सूर्यदर्शन सहकारी प्रकरणमा आज एउटा थप दाबीको अभियोगपत्र मात्र अदालत लगिँदै

बिजमाण्डू
२०८१ पुष ५ गते १२:३३ | Dec 20, 2024
सूर्यदर्शन सहकारी प्रकरणमा आज एउटा थप दाबीको अभियोगपत्र मात्र अदालत लगिँदै


काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी प्रकरणमा आज सरकारी वकिल कार्यालयले एउटा अभियोगपत्र दायर गर्ने भएको छ।

Tata
GBIME
NLIC

कास्की प्रहरीले बुझाएकोमध्ये सूर्यदर्शन सहकारीमा थप एक अभियोगपत्र दायर हुन लागेको हो। जसमा १९ जनालाई प्रतिवादी बनाइएको छ। बाँकी मुद्दामा भने म्याद भित्रको अन्तिम समयमा बुझाउने तयारी गरिएको छ।

यसअघि पनि सूर्यदर्शन सहकारीबारे २०८० असोजमा अदालतमा मुद्दा दायर भएको थियो। जसमा १९ जनालाई प्रतिवादी बनाउँदा १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो। अनुसन्धानमा थप प्रमाण खुलेपछि अनुसन्धानबाट पुरक अभियोगपत्र दायर गर्न लागिएको हो।

‘आज थप दाबीमा एउटा मात्र अभियोगपत्र दायर हुन्छ। बाँकी खण्डमा भने म्यादभित्र गर्ने तयारी भइरहेको छ,’ जिल्ला सरकारी वकिल कार्यालय कास्कीका एक कर्मचारीले भने।

जिल्ला प्रहरी कार्यालय कास्कीले यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीक सभापति रवि लामिछाने पक्राउ परेको ६० औं दिनमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। प्रतिवेदनमा रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन सिफारिस गरिएको छ।

यस्तै, रविसँगै नाम ठेगाना नखुलेका १४ जना र बाँकी ५१ जना गरेर ६५ जना कसुरदार बनाइको छ। यसमा ५१ जनालाई प्रतिवादी बनाइएको हो। जसमा ३७ जना फरार रहेका छन्। सहकारी ठगीमा कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ रहेको छ।

सम्पति शुद्धीकरण मुद्दा भने ९० दिनमा लैजाने तयारी गरिएको छ।