टिकटक प्रतिबन्ध रोक्न डोनाल्ड ट्रम्पको सर्वोच्चलाई आग्रह, राजनीतिक समाधान खोज्ने दाबी

बिजमाण्डू
२०८१ पुष १३ गते १४:५४ | Dec 28, 2024
टिकटक प्रतिबन्ध रोक्न डोनाल्ड ट्रम्पको सर्वोच्चलाई आग्रह, राजनीतिक समाधान खोज्ने दाबी


अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आगामी टिकटक प्रतिबन्धलाई रोक्न अनुरोध गर्दै अमेरिकी सर्वोच्च अदालतमा निवेदन दिएका छन्। उनले समस्याको राजनीतिक समाधान खोज्न आफूलाई समय दिन आग्रह गरेका छन्

Tata
GBIME
NLIC

उनका कानुनी प्रतिनिधिले शुक्रबार अदालतमा दर्ता गरेको निवेदनमा ट्रम्पले टिकटक प्रतिबन्धको विरोध गरेका छन् भने यस विषयलाई राजनीतिक माध्यमबाट समाधान गर्ने इच्छा व्यक्त गरेका छन्।

अमेरिकी सर्वोच्च अदालतले १० जनवरीमा यस विषयमा सुनुवाइ गर्न लागेको छ, जसमा चिनियाँ कम्पनी बाइटडान्सले टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्ने वा १९ जनवरीदेखि प्रतिबन्धको सामना गर्नुपर्नेछ। यो मिति ट्रम्पको कार्यभार सम्हाल्ने दिनभन्दा एक दिन अगाडि पर्छ।

अमेरिकी अधिकारी तथा सांसदहरूले बाइटडान्सलाई चिनियाँ सरकारसँग सम्बन्धित भएको आरोप लगाएका छन्। जुन आरोपलाई कम्पनीले अस्वीकार गरेको छ।

टिकटकका १७ करोड प्रयोगकर्ता रहेको अमेरिकामा यस विषयले ठूलो बहस सिर्जना गरेको छ। सोही अवस्थामा गत अप्रिलमा अमेरिकी संसद्‍बाट बिक्री वा प्रतिबन्धसम्बन्धी विधेयक पारित गरेको थियो, जसमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरिसकेका छन्।

टिकटक र बाइटडान्सले यो कानुनविरुद्ध अमेरिकाको अभिव्यक्ति स्वतन्त्रता संरक्षणलाई खतरा पुर्‍याएको भन्दै विभिन्न मुद्दाहरू हालेका छन्। तर उनीहरूको प्रयासले खासै सफलता पाउन सकेको छैन।

अमेरिकी सर्वोच्च अदालतले कानुनविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरे पनि टिकटक, बाइटडान्स र अमेरिकी सरकारलाई १० जनवरीमा आफ्ना पक्षको कुरा राख्न अनुमति दिएको छ।

गत हप्ता ट्रम्पले फ्लोरिडास्थित आफ्नो मार-ए-लागो निवासमा टिकटकका सीईओ शोउ जी चिउसँग भेट गरेका थिए।

शुक्रबार अदालतमा दर्ता गरेको निवेदनमा ट्रम्पले यस मामिलाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार र राष्ट्रिय सुरक्षा चासोबीचको जटिल तनावलाई निम्त्याएको बताएका छन्।

अमेरिकी न्याय विभागले टिकटकका कथित चिनियाँ सम्बन्धहरूले राष्ट्रिय सुरक्षा खतरा निम्त्याएको दाबी गर्दै आएको छ। यसैगरी, विभिन्न राज्यका सरकारहरूले पनि यस एपमाथि चिन्ता व्यक्त गरेका छन्।

दुई दर्जनभन्दा बढी राज्यका महान्यायाधिवक्ताहरूले बाइटडान्स र टिकटकलाई ब्रिक्री वा प्रतिबन्धको कानुनलाई समर्थन गर्दै सर्वोच्चसँग आग्रह गरेका छन्।

यसै महिनाको सुरुमा संघीय अपिल अदालतले यो कानुनलाई उल्ट्याउन गरिएको प्रयासलाई अस्वीकार गरेको थियो। अदालतले यो विधेयकलाई संसद् र अमेरिकी राष्ट्रपतिको व्यापक द्विपक्षीय कार्यको परिणाम भनेको थियो।

हालै एक पत्रकार सम्मेलनमा ट्रम्पले आफ्नो पहिलो कार्यकालमा टिकटक प्रतिबन्धको समर्थन गरे पनि हाल आफू प्रतिबन्धको विपक्षमा रहेको बताएका थिए। उनले युवाको समर्थन पाउनेमा टिकटकको भूमिका रहेको दाबी गरेका थिए।

‘टिकटकप्रति म सकारात्मक छु, किनकि मैले युवाको मतमा ३४ अंकले जितेको थिएँ,’ उनले भने।

तर अधिकांश युवा मतदाताहरूले उनका प्रतिस्पर्धी कमला ह्यारिसलाई समर्थन गरेको तथ्यले भने उनको दाबीलाई चुनौती दिएको छ।