टरले ६५ किलोमिटर भन्दा बढी उचाइसम्म उडान भरेर पृथ्वीमा ध्वनिभन्दा तीव्र गतिमा फर्किन सुरु गर्‍यो।

Tata
GBIME
NLIC

इलन मस्कको कम्पनी स्पेसएक्सले बनाएको उक्त रकेटले आफ्नो इञ्जिन सुरू गर्दै क्र्यास हुनबाट जोगियो। रकेट गति कम गर्दै केवल सात मिनेटमा उडेको टावरमाथि होभर हुन थाल्यो। ठूला पञ्जाजस्तै मेकानिकल हातहरूले यसलाई समातेर पुनः प्रयोगका लागि तयार पनि गर्‍यो।

‘यो इन्जिनियरिङ इतिहासका लागि एउटा ऐतिहासिक दिन हो,’ स्पेसएक्सकी इन्जिनियर केट टाइसले भनिन्।

प्रतिष्ठित अनुसन्धान जर्नल ‘साइन्स’ले पनि यो उपलब्धिलाई प्रशंसा गर्दै भनेको छ, ‘यो घटना अन्तरिक्ष विज्ञानलाई कम खर्चिलो बनाउने नयाँ युगको संकेत हो।’

स्पेसएक्सले पहिले नै पृथ्वीको परिक्रमा कक्षमा मालसामान पुर्‍याउने लागत १० गुणा कम गरिसकेको छ। स्टारशिप पूर्ण रूपमा प्रयोग गर्न मिल्ने भएपछि यो लागत झन् घट्ने अपेक्षा गरिएको छ।

Photo: Algi Febri Sugita/ZUMA Press Wire/REX/Shutterstock

धेरै अन्तरिक्ष इन्जिनियरहरूले स्टारशिपले चाँडै नै हरेक दुई वा तीन हप्तामा प्रक्षेपण गर्ने योजना लागू गर्न सक्ने विश्वास गर्छन्। स्पेसएक्सले मुख्य बुस्टर पुनः प्रयोग गर्न सफल भएको छ र यसै वर्ष माथिल्लो चरण पनि पुनः प्रयोग गर्न सक्षम हुने लक्ष्य राखेको छ।

सन् २०२५ मा २५ वटा प्रक्षेपणको योजना रहेको छ, जुन अविश्वसनीय रूपमा महत्त्वाकांक्षी कार्यक्रम हो।

‘यो तालिका असाधारण छ भन्ने बुझ्न तपाईंलाई रकेट वैज्ञानिक भइरहनुपर्दैन,’ इजरायलको इन्स्टिच्युट अफ टेकनोलोजीका प्रोफेसर एहुद बेहारले भनेका छन्।

वैज्ञानिकहरूका लागि स्टारशिपका फाइदा सरल छन्। सस्तो प्रक्षेपणले अनुसन्धानलाई सम्भव बनाउनेछ, जुन पहिले खर्चका कारण असम्भव थियो। अमेरिकी अन्तरिक्ष संस्था नासाका प्रक्षेपणहरूमा प्राविधिक त्रुटि रोक्न सामग्री बारम्बार परीक्षण गरिन्छ, जसले लागत बढाउँछ। तर स्टारशिपका नियमित उडानले सस्ता सामग्री प्रयोग गर्न र बारम्बार परीक्षणको आवश्यकता हटाउन सहयोग गर्नेछ।

स्टारशिपले मङ्गल ग्रहमा धेरै रोबोट पठाउन, ठूला दूरबीनहरू बनाउने जस्ता नयाँ सम्भावनालाई उजागर गर्नेछ।

तर, यसको सफलतासँगै केही चुनौती पनि छन्। स्टारशिपले नासाको खर्चिलो स्पेस लन्च सिस्टम (एसएलएस) लाई ‘अनावश्यक’ बनाउन सक्छ। एसएलएसको हरेक प्रक्षेपण लागत अर्बौं पर्छ, जबकि मस्कले स्टारशिपको लागत १० मिलियन डलरमा झार्ने योजना बनाएका छन्।

नासाको स्पेस लन्च सिस्टम (एसएलएस)। Photo: Jennifer Briggs/ZUMA Press Wire/REX/Shutterstock

साथै, मस्कको राजनीतिक दृष्टिकोण धेरै वैज्ञानिकलाई मन परेको छैन। उनको दक्षिणपन्थी विचार र केही विवादास्पद टिप्पणीका साथै डोनाल्ड ट्रम्पसँगको निकटताले पनि उनले आलोचना खेप्दै आएका छन्। उनी अमेरिकी आप्रवासन नीतिका एक प्रखर आलोचक हुन्। धेरैजसो डेमोक्र्याटिक राजनीतिज्ञप्रति उनले असन्तुष्टी पोख्दै आएका छन्। हालसालै उनलाई ट्रम्पद्वारा अमेरिकी संघीय बजेटबाट ५०० अर्ब डलर कटौती गर्न अनुमति दिइएको छ।

मस्कको मुख्य लक्ष्य मंगल ग्रहमा उपनिवेश स्थापना गर्नु हो। गत सेप्टेम्बरमा उनले मंगल ग्रहमा २ वर्षभित्र मानवरहित र चार वर्षभित्र मानवसहितको उडान गर्ने योजना प्रस्तुत गरेका थिए।

तर धेरै वैज्ञानिकहरूले मस्कको योजनालाई अव्यावहारिक भनेका छन्। पानीको अभाव, खतरनाक विकिरण र बाँच्नका लागि आवश्यक आधारभूत स्रोतहरू नभएको अवस्थामा मंगल ग्रह मानिस बसोबास सम्भव नभएको उनीहरूको टिप्पणी छ।

‘पृथ्वीका समस्याबाट भागेर मंगल ग्रहमा जानु भनेको फोहोर कोठाबाट विषाक्त फोहोर थुप्रोमा बसाइँ सर्नु जस्तै हो,’ ए सिटी अन मर्स पुस्तकका लेखकहरूले भनेका छन्।

खगोलविद् मार्टिन रीसले पनि मस्कको योजनाको आलोचना गर्दै भनेका छन्, ‘पृथ्वीबाट ठूलो मात्रामा मानिसहरू ओसार्ने अपेक्षा नगर्नुहोस्। अन्तरिक्षले पृथ्वीका समस्याबाट भाग्ने अवसर दिन्छ भन्ने सोच्नु खतरनाक भ्रम हो। यी समस्याहरू हामीले यहीँ समाधान गर्नुपर्छ। जलवायु परिवर्तनसँग सामना गर्नु चुनौतीपूर्ण लाग्न सक्छ, तर यो मंगल ग्रहलाई बसोबासयोग्य बनाउनुभन्दा धेरै सजिलो छ। हाम्रो सौर्यमण्डलमा अन्त कतैको वातावरण दक्षिणी ध्रुव, समुद्रको तल्लो भाग वा सगरमाथाको चुचुरो जत्तिको अनुकूल पनि छैन। सामान्य जोखिमका बीच रहेका व्यक्तिहरूका लागि कुनै ‘प्लानेट बी’ छैन।’

यो परिप्रेक्ष्यले देखाउँछ कि स्टारशिपले विज्ञानलाई टेवा दिनेछ, तर यसले मानव इतिहास परिवर्तन गर्ने सम्भावना भने कम छ।

(द गार्डियनको अनलाइन संस्करणमा प्रकाशित सामग्रीको भावानुवाद)