
काठमाडौं। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसीटी अवार्डको ग्राण्ड फिनाले शुक्रबार हुने भएको छ।
काठमाडौंको बौद्धमा रहेको ह्यात रिजेन्सी होटलमा ‘इन्ड्राइभ आइसीटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एसोसिएसन विथ नेपालपे क्यूआर, जेनस एण्ड जुम’मा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिने छ।
सन् २०१६ देखि लिभिङ विथ आइसीटीले आयोजना गर्दै आइरहेको आइसीटी अवार्ड कार्यक्रम विगत ६ महिनादेखि छनौट प्रक्रिया र प्रि-इभेन्टहरू गर्दै ग्राण्ड फिनालेसम्म आइपुगेको हो। फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित स्टार्टअप, प्रडक्ट, इनोभेसन, उद्यमी, प्रोफेसनल, संघ संस्था गरी विभिन्न १५ विधाहरूमा विजेताको घोषणासँगै अवार्ड वितरण हुनेछ।
यसैगरी, सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरूलाई प्रोभिन्सियल स्टार्टअप आइसीटी रिकग्निसन २०२४ बाट समेत सम्मान गरिनेछ। अवार्डमा दक्षिण एसियाली देशहरूलाई लक्षित गरिएको साउथ एसिया स्टार्टअप आइसीटी अवार्ड सार्क राष्ट्रको सर्वोत्कृष्ट स्टार्टअपलाई प्रदान गरिने छ।
प्रविधि क्षेत्रको विशेष उत्सवको रूपमा आयोजना हुने आइसीटी अवार्डको ग्राण्ड फिनालेमा मन्त्री, सांसद, उद्यमी, प्रोफेसनल लगायत स्वदेश तथा विदेशबाट करिब १ हजार विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ। नवौं संस्करणको आइसीटी अवार्डको छनौटका लागि १४ जना स्वदेशी र ३ जना विदेशी विज्ञ जुरी समिति र १२ जनाको सल्लाहकार समिति गठन गरिएको छ।
यस वर्ष विभिन्न १४ विधा र रिकग्निसनमा खुल्ला गरिएको अनलाइन नोमिनेसनमा ८०० बढीको आवेदन प्राप्त भएको आयोजक समितिले जानकारी दिएको छ। अवार्ड वितरण हुने विधाहरूमा क्याटोगोरी ए अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन छन्।
व्यक्तिगत अवार्ड विधाहरूमा प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, पायोनियर र एनसेल वुमन आइकन आइसीटी अवार्ड रहेका छन्।
संस्थागत र कर्पोरेट अवार्ड विधाहरूमा डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस आइसीटी अवार्ड रहेका छन्। क्याटोगोरी ‘डी’अन्तर्गत साउथ एशिया स्टार्टअप आइसीटी अवार्ड रहेको छ।
यस बाहेक क्याटोगोरी ‘ए’अन्तर्गत विधाका सेमिफाइनलिष्टहरूमध्येबाट सबैभन्दा बढी पब्लिक भोट ल्याउने स्टार्टअप, इनोभेसन वा प्रडक्टलाई पब्लिक च्वाइस आइसीटी अवार्ड प्रदान गरिने छ। सातै प्रदेशमा स्टार्टअप मिटअप, बुटक्याम्प, मेन्टरिङ सेसन, काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट, ग्राण्ड जुरी सेसन, स्पिड डेटिङ, टेलिभिजन कार्यक्रम, पब्लिक भोटिङ र फिल्ड भिजिटजस्ता प्रक्रियाहरू संचालन गरिएको थियो।
अवार्ड छनौट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र सर्वोत्कृष्ट बनाउन सम्पूर्ण तवरबाट प्रयास गरिएको अवार्डका संयोजक राजन लम्सालले बताए। आइसीटी अवार्ड केवल एक अवार्ड कार्यक्रममात्र नभएर डिजिटल रुपान्तरण र इकोसिस्टमको सारथी भएको उनको भनाइ छ।
हरेक वर्ष आयोजना हुने अवार्ड कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा काम गर्न चाहने र गरिरहेकाहरूलाई प्रोत्साहन तथा प्रवर्धन गर्दै आएको छ। साथै अवार्डमा प्रतिस्पर्धामा आएका स्टार्टअप, प्रडक्ट र इनोभेसनहरूले थप लगानी र बजार विस्तारका लागि अवसर समेत प्रदान गरिरहेका छन्।
अवार्ड विजेताले विभिन्न कम्पनीका अफरहरूसँगै ट्रफी र सम्मान प्राप्त गर्नेछन्। एनसेल वुमन आइकन विजेतालाई ३ लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिने छ।